बजेटको सीमाले विरासतमा प्राप्त सबै समस्या समाधान गर्न सहज छैन ः बस्नेत

काठमाडौँ ः माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले अघिल्लो सरकारले आर्थिक क्षेत्रमा छोडेर गएका समस्या समाधान गर्नका लागि आगामी आर्थिक वर्षको एक बजेटले मात्रै नसक्ने बताएका छन् । उनले स्पष्ट दृष्टिकोण लिएर सरकार अगाडि बढ्दै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नेतर्फ लाग्नुपर्ने बताए ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद बस्नेतले अघिल्लो सरकारले तीन वर्षभन्दा बढी अवधिमा अर्थतन्त्रमा समस्या निम्त्याएको बताए । विरासतमा पाएका धेरै समस्या छन् । हामी अब स्पष्ट दृष्टिकोणका साथ जानुपर्छ । आजको हाम्रो सीमा, आजको हाम्रो आवश्यकताले एकै वर्षभित्र विरासतमा प्राप्त सबै समस्या समाधान गर्न सहज छैन,ु उनले भने ।

अर्थतन्त्रको अवस्था अहिलेको रूपमा ल्याउन यसअघिको सरकार कति जिम्मेवार र अहिलेको सरकारका कति जिम्मेवार भन्ने बहस गर्न आवश्यक नभएको बस्नेतको भनाइ थियो । अर्थतन्त्रको अवस्था अहिलेको जस्तो बनाउन ३ वर्षभन्दा बढी अर्थ मन्त्रालयको नेतृत्व सम्हालेको दल कति जिम्मेवार हुनुपर्ने हो भन्नेतिर नजाउँ, उनले भने, अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुभएको छ । बजेट प्रस्तुत गर्ने अर्थमन्त्रीको नियत के हो भनेर जाने हो भने ठिक ठाउँमा पुग्दैनौं । परिणाम के हुन्छ भन्नेमा जानुपर्छ ।

आगामी आर्थिक वर्षको बजेटले सबै क्षेत्र, वर्ग र समुदायमा उत्साह थप्ने गरी सन्तुलन कायम गरेको बस्नेतको भनाइ थियो । बजेटले कृषि क्षेत्रको सुधारलाई अर्थतन्त्रको सुधारको आधार बनाउने प्रयास गरेको भन्दै उनले कृषि क्षेत्र सुधारको एकीकृत प्याकेज बजेटमा प्रस्तुत भएको बताए । बजेटमा आएका यी योजनाले कृषिको सुधार र औद्योगिकीकरणमा महत्त्वपूर्ण आधार तयार गर्ने विश्वास आफूले लिएको उनको भनाइ थियो ।

अर्थमन्त्रीलाई बस्नेतको सुझाव थियो, हाम्रो आर्थिक नीतिले जनतालाई सामाजिक सुरक्षाका हकदार बनाउने मात्रै होइन उनीहरूलाई आर्थिक विकासको प्रक्रिया र संरचनामा सहभागी गराउँदै प्रतिफलको हिस्सेदार बनाउनेतर्फ ध्यान दिनुपर्छ । यसको लागि सार्वजनिक निजी साझेदारी, सहकार्यतर्फ ध्यान दिन आवश्यक छ ।





error: Content is protected !!