हप्तामा एक दिन मात्र चामल वितरण

सुर्खेत ः हिमाली जिल्ला मुगुमा हप्तामा एक दिन मात्र खाद्यान्न वितरण सुरु भएको छ । आवश्यक मात्रामा चामल नहुँदा हप्तामा एक दिन मात्र चामल वितरण गर्न लागिएको हो ।
हप्तामा एक दिन मात्र खाद्यान्न वितरण गर्ने नीति अनुसार आइतबार १२० क्वीन्टल चामल वितरण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुले जानकारी दिएको छ । विपद्, आगलागी जस्ता घटनाहरु घटेमा आपतकालीन र तत्काल राहत उपलब्ध गराउनु पर्ने नीति अनुसार राखिएको ८ सय ५० क्विन्टल चामल अहिले वितरण गर्न लागिएको हो । गरिब, विपन्नहरको समस्यालाई मध्येनजर गर्दे खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले उक्त चामल वितरणको व्यवस्था मिलाएको हो ।

३० केजीको चामललाइ बजारमा खरिद गर्दा १ हजार ५०० देखि २ हजार सम्मा पर्ने गर्दछ । कम्पनीको चामल भन्दा बजारको चामलको मुल्य २५० देखि ३०० सय सम्मा मात्र रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुका प्रमुख पुस्कर भामले जानकारी दिए । उनका अनुसार तोकिएको कोटा अनुसारको खाद्यान्न ढुवानी नहुँदा चामल अभाव भएको हो ।
११ हजार क्वीन्टल चामल मध्य ८ हजार १०० मात्र जिल्लामा चामल ढुवानी भएको उनको भनाइ छ । सोरु डिपोमा २ हजार५ सय कोटामा १हजार ९०० मात्र , श्रीकोट डिपोमा १ हजार कोटामा ९ सय मात्र ढुवानी भएको थियो ।
त्यस्तै पुलु डिपोमा १हजार ७०० मा १हजार १०० मात्र , सातापानीमा ८०० कोटामा १७० क्वीन्टल मात्र ढुवानी भएको थियो । त्यसैगरी कालैया डिपोमा ३ हजार कोटामा एक गेडा चामल नआएको प्रमुख भामले बताए । बिक्री केन्द्रमा कर्मचारी समेत नहुँदा वितरणमा समेत समस्य देखिएको उनको भनाइ छ ।
मुगुमा पाँचवटा खाद्य डिपोहरु रहेका छन् । चामल वितरणका लागि मुगुमा पुलु डिपो केन्द्र, सोरुकोट डिपो केन्द्र, श्रीकोट डिपो केन्द्र, रातापानी बिक्री केन्द्र र कालै बिक्री केन्द्र रहेका छन् । गाउँ देखि सदरमुकाम सम्माका खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोहरु रित्तो रहेका छन् ।
नयाँ ठेक्का नहुँनु र पुरानो चामल सकिएकाले खाद्यान्न अभाव भएको हो । अब नयाँ ठेक्का सदर भएमा मात्र मुगुमा चामल ढुवानी कार्य सुरु हुने छ । सडक समेत ठाउँ , ठाउँमा अवरुद्ध भएपछि तत्काल खाद्यान्न ढुवानी हुने अवस्थ समेत नरहेको अवस्थ छ ।










