पूर्व सहमति अनुसार आफू नै गोकर्णेश्वरको मेयरको उम्मेदवार हुने भन्दै अघि बढे कांग्रेसका दीपक रिसाल

काठमाडौं ः काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका दीपक रिसालले दाबी गरेका छन् । यसअघि भएको सहमति अनुसार आफू स्वभाविक रुपमा मेयरको प्रत्यासी भएको उनको भनाई छ ।
रिसालले २०७४ को स्थानीय तह निर्वाचनमा हालका मेयर सन्तोष चालिसेले अर्को पटक नउठ्ने वचनबद्धता गरेकाले पनि आफू मेयरमा उठ्ने उनले बताएका हुन् । रिसाल कांग्रेसको क्षेत्र नम्बर ३ का सचिव हुन् । ‘मैले पहिले सघाएको हो, उहाँले जित्नुभयो अब मलाई सघाउनुपर्छ’ रिसालले भने ‘म राजनीति गतिविधिसँगै समाजसेवामा सक्रिय छु, मलाई पार्टीको सहित सर्वसाधारणको पनि मत आउँछ त्यसैले म बलियो दाबेदार हुँ ।’ रिसालले निर्वाचनको लागि आन्तरिक तयारी तीव्र पारेको बताए ।
दीपक गोकर्णेश्वर नगरपालिका–९ जोरपाटी निवासी हुन् । उनी जनताको सुखदुखमा सधैं सहभागी भएका छन् । नगरपालिकाको प्रमुख सल्लाहकारको भूमिकामा रहेर पनि उनले आफ्नो थप लोकप्रियता कमाएका छन् । २०४६ सालदेखि कांग्रेसको राजनीतिमा लागेको बताउने उनी राजनीतिका साथै सामाजिक, धार्मिक, खेलकुदका साथै शिक्षा र स्वास्थ्य क्षेत्रका गतिविधिमा पनि सक्रिय छन् । उनी अरुणोदय माविको व्यवस्थापन समितिका अध्यक्ष तथा गोकर्णेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष हुन् । उनी गोकर्णेश्वर महादेव मन्दिर पुनर्निर्माण समितिको महासचिव पनि हुन् । उनले नगरपालिकालाई कस्तो बनाउने भन्ने खाका पनि बनाइसकेका छन् ।
उनले गोणर्केश्वर नगरपालिकालाई धार्मिक, पर्यटकीय र नयाँ समृद्ध सहर बनाउने आफ्नो सपना रहेको बताए । ‘म कार्यकारी भूमिकामा नभए पनि नगरपालिकाको विकास तथा जनताको सेवाका लागि भूमिका खेलेकै छु । अब भने मेयर बनेर अझ बढी काम गर्न चाहना छ,’ उनले भने । उनले नगरपालिकाले अहिले गरेका राम्रा कामलाई निरन्तरता दिने बताएका छन् । शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने, रोजगारीको सिर्जना गर्ने, गोकर्णेश्वर, चामुण्डा, उत्तरबाहिनी, बागद्वार, सुन्दरीमाई, तारेभीर लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई अझै बढी आकर्षक बनाउन सकिने उनले बताए ।
उनले सम्पूर्ण नगरवासीमा मत मागेका छन् । ‘म निर्वाचित भएपछि पनि नगरवासीकै काममा लाग्ने हो, तपाइहरुले दिएको विश्वासमाथि धोका हुने छैन’ उनले भने ।



