एप्रोन लगाएर कर्णालीमा समाजसेवा- उनी उपचारमात्र गर्दैनन्, घर फर्कने खर्च भए–नभएको सोधखोज पनि गर्छन्

सुर्खेत ः नवराज केसी पेसाले मेडिकल डाक्टर हुन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा बाल रोग विशेषज्ञका रुपमा काम गरिसकेका उनी चिकित्सकका रुपमा मात्र होइन, समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । उनले आफ्नो धनबाट किसानको ऋण तिरिदिएका थिए ।

शंखधर साख्वाले आफ्नो धनबाट जनताको ऋण तिरेर जनतालाई ऋणमुक्त गरिदिएजस्तै डा।केसीले पनि एकजना किसानको ऋण तिरिदिएका हुन् । उनले आफ्नो ‘दुर्गम विशेष भत्ता’ले वीरेन्द्रनगर नगरपालिका–३, हिलेखालीका स्थानीय कृष्णबहादुर खत्रीको ऋण तिरिदिएका थिए ।

भैंसी पालक किसान खत्री डा।केसीका छिमेकी हुन् । खत्रीले भैंसी पाल्थे, दुःध बेच्थे । तर वर्षको अन्तिम समयमा आएर हिसाब गर्दा दुई लाखको ऋण लागेछ । तीन वटा भैंसी पालेका उनले एउटा भैंसी बेचेर केही ऋण तिरे पनि केही बाँकी नै रह्यो । डा। केसीले उनको दुई लाख ऋण तिरिदिए, जसले उनको सर्वत्र चर्चा भएको थियो ।

केसी यस्ता डाक्टर हुन् जसले कर्णालीका दुर्गम गाउँबस्तीमा पुगेर ६० वटाभन्दा बढी निःशुल्क स्वास्थ्य क्याम्प सञ्चालन गरी गरिब, दुःखी र आर्थिक अवस्था कमजोर भएका नागरिकको सेवा गरिरहेका छन् ।
२०३९ सालमा सुर्खेतमै जन्मिएका केसी एउटा अन्तर्राष्ट्रियस्तरको ‘ग्रीन पार्क’ स्थापना गर्नतर्फ अग्रसर छन् । उनका अनुसार त्यसमा रारा ताल, पचाल झरना र पुराना दरबारहरुलाई समेटिएको छ, जुन निर्माणाधीन छ । ‘जीवनको कुनै उद्देश्य हुँदैन’, उनी भन्छन्, ‘आउने पुस्ताले बढी सहयोगी, हरियाली समाज पाउन् भन्ने हो । म एउटा पुस्तक पनि लेख्दैछु, जसमा कर्णालीका आमाहरुका कथा, व्यथाहरु समेटिएका छन् । कर्णालीका आमाहरुले कस्तो खालको दुःख, पीडा भोगिरहेका छन्, र आमाहरुले कस्तो अर्थव्यवस्था धानिरहेका छन् भन्ने कुराको चित्रण गरिएको छ ।’

कक्षा १० पास भइसकेपछि काठमाडौं गएका केसीले केही समय त्यहाँ अध्ययन गरेपछि नेपालगन्ज मेडिकल कलेजबाट एमबीबीएस गरेका थिए । उनले फिलिपिन्सबाट एमडी गरेका हुन् । उनी विगत सम्झिन्छन्, ‘नेपालगन्ज, काठमाडौं, पाल्पाका विभिन्न मेडिकल कलेजमा छोटोछोटो अवधि काम गरेँ । त्यसपछि विगत आठ वर्ष अघिदेखि कर्णालीमा आएर मैले बाल रोग विभाग हेरेँ । त्यो बेला आइसीयु थिएन । म आएर स्थापना गरेको थिएँ । त्यही नै सबैभन्दा महत्वपूर्ण कुरा हो जस्तो लाग्छ ।’

केसीकै अगुवाईमा कर्णालीमा टेलिमेडिसिन सेवा पनि सुरु भएको छ । केही समय अघि दैलेखको महावुमा पनि डा। केसीकै अगुवाईमा यो सेवा सुरु गरिएको थियो । कोरोनाको समयमा पनि केसीको भूमिका महत्वपूर्ण रह्यो ।

कोरोना लागेर उपचार गरिसकेपछि न्युन आय भएकाहरुसँग घर फर्कने बेला भाडा हुन्थेन । डा। केसीले आफ्नो दुई महिनाको पारिश्रमिक भाडा खर्च नभएका नागरिकका लागि खर्च गरेर उद्धार गरेका थिए ।

केसीले दैलेखको तल्लो डुङ्गेश्वरका वादी समुदायका बालबालिकाका लागि होस्टेल खोल्ने योजनालाई पनि अघि बढाइरहेका छन् भने अपाङ्गता भएका बालबालिकालाई निःशुल्क सेवा दिन एउटा संस्था खोलेर सामाजिक क्षेत्रमा योगदान पु¥याएका छन् । जहाँ समस्या हुन्छ, केसी त्यहीँ पुग्न पछि पर्दैनन् । त्यसैले पनि उनलाई दीनदुःखीका डाक्टर भनेर पनि चिनिन्छ ।

२०६० सालमा तत्कालीन विद्रोही पक्ष माओवादीले सुर्खेतको बराहताल गाउँपालिका–१, इखेनीमा बस्ती बसाएको थियो । द्वन्द्वका क्रममा पीडित र अति विपन्न परिवारहरुलाई छनोट गरेर त्यहाँ राखिएको थियो । सो बस्तीका लागि डाक्टर केसी अभिभावक मात्र बनिरहेका छैनन्, नमुना बस्ती बनाउने जिम्मा पनि लिएका छन् । त्यो बस्तीमा अहिले स्वास्थ्य, शिक्षा र रोजगारीको अवस्था सुदृढ भएको छ ।

केसी शनिबारको दिन त्यो बस्तीमा पुग्ने गर्दछन् । स्वास्थ्य शिविर चलाउँछन् । त्यहाँका बालबालिकाको शैक्षिक अवस्थाबारे शिक्षक–विद्यार्थीसँग छलफल गर्नेदेखि आर्थिक उपार्जन, शिक्षा, स्वास्थ्यसँगै अन्य सामाजिक विभेदबारे छलफल गर्छन् । यो बस्तीमा एक सय पाँच घरधुरी छ ।

बस्तीको विकास र परिवर्तनका लागि केसीले दीर्घकालीन योजना बनाएर आयआर्जनका लागि महिलालाई कुखुरा पालन व्यवसायमा अग्रसर गराए । उनले कोरोनाको समयमा फ्रन्टलाइनमा खटिए बापत सरकारले दिएको भत्ताबाट घरघरमा खोर निर्माण गरिदिए । निःशुल्क कुखुराका चल्ला वितरण गरिदिए । केही समय अघिसम्म त्यो बस्तीका अधिकांश पुरुष रोजगारीका लागि कालापहाड जाने गर्दथे । अहिले प्रत्येक घरका मान्छे स्वरोजगार बनेका छन् । त्यो बस्तीका जति पनि बिरामी हुन्छन्, केसीले उनीहरुको निःशुल्क उपचार गरिदिन्छन् ।

केसी पहिलो पटक त्यो बस्तीमा पुग्दा त्यहाँको नागरिकको संघर्षपूर्ण दैनिकी देखेर गाउँनै जिम्मा लिएका थिए । उनले मजदुरीका लागि कालापहाड जानुपर्ने अवस्था अन्त्य गर्ने र अभिभावहरुले आफ्ना छोराछोरीलाई गाउँमै शिक्षादीक्षा दिउन् भन्ने उद्देश्य सहित आफू लागेको बताए । उनको योगदानको उच्च कदर गर्दै नेपाल सरकारले उनलाई विभूषण प्रदान गरेको छ ।

समाज अनुसारको स्वास्थ्यको सिस्टम अझै बन्न सकेन

डा केसी समाज र स्वास्थ्य क्षेत्रबीच केही ‘ल्याकिङ’ रहेको टिप्पणी गर्छन् । ‘अझ कर्णालीजस्तो ठाउँमा यहाँको समाज अनुसारको स्वास्थ्य सिस्टम अझै बन्न सकेन,’ उनी थप्छन्, ‘समाज छरिएर बसेको छ । त्यो सोसाइटीलाई मध्यनजर गरेर हामीले स्वास्थ्य सेवाको प्रवाह अझै प्रभावकारी बनाउन सकेका छैनौं ।’

कर्णालीका ती दुर्गम गाउँमा मान्छेलाई सहर आएर उपचार गराउन गाह्रो छ । ‘यहाँ यस्तो अवस्था भयो कि उपचार गर्न लाग्ने खर्चभन्दा बढी अस्पताल पुग्नका लागि खर्च हुन्छ,’ एउटा स्मृति सुनाउँदै केसी भन्छन्, ‘हुम्लाबाट एक जना बुबाआमा सानो बच्चालाई लिएर प्रदेश अस्पताल आउनुभएको थियो । उहाँ घरको भेडाबाख्रा बेचेर प्लेन चढेर आउनुभएको रहेछ । बच्चा निकै सिरियस थियो । हामीले उपचार ग¥यौं । जानुभन्दा पहिले आमा म काम गरिरहेको कोठामा आउने–जाने गर्नुभयो तर केही बोल्नुहुन्थेन । पछि बुबा आउनुभयो । उहाँ अलि बोल्नुहुन्थ्यो । मैले किन आमाले आउनेजाने गरिरहेको भनेर सोध्दा उहाँले बिहानैबाट तपाईलाई धन्यवाद भन्न खोजिरहेकी छन् भन्नुभयो ।’

उनले अगाडि भने, ‘अनि मलाई निकै माया लाग्यो । कहिले फर्किने भनेर मैले सोध्दा उहाँहरुले जाने पैसा छैन, एक महिना यहीँ केही मजदुरी गर्छु, त्यसपछि केही पैसा भयो भने जानुपर्ला भनेर सहज तरिकाले भन्नुभयो । अनि मलाई त्यसले निकै छोयो । हेर्नुस् अब, हाम्रो स्वास्थ्य क्षेत्र र त्यो समाजबीच कस्तो भिन्नता रहेछ

सोही घटनाले नै उपचार गर्न आएका मान्छेको ठेगाना, आयस्रोतको अवस्था र उनीहरुको समस्याबारे जानकारी राख्ने गरेको उनले बताए । ‘हो, यस्तै समस्या नहोस् भन्ने उद्देश्यले साना हेल्थ पोष्ट स्थापना गर्नुपर्छ र त्यसलाई प्रभावकारी बनाउनुपर्छ,’ उनले भने, ‘त्यो हेल्थ पोष्टमा चिकित्सक पठाउने, त्यहीँ धेरै सेवा दिनसक्ने कसरी बनाउने त भन्नेतर्फ राज्यले ध्यान दिनुपर्छ ।’

राज्यले धेरै ठुलो अस्पताल बनाउनेतर्फ जोड दिने गरेको उल्लेख गर्दै उनले अस्पताल बनाएरमात्र नहुने प्रस्ट पारे । ‘कर्णालीको डोल्पाको कुनै दुर्गम गाउँको न्युन आयस्रोत भएको व्यक्तिले सुर्खेत आएर उपचार गराउन सक्दैन भने त्यो अस्पताल भएरमात्र भएन नि १’ उनले भने, ‘साना हेल्थ पोष्ट भए पनि त्यसले कर्णालीका जनतालाई ठुलो राहत दिन सक्छ । यहाँको भौगोलिक अवस्थाले मागेको पनि यही कुरा हो । मैले सुरुदेखि नै यही कुरा उठाइरहेको छु ।’

‘क्लिन एण्ड ग्रीन’ अभियान

डा केसीका अनुसार अहिले जति पनि रोग लाग्ने गर्छन्, अधिकांश प्रदुषित वातावरणका कारण लाग्ने गर्दछन् । जबसम्म सफा वातावरण हुँदैन, दिन प्रतिदिन नयाँ खालका रोग फैलिँदै जाने उनको भनाइ छ । यही कुरालाई मध्यनजर गर्दै उनले सफा, स्वच्छ र हरियाली समाज निर्माण गर्नुपर्छ भनेर ‘क्लिन एण्ड ग्रीन सुर्खेत’ अभियान चलाइरहेका छन् ।

बालबालिकालाई निमोनिया, झाडापखाला, टाइफाईड लाग्छ । चाहे त्यो कर्णालीका दुर्गम गाउँ होस्, चाहे प्रदेश राजधानी,’ केसी भन्छन्, ‘हाम्रो फोहोर व्यवस्थापनको तरिका भएन । फोहोर उठायो, घरको साइडमा फाल्यो, जलायो । जसले गर्दा पर्यावरणमा असर परिरहेको छ । बालबालिकामा त्यसो प्रत्यक्ष रुपमा असर परिरहेको छ ।’

यो कुरा मान्छेलाई बुझाउन पर्छ भनेर आफूले केही अध्ययन गरेर साथीहरुसँगको सहकार्यमा ‘क्लिन एण्ड ग्रीन सुर्खेत’ भनेर एउटा टीम बनाएको उनको भनाइ छ । त्यसले साताको एक दिन सरसफाइ गर्ने गरेको छ । अहिलेसम्म एक सय दुई हप्ता निरन्तर सरसफाई कार्यक्रम गरिसकेको उनले सुनाए ।

यतिमात्र होइन, स्थानीय जनप्रतिनिधिहरुसँग भेटेर सरसफाई सम्बन्धी कार्यविधि बनाउने काम पनि भइरहेको छ । जनप्रतिनिधिले सोही कार्यविधिमा रहेर सरसफाई सम्बन्धी काम गर्छन् । हरियाली वीरेन्द्रनगर निर्माण गर्न २५ हजार बिरुवा रोपेको डा। केसीले बताए ।

उनले प्रत्येक हप्ता एउटा विद्यालयमा गएर सरसफाई सम्बन्धी स्कुल हेल्थ कार्यक्रम चलाइरहेको पनि जानकारी दिए । उनी भन्छन्, ‘फोहोर व्यवस्थापनको सन्तुष्टिजनक अवस्था जबसम्म हुँदैन, त्यहाँसम्म ‘क्लिन एण्ड ग्रीन’ अभियान निरन्तर चलिरहन्छ ।’

आमाको प्रेरणाले स्वास्थ्यकर्मी

उनले आमाको प्रेरणाले स्वास्थ्यकर्मी भएको बताउँछन् । ‘अचम्म के छ भने म जन्मिने बेलामा जम्मा एक केजीको थिएँ रे । सम्झनुस् कि त्यो बेला स्वास्थ्य क्षेत्रको अवस्था कस्तो थियो होला १,’ उनले भने, ‘गाउँघरमा यो बाँच्दैन, यसलाई खाल्टोमा पुरिदिए पनि हुन्छ भन्थे रे । आमाले बाँचुञ्जेल आफूले दिनुपर्ने माया, ममता दिन्छु भन्नुभयो रे ।’

आमाले आफूलाई ‘तँ बाँचेको छस्, यही ठुलो कुरा हो । तैँलै पैसा पनि कमाउनु पर्दैन । जीवनभर स्वास्थ्य क्षेत्रमा लागेर अरुको सेवा गर्नुपर्छ’ भनेर सानैदेखि प्रेरणा दिने गरेको उनले सुनाए । उनले भने, ‘म स्वास्थ्यकर्मी हुनुको पछाडि प्रेरणाको स्रोत नै मेरो आमा हुनुहुन्छ । यही कुरा मेरो मनमा अमृतजस्तो अर्थात् साधनाजस्तो भएर बसेको छ । त्यसैले स्वास्थ्य क्षेत्रमा लागेको हुँ ।’

विगत सम्झदै केसी भन्छन्, ‘म खेलकुदप्रति पनि निकै रुची राख्ने मान्छे हो । सानैदेखि फुटबल खेल्थेँ । एउटा एल्बम पनि बजारमा ल्याएका थियौं तर मलाई स्वास्थ्यकर्मी भएर जसरी चिनिन पाएँ, त्यसैमा गौरव लाग्छ । स्वास्थ्यकर्मी भएर पनि समाजको यथार्थता बुझ्न अझ सजिलो हुने रहेछ ।’





error: Content is protected !!