गर्मी मौसमसँगै खानेपानी समस्या बढ्दै

सल्यान ः कालीमाटी गाउँपालिका–२ स्थित कोछट्टे, टाकुरा, टोटके र बारपुरमा खानेपानीको हाहाकार सुरु भएको छ। २०४६ मा सम्पन्न भएको खानेपानी योजना तहसनहस भएपछि स्थानीयले लामो समयदेखि खानेपानीको सास्ती भोग्दै आएका छन्।

गाउँ नजिकैका मुहान सुकेपछि दुई घण्टा हिँडेर खोल्साखाल्सीमा जमेको पानी ल्याउनुपर्ने बाध्यता स्थानीयलाई छ। अहिले ४ गाउँका करिब २ सय परिवार खानेपानीको अभाव भोग्न बाध्य भएका स्थानीय कमला घर्तीले बताइन्। उनका अनुसार एक महिना अघिसम्म भक्काने मूलबाट पानी ल्याउनु परेकोमा अहिले कोछट्टे खोलामा पुग्नुपर्ने बाध्यता रहेको छ।

डाँडामा बस्ती भएकोले २ दशकदेखि खानेपानी समस्या झेल्दै आएको टोटकेकी कमला ओलीले गुनासो गरिन्। वर्षायाम बाहेक अन्य समयमा खानेपानीको जोहो गर्न सास्ती भोग्दै आएको उनको भनाइ छ। ‘वर्षायाममा आकाशेपानी उपभोग गर्छौुं, उनले भनिन्, ‘अरू समय सधैँ पानीको पिरलो हुन्छ।’

यस्तै पानीको स्रोत नजिक नहुँदा छत्रेश्वरी गाउँपालिका १ चिन्नेखर्कका बासिन्दा आधा घण्टाको बाटोमा हिँडेर पानी ल्याउन बाध्य छन्। चिन्नेखर्कका एक दर्जन परिवारको दैनिकी पानी बोक्दैमा बित्ने गरेको छ।

बस्ती नजिक पानीको मुहान नहुँदा स्थानीयलाई पिउने पानीकै लागि दैनिक आधा घण्टा भन्दा बढी समय खर्चिनु परेको छ। खानेपानी नजिकै नहुँदा दैनिक जीवनयापनमा समेत प्रत्यक्ष असर पर्दै आइरहेको स्थानीय निरु खड्काले बताइन्।

गनेखोली र डिमुरे खोलाबाट पानी ल्याउदै आइएको उनको भनाई छ। पर्याप्त मात्रामा पानी नहुँदा दैनिक सरसफाई देखि लिएर समयको समेत कटौती भइरहेको खड्काको भनाई छ।





error: Content is protected !!