पदाधिकारीसहित सबै कमिटी टुंगो लगाएर केन्द्रीय समितिमा पेश गर्ने प्रचण्डको तयारी

काठमाडौँ ः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टी पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो समेत टुंगो लगाएर केन्द्रीय समिति बैठकमा पेश गर्ने तयारी गरेका छन् । बुधबार बस्ने पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरोमा बस्ने सबै नेताहरुको नाम प्रस्ताव गर्ने नेता गिरिराजमणि पोखरेलले बताए ।

‘हामी बिहान नेताहरु बसेका थियौँ । बैठकबाट पदाधिकारीसहित पार्टीको स्थायी र पोलिटब्युरो सबै टुंगो लगाउन अध्यक्षलाई अख्तियारी दिएका छौ’ नेपालपोष्टसँग कुरा गर्दै पोखरेलले भने, ‘भोलि बस्ने केन्द्रीय समितिमा अध्यक्ष कमरेडले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरोमा बस्ने नेताहरुको नाम प्रस्ताव गर्नुहुन्छ । त्यही हलबाट नाम अनुमोदन हुनेछ ।’ पार्टी पदाधिकारी बनाउने भएपछि महासचिव सहित अन्य पदमा पनि जटिलता थपिएको छ ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठलाई प्रस्ताव गर्ने तयारी गरिएको थियो । सोही पदमा कृष्णबहादुर महरा र मातृका यादवले इच्छा देखाएपछि थप समस्या पैदा भएको छ । चुनाव गरेपनि आफू वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्न तयार रहेको यादवले बैठकमै राखेका छन् । यस्तै महराले आफू महासचिव नहुने हो भने वरिष्ठ उपाध्यक्ष हुनुपर्ने बताएका छन् ।

यस्तै महासचिवमा शक्ति बस्नेत ,वर्षमान पुन र जनार्दन शर्मा प्रमुख दावेदार रहेका छन् भने पम्फा भुसाल र देव गुरुङ समेत आकांक्षी छन् ।

यसैगरी कोषाध्यक्ष र उपमहासचिवमा को–को बस्ने भन्नेमा पनि अन्योलता भएको एक नेताले बताए । सबै पदाधिकारीका इच्छुक नेताहरुसँग प्रचण्डले मंगलबार बेलुकासम्म परामर्श गरेर बुधबार बैठकमा प्रस्ताव गर्ने बताइएको छ ।

केन्द्रीय समितिबाट सर्वसम्मत रुपमा पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो टुंगो लागेमा केन्द्रीय सदस्यको जवाफ दिएर प्रचण्डले बुधबार बैठक समापन गर्ने भएका छन् । यदि पदाधिकारी सहमति नभएमा चुनाव गर्नेसम्मको मनस्थितिमा प्रचण्ड पुगेको बताइएको छ ।





error: Content is protected !!