भेरीको पानी लिफ्ट गरी कुदुमा सिँचाइ

जाजरकोट ः पटक पटक चुनावी नारा बन्दै आएको जाजरकोट भेरी नगरपालिका १३ कुदुमा लिफ्टमार्फत सिँचाइ सुविधा पुगेपछि स्थानीयबासी खुशी भएका छन्।
२ करोड ८० लाख रुपैयाँको लागतमा तीन ठाउँबाट भेरी नदीको पानी तानेर कुदुमा सिँचाइ सुविधा पुर्याएको हो। भारी मात्रामा खेतीयोग्य जमिन भएपनि सिँचाइको अभावमा वर्षाको याममा मात्र खेती गरिँदै आएको कुदुमा अब १२ महिना सिँचाइ सुविधा पुग्ने भएपछि कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि हुने अपेक्षा लिइएको छ।
खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयको आर्थिक सहयोगमा भेरी नदीको पानीलाई लिफ्टमार्फत तानेर गाउँमा पानी पुर्याएपछि कुदुमा सिँचाइ सुविधा पुगेको कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताए।
२०७४ सालदेखि सुरु भएको उक्त योजना २०७९ मा आएर सफल भएको छ। ११० हेक्टर भन्दा बढी जमिनलाई सिँचाई पुग्ने लक्ष्य राखिएको कार्यालय प्रमुख शाहीको बताए।
९० लाखको पहिलो, १ करोडको दोस्रो र ९० लाखको तेस्रो ठाउँबाट लिफ्ट गरी पानी कुदुमा ल्याइएको छ।
वर्षायाममा आकाशे पानीको भरमा मकै लगाउँदै आएका कुदुवासी अब हिउँदे सिजनमा समेत खेतिपाती गर्न पाउने भएपछि खुशी भएको स्थानीयवासी जगत बस्नेतले बताए। ११० हेक्टर जमिनमा भेरीको पानीबाट पर्याप्त सिँचाई पुर्याउन सकिएमा कुदुवासीलाई मात्र नभएर जाजरकोटवासीलाई समेत खाद्यान्न उत्पादन गर्न सकिने विश्वास लिइएको छ।
यहाँ सिँचाइ सुविधा नहुँदा दैनिक जनप्रतिनिधिहरुको आलोचना भइरहेको थियो। खानेपानीका लागि समेत कुदुमा काम जारी रहेको छ। जिल्लाको सबैभन्दा ठूलो फाँटको रुपमा कुदुलाई लिइन्छ। छिन्चु जाजरकोट डोल्पा र मध्यपहाडी लोकमार्गको बीचमा रहेको यहाँ मानवीय क्रियाकलाप समेत बढ्न थालेका छन्।
शहरीकरणको अभ्यास तीव्र रुपमा विकास हुन थालेको छ। छिमेकी रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नयाँ सहर निर्माण कार्य जारी रहँदा भेरी नदीको अर्को किनारमा रहेको कुदुमा समेत त्यसको प्रभाव परेको छ।
जाजरकोट सदरमुकामबाट १२ किलोमिटर पर्ने कुदु राष्ट्रिय दुइवटा सडकसँग जोडिएको छ। पानीको दुख हुन्छ भन्दै छोरी र बुहारीसमेत लैजान र ल्याउन समेत धौ धौ पर्ने यहाँका स्थानीयवासीलाई अब पानी पाइने ठाउँको परिचय बनाउन सफल भएकोमा खुशी लागेको कुदुका प्रवीण बटालाले बताए।
आफ्नै विगाह जमिन भएपनि खाद्यान्न बाहिरबाट खरिद गरी ल्याएर खानुपर्दा आफूहरुको चित दुख्ने गरेको बताउँदै बटालाले अब आफूले उत्पादन गरेको अन्न बाहिर निर्यात गर्ने सोचमा रहेको बताए। कुदुमा पिउने पानीको लागि करोडौँको लागतमा नयाँ योजना निर्माण कार्य जारी रहेको छ।
सिँचाइ योजना निर्माण कार्य पुरा हुनै लाग्दा यहाँका स्थानीयवासीले पूर्वमन्त्री शक्तिबहादुर वस्नेत र गणेशप्रसाद सिंहलाई धन्यवाद दिएका छन् । उहाँको अर्थक प्रयासपछि कुदुमा खानेपानी सिँचाइ पुगेको भन्दै खुसीका साथ धन्यवाद दिएका हुन् ।










