माओवादी हराउन कांग्रेसले कर्णालीमा एमालेको सहारा

हेमन्त केसी
सुर्खेत , ८ जेठ ः सत्तारुढ दलहरु भन्दा बाहिर गठबन्धन गर्न नपाइने केन्द्रीय सकुलर विपरित कर्णालीमा नेकपा (माओवादी केन्द्र) लाइ हराउनका लागि नेपाली कांग्रेस , नेकपा एमाले र नेकपा ( एकीकृत समाजबादी ) को गठबन्धन भएको माओवादीले आरोप लगाएको छ ।
यही गठबन्धनका कारण माओवादीले आधार क्षेत्र मानेको कर्णालीमा अघिल्लो स्थानीय तहको निर्वाचनमा जितेका पालिकामा अहिले हार बेर्हेनु परेको छ । आफू सुरक्षित हुनका लागि कांग्रेसले गठबन्धन बाहिरका दलसँग सहकार्य र उपयोग गरेको माओवादी नेताहरुकै भनाइ छ ।
सत्तारुढ गठबन्धनले कर्णालीमा काँग्रेसलाई फलिफाप भए पनि माओवादीलाई भने घाटा भएको निष्कर्ष माओवादी कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए । रुकुम पश्चिमका ४, सुर्खेतको १, दैलेखका २, जाजरकोटको १, हुम्लाका ३, कालिकोटका ५, जुम्लाका २, मुगुको १, डोल्पाका २ र सल्यानका २ पालिकासहित २३ पालिकाको नेतृत्व यो पटक पाएको छ । यद्यपि आफ्नै आधार क्षेत्र मानिने रुकुम पश्चिममा काँग्रेसका कारण दुई पालिका गुमाएको छ ।
०७४मा रुकुमका ६ वटै पालिकामा वर्चश्व जमाएको माओवादीले मुसिकोट नगरपालिका र बाँफिकोट गाउँपालिका गुमाएको छ । बाँफिकोटमा काँग्रेस जनककुमार बाँठा विजयी भएका छन् ।अर्थमन्त्री जनार्दन शर्माको गृहनगर मुसिकोटमा पनि काँग्रेसका महेन्द्र केसी विजयी भए । यहाँ काँग्रेसले गठबन्धनको निर्णय विपरीत एमालेसँग तालमेल गरेको थियो ।
यस्तै गठबन्धनले गर्दा अन्य जिल्लाका केही पालिकाहरूमा पनि घाटा भएको माओवादी केन्द्रकी प्रदेशका इन्चार्जका कालीबहादुर मल्लले जानकारी दिए । उनले भने ,‘गठबन्धनमा काँग्रेसीहरूले इमान्दारिता देखाएनन् । माओवादीकाले इमान्दारितापूर्वक भोट काँग्रेसका उम्मेदवारलाई दिने, तर काँग्रेसकाले माओवादीका उम्मेदवारलाई नदिएको देखिन्छ । यो काँग्रेसको छलकपट पुर्ण तरिकाले समस्य ल्यायोे ।’
मल्लले माओवादी एक्लै लडेको खण्डमा ३९ वटा पालिकामा विजयी हुने आङ्कलन गरिएको बताए । माओवादीले ०७४ मा कुनै पालिका नजितेको सुर्खेतमा १ र दैलेखमा दुई पालिकामा भने जितेको छ । दैलेखको नौमुले र भगवतीमा माओवादी र समाजवादीको मात्रै गठबन्धन थियो भने काँग्रेस त्यसको विरुद्धमा उम्मेदवारी दिएको थियो । दैलेखमा माओवादी सांगठनिक रूपमा कमजोर छ ।
डोल्पामा मुड्केचुला र जगदुल्लामा माओवादीलाइ हराउनका लागि एमाले , कांग्रेस र एस मिलेर चुनावमा गएका थिए । यो काममा एसकै नेता तथा पुर्वराज्यमन्त्री धनबहादुर बुढा न्वरण देखिको बल लगाएर गठबन्धन विरुद्ध काम गरिरहेको माओवादी नेताको आरोप छ । पुर्व गृहमन्त्री तथा माओवादी नेता शक्तिबहादुर बस्नेत र कर्णाली माओवादी इन्चार्ज कालीबहादुर मल्लको गृह जिल्ला जाजरकोटमा समेत कांग्रेसले माओवादीलाइ धोका दिएको पाइएको छ । भेरी नगरपालिकामा कांग्रेस र माओवादीको गठबन्धन भएपनि माओवादीका मेयरका उम्मेदवार गगनबहादुर खड्कालाइ हराएर एमालेका सिपि घर्तीलाइ मेयरमा जिताएर उपमेयरमा कांग्रेसकी सिता जैसीलाइ विजय बनाएको छ । उपमेयर कांग्रेसको भागमा परेको थियो ।
त्यस्तै जुनिचाँदेमा अध्यक्ष माओवादीलाइ दिएर उपाध्यक्ष कांग्रेसको भाग परेपनि माओवादी उम्मेदवार शिवा आचार्यलाइ हराएर एमालेका उम्मेदवार वेदबहादुर शाहीलाइ जिताइ उपाध्यक्षमा कांग्रेसले आफ्नो उम्मेदवारलाइ जिताएको छ । बारेकोटमा आफ्नै अन्तरघातका कारण कांग्रेसले अध्यक्ष पद हराएको छ । त्यहाँ नेकपा एमालेका बीरबहादुर गिरीले अध्यक्ष जितेका छन् । उपाध्यक्षमा माओवादी केन्द्रका नरबहादुर गिरीले जिते । जाजरकोटको नलगाड नगरपालिकाको वडा ४,५ र ६ मा समेत एमाले , कांग्रेस र एसकै भित्री गठबन्धन भइ माओवादीका वडाध्यक्षका उम्मेदवारलाइ हराएको छ ।
माओवादीले अन्तरघाटको समिक्षा गर्दै
नेकपा (माओवादी केन्द्र) ले गठबन्धन विरुद्ध भएको गतिविधि र आन्तरिक रुपमा गरिएको अन्तरघातका विषयमा समिक्षा थालेको छ । पालिकाबाट सुरु भएको समिक्षा ,जिल्ला ,प्रदेश हुँदै केन्द्र गएर फाइनली समिक्षा हुने माओवादी कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लले बताए । प्रदेशबाट सर्कुलर भइसकेको छ , समिक्षा तत्काल गरेर निष्कर्ष पठाउनका लागि उनले भने ।








