डोल्पाको तिते फापर अमेरिका

सुर्खेत / डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ की पेमा बुढाले गत वर्ष करिब ३ क्विन्टल तिते फापर फलाइन् । उनले फलाएको फापर यो वर्ष सबै अमेरिका गयो । ‘गाउँमा तितो हुन्छ भनेर कसैले खाँदैनन्,’ उनले भनिन्, ‘काठमाडौंका एक आफन्तले मगाएका थिए, पछि सबै अमेरिका गएछ ।’
उनीबाट फापर किनेका भदै कमलबहादुर बुढाले यो वर्ष करिब ३३ क्विन्टल फापर अमेरिका पठाएका छन् । ‘अझै यसलाई व्यावसायिक बनाउन सकिएको छैन,’ उनले भने, ‘डोल्पामै प्रशोधन उद्योग खुल्न सके यहाँको सबै फापर अमेरिका र बेलायत पठाउन सकिन्छ ।’ उनले किसानबाट ६० देखि ८० रुपैयाँमा किनेको फापर काठमाडौंमा ३ सय ५० रुपैयाँ प्रतिकिलोमा बिक्री हुन्छ ।
‘देखिँदा किसानबाट किन्ने रकम र हामीले बेच्ने मूल्यमा धेरै फरक देखिए पनि फापरबाट पिठो निकाल्न एकदमै गाह्रो छ,’ उनले भने, ‘३ किलो फापरको एक किलो मात्र पिठो निस्कन्छ ।’ डोल्पाको कृषि उपज प्रवर्द्धनका लागि झन्डै एक हजार रुपैयाँ कार्गो खर्च जोडेर फापर अमेरिका पठाइरहेको उनले बताए । अमेरिका गएको फापर त्यहाँका होटलहरूमा ‘अर्गानिक कर्नर’ मार्फत बिक्री भइरहेको छ । त्यहाँका डिपार्टमेन्टल स्टोरले फापर माग गरिरहे पनि उत्पादन कम हुँदा पठाउन नसकिएको उनले बताए ।
डोल्पाकै अर्का व्यापारी तिलबहादुर रोकायाले पनि यो वर्ष करिब २० क्विन्टल फापरको पिठो अमेरिका पठाए । ‘अमेरिकामा बस्ने नेपालीको पहिलो माग नै फापरको पिठो छ, यसलाई ब्रान्डिङ गर्न सके फापरले नै कर्णालीको पहिचान बनाउने थियो ।’ डोल्पा र काठमाडौंका विभिन्न व्यापारीले यो वर्ष करिब ४० मेट्रिक टन फापर अमेरिका पठाएको उनको अनुमान छ ।
त्रिपुरासुन्दरी–४ की लालमाया बुढाले फलाएको करिब ५ क्विन्टल फापर अमेरिका गएको छ । डोल्पाका ८ वटै स्थानीय तहमा फापर फल्छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख शरद लामाले डल्ले र चुच्चे गरी दुई किसिमको तिते फापर उपल्लो डोल्पामा उत्पादन हुने बताए । उनका अनुसार मिठे फापर भने तल्लो डोल्पाका ५ स्थानीय तहमा उत्पादन हुँदै आइरहेको छ । ‘किसानलाई प्रोत्साहन गर्न ५० प्रतिशत ढुवानी अनुदान सहयोग गर्दै आइरहेका छौं,’ उनले भने, ‘ब्रान्डिङ र प्याकेजिङमा पनि कार्यालयले सक्दो सहयोग गरिरहेको छ ।’ अहिले डोल्पाली किसानले प्रतिकिलो ६० देखि ८० रुपैयाँमा फापर बिक्री गरिरहेका छन् ।
संघीय राजधानी काठमाडौंमा भने फापरको पिठो ३ सय ५० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको अर्का व्यापारी हरिप्रसाद डाँगीले बताए । उनका अनुसार देशका सबैजसो ठूला डिपार्टमेन्टल स्टोरमा फापरको पिठो पाइन्छ । ‘तर पछिल्लो समय खेती गर्ने किसानको संख्या घट्दै गएपछि मागअनुसार काठमाडौंलगायत ठूला सहरमा पठाउन सकिएको छैन, यसको माग अमेरिका र बेलायतमा उच्च छ,’ उनले भने, ‘पिसानी र कुटानीमा पनि समस्या हुँदा फापरलाई बाहिर पठाउन समस्या छ, दिनभरि ३र४ जना मान्छे लगायो भने पनि ५० किलो फापर कुट्न सक्दैनन्, ४ माना पिसे २ माना मात्र पिठो निस्कन्छ ।’ उनले यो वर्ष मात्रै आफ्ना र अन्य कोसेली घरमार्फत कम्तीमा ५ मेट्रिक टन फापर अमेरिका गएको जानकारी दिए । ‘लेखाजोखा भएको छैन, तर यसको माग अमेरिकामा बस्ने नेपालीकोमा उच्च छ,’ उनले भने, ‘फापर स्वास्थ्यका लागि पनि लाभदायक भएकाले माग बढ्दै गएको हो ।’
कर्णाली प्रदेश अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा नवराज केसीका अनुसार फापरमा २४ भन्दा धेरै पौष्टिक तत्त्व पाइने हुँदा यसको लोकप्रियता बढ्दै गएको छ । ‘फापरमा प्रशस्त मात्रामा जिंक, कपर, म्याग्नेसियमलगायत शरीरलाई स्वस्थ राख्ने तत्त्व पाइन्छ,’ उनले भने, ‘मधुमेह, उच्च रक्तचाप, कब्जियत, मोटोपन घटाउन र स्मरणशक्ति बढाउन पनि फापर खानु लाभदायक मानिन्छ ।’
जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्ष डोल्पामा ६ सय ८२ हेक्टर क्षेत्रफलमा फापर खेती गरिएकामा ७ सय मेट्रिक टन उत्पादन भएको छ । कृषि विकास प्रमुख लामाले यकिन तथ्यांक नभए पनि करिब ४० देखि ५० मेट्रिक टन देशबाहिर गएको बताए । उनका अनुसार किसानबाट १ सय रुपैयाँ प्रतिकिलो खरिद गरिएको फापर पिठो बनेर काठमाडौंसम्म पुग्दा ३ सय रुपैयाँ प्रतिकिलोसम्ममा बिक्री हुन्छ । ‘काठमाडौंसम्म पुग्दा यसमा गेडाको ग्रेडिङ, कुटानी–पिसानी, ढुवानी खर्च, प्याकेजिङलगायतको रकम पनि थप हुन्छ,’ उनले भने, ‘किसानलाई फापर खेतीमा आकर्षित गर्न विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरिरहेका छौं ।’ यो वर्ष रैथाने बाली प्रवर्द्धनमा करिब १ करोड रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए ।
फापर मात्र होइन कर्णालीबाट अहिले कालीमार्सी धान, चिनो, कागुनो, कोदोलगायत खाद्यान्न काठमाडौंलगायत देशबाहिर पनि गइरहेको छ । ‘कुनै बेला गरिबको खाना मानिने कर्णालीको अन्नको माग अहिले सम्भ्रान्त परिवारमा धेरै छ,’ हुम्लाका व्यापारी कर्णबहादुर शाहीले भने, ‘पहिलो फापर, चिनो, कागुनो र मार्सी गरिबले मात्र खान्थे, स्वास्थ्यबर्द्धक भएपछि अहिले धनीहरूले त्यही चिज महलमा खान थाले ।’ उनले यो वर्ष करिब २५ क्विन्टल कर्णालीको विभिन्न उत्पादन अमेरिका, बेलायत, जापानलगायत देशमा पठाएका छन् ।
जुम्लाको कालीमार्सी धानको चामल नेपालगन्ज, काठमाडौं, सुर्खेतलगायत सहरमा जाने प्रमुख अन्न हो । जुम्ला जाने सबैले कोसेलीका रूपमा कालीमार्सी धान लैजान छुटाउँदैनन् । व्यापारीहरू चामल खोज्न घरमै आउने गरेको तातोपानी–५ का नन्दराम न्यौपानेले बताए । अरू धानको तुलनामा कालीमार्सी रोप्न बढी दुःख हुने उनको भनाइ छ । ‘आधुनिक जातका धान आउन थालेपछि रोगकिराको प्रकोप बढी देखिन थाल्यो,’ उनले भने, ‘तर पनि बजारमा माग बढ्दै गएपछि खेती गर्न उत्साही छौं ।’ जुम्लामा २९ सय हेक्टरमा धान खेती हुने गरेकामा मार्सी धानको क्षेत्रफल मात्र १ हजार ६ सय हेक्टर छ ।
जुम्लामा गत वर्ष करिब ४ हजार मेट्रिक टन मार्सी उत्पादन भएको कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश अधिकारीले बताए । ‘अब त बरु किसानको घरमा मार्सी पाउन मुस्किल भइसक्यो,’ उनले भने, ‘अहिले सहरहरूका डिपार्टमेन्ट स्टोर र मलहरूमा मार्सीको बिक्री बढेको छ ।’ कर्णालीबाट गत वर्ष झन्डै १ सय ४ मेट्रिक टन कागुनो र ९७ मेट्रिक टन चिनो पनि बाहिर गएको छ ।
कर्णालीबाट बर्सेनि कोदो पनि संघीय राजधानी काठमाडौंलगायत सहरमा जाने गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार कर्णालीमा १९ हजार ७६ हेक्टरमा कोदो खेती गरिएकामा गत वर्ष २० हजार ८ सय ६८ मेट्रिक टन कोदो उत्पादन भएको थियो । त्यस्तै १८ सय ७२ हेक्टरमा खेती गर्दा १३ सय ७५ टन चिनो उत्पादन भयो भने ९ सय ४८ हेक्टरमा कागुनो खेती गरिएकामा ५ सय ७५ टन फलेको छ । उत्पादन भएकोमध्ये झन्डै आधा रैथाने अन्न कर्णालीबाहिर गएको मन्त्रालयका सचिव डा किसनलाल भट्टले बताए ।
रैथाने बाली संरक्षणका लागि सिँचाइ, बीउबिजन, चक्लाबन्दी, बजारीकरण, कोसेली घर निर्माणलगायत कार्यक्रमलाई जोड दिइएको उनको भनाइ छ । मन्त्रालयले रैथाने बाली संरक्षणका लागि यो वर्ष झन्डै ५ करोड रुपैयाँ विनियोजन गरेको छ । ‘कृषि विकास रणनीति र १५ वर्षीय प्रांगारिक नीतिमा पनि यो कार्यक्रमलाई समावेश गरेका छौं,’ उनले भने, ‘जसका लागि ‘मूल्यवान मार्ग स् सबैका लागि, सधैंका लागि’ नारा अघि सारिएको छ ।’








