राष्ट्रपति भण्डारीद्वारा कांक्रेविहारको अवलोकन, भोलि सुदूरपश्चिमको बडिमालिका जाने

सुर्खेत ः राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको कांक्रेविहारको अवलोकन गरेकी छन् । अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेतमा रहेकी उनले आज अपराह्न सुर्खेतका प्रमुख पर्यटकीयस्थल स्थल कांक्रेविहारको अवलोकन गरेकी हुन् ।

भ्रमणका क्रममा भण्डारीले कर्णाली प्रदेशमा पर्यटनको अथाह सम्भावना रहेको र कांक्रेविहारजस्ता ऐतिहासिक सम्पदाको प्रवर्द्धन गर्न जरुरी रहेको बताइन् ।

साथै उनले कांक्रेविहारको ऐतिहासिकता, निर्माण प्रक्रिया, व्यवस्थापनबारे जिज्ञासा राखेकी थिइन् । अवलोकनपछि राष्ट्रपतिलाई वीरेन्द्रनगर नगरपालिकाले पर्यटकीयस्थलहरू समेटिएको मायाको चिनो हस्तान्तरण गरेको छ ।
राष्ट्रपति भण्डारीलाई कांक्रेविहार परिसरमा कर्णाली प्रदेशसभाका सदस्य, वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारी बुधबार बिहान सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल बडिमालिका जाने कार्यक्रम रहेको छ । उनी आज सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमान्ड हेडक्वाटर निमारेमा बस्नेछिन् ।





error: Content is protected !!