विद्युतको पहुँचमा नभएका ८५० धरधुरीलाइ सौर्य उर्जा

सुर्खेत ः केन्द्रीय विद्युत लाइनको पहँुचमा नरहेको डोल्पा मुड्केचुला गाउँपालिकाका ८५० घरधुरीलाइ सौर्य उर्जा वितरण गरिएको छ ।
पालिकाको वडा नम्वर १,२,३,७,८ र ९ का ८५० घरधुरी प्रति परिवारलाइ १०० वाटको सोलार ( सौर्य उर्जा) वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।

स्थानीय रुपमा उत्पादन गरिएका साना लद्युजलविद्युत आयोजनाबाट छुटेका र केन्द्रीय विद्युत प्रशारण लाइन पुगिनसकेको कारण सौर्य उर्जाबाट भएपनि घरघरमा विद्युत पुर्याउने उदेश्यका साथ यो काम गरिएको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।
आफ्नो आर्थिक अवस्था कम्जोर हुदा सोलार खरिद गरेर उज्यालो गर्न नसकेका मुड्केचुला गाउँपालिका –१ का नवरोज बोहरा यतिबेला निकै खुसी भएका छन् । १०० वाटको सोलार गाउँपालिकाले उपलब्ध गराएपछि घरमा रात पनि दिन जस्ती भएको भन्दै उहाँ खुसी हुनुभएको हो । मोवाइल चार्ज गर्न बजारमा गएर २० रुपैयाँ तिरेर मात्र एक पटक चार्ज गरिरहेका बोहरा अहिले घरमै चार्ज र उज्यालो बत्ती पाएपछि भारी खुसी भएको बताएका छन् ।
आफू जस्तै अन्य बिपन्न घरलाई सोलार दिएर घरभरी उज्यालो बनाएकोमा खुसी भएको उहाँ बताउँनुहुन्छ । उत्ता नेपाल विद्युत प्राधिकरण र जलस्रोत तथा उर्जा विकास मन्त्रालय कर्णालीले डोल्पालाई तत्काल विद्युतीकरण गर्नका लागि पालिका स्तरमै बोलपत्र आह्वान गरेर काम सुरु गरेका छन् । मुड्केचुला तल्लो डोल्पामा पर्दछ । हिमाली जिल्लामा केन्द्रीय लाइन विस्तार हुन नसकेका ठाउँमा सोलार प्राविधिबाट विद्युत लिने प्रदेश सरकारको लक्ष्य लिएको छ ।










