सुत्केरी गराउन भरोसा बटुल्दै गाउँका स्वास्थ्य संस्था

जाजरकोट , गाउँ , गाउँमा जनचेतना बढेसँगै सुरक्षित रुपमा सुत्केरी हुनेको संख्या ह्वात्तै बढेको छ । सदरमुकाम स्थित स्वास्थ्य संस्था र पालिकामा रहेका स्वास्थ्य संस्थामा सुरक्षित रुपमा सुत्केरी हुन आउने महिलाको संख्या बढेको स्वास्थ्यकर्मीले बताएका छन् । सञ्चार माध्यमको प्रभावका साथै साक्षर हुनेको संख्या बढेको कारण सुरक्षित रुपमा सुत्केरी हुनेको मात्रा बढेको हो । गर्भ जाँच समेत बढेको छ । गर्भवती नभएका महिलाहरु समेत स्वास्थ्य जाँचको लागि चनाखो भएर समय , समयमा स्वास्थ्य संस्थामा पुग्ने गरेको पालिकामा रहेका स्वास्थ्यकर्मीले बताएका छन् ।

दुर्गममा क्षेत्र बसोबास गर्ने महिलाहरु गर्भवती हुँदा सुत्केरी हुने समय नजिक आउदा स्वास्थ्य संस्थाको पहुँच हुने ठाउँमा अस्थायी रुपमा बसाइ गरेर सुत्केरी सेवा लिने गरेको आफूले पाएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो ,‘ हामीले गर्भवतीलाइ सुरक्षित रुपमा स्वास्थ्य संस्था ल्याउन र लिनका लागि एम्वुलेन्स सेवा समेत दिएका छौँ , आर्थिक रुपमा हैसियात हेरेर भाडा दर समेत निर्धारण गरिएको छ ।

घर घर झण्डा , सुत्केरीलाइ अण्डा कार्यक्रम सञ्चालन गरेर थप सुत्केरीको स्याहार सुसारमा ध्यान समेत दिइएको छ’ अघिल्लो वर्ष सुत्केरी भर्ना दर समेत राम्रो भएको र यो वर्ष समेत अत्यधिक बढेको छ ।’ जुम्लाको सिमानासँग जोडिएको बारेकोट गाउँपालिकामा स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको दर बढेको पाइएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख बीरराज सिंहले दिएको जानकारी अनुसार अघिल्लो दुइ आर्थिक वर्षमा सत प्रतिशत सुत्केरीहरु स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको रेकर्ड रहेको छ । सुत्केरी तथा गर्भवतीलाइ प्रोत्साहन थप व्यवस्था गर्दा नतिजा राम्रो आएको उहाँले बताउनुभयो । यो पालिका दुइ आर्थिक वर्षमा दोस्रो र पहिलो आएको छ । पश्चिमका छेडागाड , शिवालय र जुनिचाँद र कुशे गाउँपालिकामा सुत्केरी हुने अपेक्षा गरिएको भन्दा कमजोर रहेको छ । भेरी ,नलगाड , बारेकोटमा भारी सुधार आएको बताएको छ ।

स्वास्थ्य सेवा कार्यालयमा जाजरकोटमा सुत्केरी हुन आउनेको संख्या बढेको छ । गएको बर्ष दुई सय ४१जना महिलाहरु जिल्ला अस्पताल जाजरकोटमा सुत्केरी हुन आएका थिए । जिल्ला अस्पताल जाजरकोटमा कार्यरत सि.एन.एम.नारायणी शाहका अनुसार आफ्नो १९औ बर्षका अनुभवमा गएका बर्षहरु भन्दा धेरै महिलाहरुले अस्पतालमै बच्चा जन्माउने गरेका छन् ।
भेरी नगरपालिका– १पिपेकी गीता पुन आफू गाउँको भएपनि बच्चाको जन्म दिन सदरमुकाम पुगेको बताउनुभयो । अस्पताल वा नजिकैको स्वास्थ्य केन्द्रमा बच्चा जन्माउने संख्यामा वृद्धि भएको देखिन्छ । एक महिनामा १६/ १७ जना अस्पताल बच्चा जन्माउन आउने गरेका शाहले बताउनुभयो ।

बिस्तारै गाउँ घरमा जनचेतना बढेसगै स्वास्थ्यचौकी तथा अस्पतालमा गर्भवती तथा सुत्केरीहरुले लिने सेवा बढ्दै गरेको हो। अस्पतालमा सुत्केरी हुन आउदा दुई हजार रुपैया दिने गरिएको छ । ८ सय रुपैयाँ गर्भजाचँ गरेमा २ हजार प्रदेश सरकारले समेत थप पोषण भत्ता दिने गरेको छ । साथै अस्पतालबाट न्यानो झोला समेत दिने गरिएको डाक्टर औंसर शिहं राठौरले जानकारी दिनुभयो ।

अस्पताल जटिल अवस्थामा समेत सुत्केरी हुन आएका आमा तथा बच्चाको अस्पतालमै सफल शल्यक्रियाबाट समेत बच्चा तथा आमाको ज्यान बचाउन सकेको राठौरले जानकारी दिनुभयो ।

रगत नहुँदा नेपाली सेना ,प्रहरी ,सशस्त्र प्रहरी र स्वास्थ्यकर्मीले रगत दिएर नै धेरै व्यक्तिको ज्यान बचाउने गरेको समेत बताएको छ । जिल्लामा ५० शशयाको अस्पताल निर्माण कार्य अन्तिम चरण पुगेसँगै सेवा विस्तारको भारी अपेक्षा गरिएको छ । अक्सिजन पलान्ट समेत सञ्चालनमा आएको छ । पालिका स्तरमा समेत सेवा विस्तारसँगै सुत्केरी हुने दर बढेको हो ।




सम्बन्धित समाचार


error: Content is protected !!