डोल्पा मा जेठ ११ गते देखि यार्सा पाटन खुल्ला गरिने

पूर्ण सार्की
डोल्पाः डोल्पा जिल्लामा यार्सागुम्वा संकलनको लागि यहि जेठ ११ गते देखि सम्पुर्ण यार्सा पटनहरु खुल्ला गरिने भएको छ । शुक्रबार सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेर बहादुर बुढाको अध्यक्षतामा जिल्लाका विभिन्न निकायका प्रमुख प्रतिनिधहरुको सहभागीतमा बसेको बैठकले शे फोक्सुण्डो राष्ट्यि निकुञ्ज भित्र र विभिन्न सामुदायीक वनहरुमा रहेका यार्सा पाटक यहि जेठ ११ गते देखि असार १० गते सम्म यार्सागुम्वा संकलन गर्न पाउने निर्णय गरिएको छ ।
बहुमुल्य जडिबुटीको रुपमा पाईने यार्सागुम्वा डोल्पा जिल्लाका स्थानीय लगाएत छिमेकी जिल्लाका स्थानीयहरु राम्रो आम्दानी गर्ने गर्दछन । प्रायः जस्तो स्थानीयहरु यार्सागुम्वा संकलनबाट प्राप्त आम्दानीले बालबच्चा पढाउने,घर खर्च चलाउने गर्दछन ।
कोभिड १९ संक्रमणका कारण लामो समय सम्म सर्वसाधारणले यार्सागुम्वा संकलन गर्न नपाएको भन्दै यस पटक विभिन्न तयारीका साथ करिव एक महिनाको लागि यार्सा पाटन खुल्ला गरिने भएको हो । यार्सा संकलनको लागि मध्यवर्ती क्षेत्रका वासिन्दा,जिल्ला भित्रका वासिन्दा र जिल्ला वाहिरका बासिन्दा लाई राष्ट्यि निकुञ्ज एन र नियामावली अनुसार फरक फरक प्रवेश शुल्क लाग्ने छ । यार्सागुम्वा संकलनकर्ता हरुको लागि
सुलिगार्ड,धो,साल्दाङ्ग,रिग्मो,सुम्दुवा,छेप्का,त्रिपुराकोट,खालीवन, पहाडा,तोईजम र मुगु जिल्लाको डोल्फु र किम्री बाट पुर्जी वितरण हुने शे फोक्सुण्डो राष्ट्यि निकुञ्ज सुलीगार्ड डोल्पाले जनाएको छ । यस्तै डिभिजन वनको क्षेत्रमा आवश्यकता अनुसार स्थान निर्धारण गरि पुर्जी वितरण गरिने जनाएको छ ।
डोल्पा जिल्लाका विभिन्न स्थानमा रहेको करिव दुई दर्जन भन्दा बढी यार्सागुम्वा पाटनहरुमा सर्वसाधारणहरुको भिड हुने भएकोले विभिन्न किसिमका अपराधिक गतिविधिहरु हुन सक्ने भएकोले त्यस्ता किसिमका क्रियाकलाप रोकथाम तथा नियन्त्रण गर्नको लागि श्री रामवाण गुल्मका गुल्मपतिको संयोजकत्वमा थप छलफल गरि सुरक्षा परिचालन गरिने भएको छ ।
यार्सागुम्वा संकलनको अवधिमा यार्सा संकलन वाहेक अन्य गैह्रकानूनी कार्य गरेमा रा।नि तथा व।ज।संरक्षण ऐन २०२९ , हिमाली राष्ट्यि निकुञ्ज नियामावली २०३६, मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ अनुसार कारवाही हुने निकुञ्जले जनाएको छ ।
यस्तै यार्सागुम्वा संकलनको अवधिमा सर्वसाधारणको लागि विभिन्न नाकाहरुमा स्वास्थ्य सेवा कार्यालय, विभिन्न स्थानीय तहहरु संग समन्वय निशुल्क स्वास्थ्य शिविर राख्ने,पाटनमा हुने फोहोर मैला व्यवस्थापनको लागि यार्सागुम्वा संकलनकर्ताहरुलाई नाकाहरुमा अभिमुखिकरण गर्ने जनाईएको छ ।










