चुहिने घरमा प्रहरी चौकी

हुम्ला ः जिल्ला प्रहरी कार्यालयसहित हुम्लामा २५ प्रहरी इकाई छन् । तर अधिकांश प्रहरी चौकीको आफ्नै भवन नहुँदा समस्या भएको छ । भाडाका १४ प्रहरी चौकी मध्ये अधिकांश भवनमा पानी चुहिने र जीर्ण छन् ।

भाडाका घरमा हुँदा प्रहरी चौकी नै असुरक्षित भएको जिल्ला प्रहरी प्रमुख डीएसपी हेरम्ब शर्माले बताए । उनका अनुसार भाडाको घरमा हुँदा प्रहरी कर्मचारीले सास्ती बेहोर्दै सेवा प्रवाह गरिरहेका छन् । ‘आफ्नै भवन त छैनन्, अरू पूर्वाधारको के कुरा गर्ने रु,’ उनले भने, ‘भवन अभावमा अधिकांश चौकीलाई कार्यालय व्यवस्थापन गर्न समस्या भएको छ । एउटै घरमा कार्यालय र व्यारेक हुँदा सर्वसाधारणलाई सुरक्षा दिन पनि समस्या भएको छ ।’ उनले उनले भाडाको नाममा मासिक करिब ५ लाख रुपैयाँसम्म खर्च भइरहेको बताए । केही भवनको भाडा जिल्ला प्रहरी कार्यालयमार्फत भुक्तानी भएको छ । केही ठाउँमा गाउँपालिकाले बेहोरिरहेको उनले जानकारी दिए ।

सीमा प्रहरी चौकी हिल्सा, प्रहरी चौकीहरू यारी, धारापोरी, खार्पु, याङ्चु, सर्केदेउ, पिप्लाङ र मिमीमा भाडाको घरमा प्रहरी बसिरहेको छ । त्यस्तै गल्फागार्ड, छप्रेला, मैला, कवाडी र तुम्च प्रहरी चौकी पनि भाडाको घरमा राख्नुपरेको डीएसपी शर्माले बताए । उनका अनुसार ट्राफिक प्रहरी कार्यालय सिमकोटको पनि आफ्नै भवन छैन । ‘कतिपय ठाउँका प्रहरी चौकी भवन जीर्ण हुँदा ढल्ने अवस्थाका छन्,’ उनले भने, ‘केही ठाउँमा वर्षा र हिमपातको बेला पानी चुहिने समस्या पनि छ ।’ ग्रामीण क्षेत्रमा प्रहरी चौकीका लागि उपयुक्त घर नहुँदा स्टोर, ब्यारेक र कार्यालय एउटै घरमा राख्नुपरेको उनले गुनासो गरे । गाउँमा काम गर्ने प्रहरीहरू कोचाकोच गरेर सुत्ने गरेको उनले जानकारी दिए ।

विपद् व्यवस्थापनका सामग्री राख्ने ठाउँसमेत नहुँदा गाउँमा कुनै घटना भए नियन्त्रणमा समस्या हुने गरेको उनले बताए । जिल्ला प्रहरी कार्यालयसहित ६ वटा प्रहरी चौकी मात्र अहिले आफ्नै भवनमा छन् । सदरमुकाम सिमकोटस्थित इलाका प्रहरी कार्यालय डिभिजन वनको भवनमा बस्दै आएको छ । ‘आफ्नै भवन भए शान्तिसुरक्षा प्रवाह गर्न सहज हुन्थ्यो,’ डीएसपी शर्माले भने, ‘प्रहरीले पनि सास्ती भोग्नुपर्ने अवस्था हुने थिएन ।’





error: Content is protected !!