बालुवाटारमा देउवा, प्रचण्ड र माधवबीच बिहानै के के भयो छलफल ?

काठमाडौँ ः सत्तारुढ तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । मंगलबार विहान प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको हो ।

पार्टीको बैठकअघि देउवाले प्रचण्ड र माधव नेपालसँग छलफल गरेका हुन् । उनीहरुबीच विहान ८ बजेपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव, एमसीसी र स्थानीय तहको निर्वाचनबारे छलफल भएको बुझिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार राजदूत नियुक्तिका विषयमा पनि छलफल भएको थियो । प्रधानमन्त्री देउवाले गत विहीबार पनि राजदूत नियुक्तिका सन्दर्भमा प्रचण्ड र नेपालसँग छलफल गरेका थिए । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद बैठकबाट राजदूत सिफारिस तयारी भइरहेको छ ।

नेपालका तीनवटा संयुक्त राष्ट्रसंघीय नियोग न्युयोर्क, जेनेभा र भियना० र ३० देशमा दूतावास छन्। कुल ३० वटा मध्ये हाल १० वटा मुलुकमा मात्र राजदूत छन् । उनीहरु १० जना परराष्ट्र मन्त्रालयका करिअर राजदूत हुन् । बाँकी २० वटा नेपाली राजदूतावासमा राजदूत पद लामो समयदेखि रिक्त छ । प्रचण्ड र माधव नेपालसँगको छलफलपछि प्रधानमन्त्री देउवा काँग्रेस संसदीय दलको बैठकका लागि बालुवाटारबाट निस्केका छन् ।





error: Content is protected !!