सडकबाट खसेको ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु

रोल्पा / निर्माण गरिरहेको सडकबाट ढिस्को खस्दा रोल्पाको दाउन्नेभीरमा पुरिएर दुई बालकको मृत्यु भएको छ । आइतबार बिहान भएको उक्त घटनामा एकै परिवारका दाजुभाइको मृत्यु भएको हो ।

प्रहरीका अनुसार परिवर्तन गाउँपालिका–५ दाउन्नेभीरमा नयाँ सडक खन्न स्काभेटर मेसिन प्रयोग गरिएकोमा ढिस्को खस्दा खेलिरहेका दाजुभाइ च्यापिएका थिए ।

स्काभेटरले थर्काएको जनिमबाट खसेको ढिस्कोले दुवैलाई पुरेको थियो । घटनामा उक्त गाउँ निवासी प्रकाश खड्काका दुई छोराहरु ७ वर्षका डेबिड खड्का र २ वर्षीय इशान खड्काको मृत्यु भएको हो ।

मुख्य सडकबाट भित्री गाउँ लैजाने सडक खन्दा ढिस्कोले बालकलाई पुरेपछि स्थानीयले प्रहरीसँग सहयोग मागेका थिए । घटना हुँदा आमा घरमै थिइन् । बालकका बुबा प्रकाश भने वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् ।

ढिस्को खस्दा स्काभेटर रोकेर चालक खाना खान पुगेका थिए । घटनापछि प्रहरीलाई उद्धारमा खटाइएको र ढिस्को खनेर बालकको शव निकालिएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए ।

बिहान ९ बजे भएको घटनामा उद्धारका लागि प्रहरी पौने ११ बजे पुगेको थियो । उद्धारका लागि बागमारा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर थारु र घर्तीगाउँस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक देवराज भट्टराईको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । प्रहरीको सहयोगमा मृतक दुवै बालकको शव पोष्टमार्टमका लागि रोल्पा अस्पतालमा ल्याइएको छ ।





error: Content is protected !!