२० मुलुकमा राजदूत नियुक्तिको तयारी

केपी ओली नेतृत्वको सरकारका पालामा नियुक्त भएका राजदूत फिर्ता गरेको ६ महिनापछि सरकारले २० मुलुकमा रिक्त रहेका राजदूत नियुक्तिका लागि तयारी थालेको छ । सत्तागठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच राजदूत नियुक्ति सिफारिसबारे सोमबार बालुवाटारमा छलफल भएको हो ।

नेताहरूका अनुसार आ–आफ्नोतर्फबाट नाम दिन प्रधानमन्त्री देउवाले प्रचण्ड, नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवलाई आग्रह गरेका छन् । राजनीतिक भागबन्डाका आधारमा १३ देखि १४ तथा परराष्ट्रबाट ६ देखि ७ जनाको सिफारिस हुनेछ । परराष्ट्र मन्त्रालयले भने कम्तीमा आठजना राजदूतका लागि परराष्ट्रमन्त्री डा। नारायण खड्कामार्फत प्रधानमन्त्री देउवासँग दाबी गरेको सम्बद्ध स्रोतले बतायो । पराष्ट्र मन्त्रालयका सातजना सहसचिवहरूको नाम कात्तिक अन्तिम साता नै मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा बुझाइसकेको स्रोतले बतायो ।

फिर्ता गरिएको तीन महिनापछि ११ कात्तिकमा सरकारले भारत, अमेरिका र बेलायतका लागि भने राजदूत सिफारिस गरिसकेको छ । बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्य नियुक्त भएका छन् भने भारतका लागि सिफारिस डा। शंकर शर्मा र अमेरिकाका लागि सिफारिस श्रीधर खत्रीको एग्रिमो आउन बाँकी छ । सरकारले असोज पहिलो साता भारतबाट राजदूत नीलाम्बर आचार्य, अमेरिकाबाट डा। युवराज खतिवडा र बेलायतबाट लोकदर्र्शन रेग्मीलाई फिर्ता बोलाएको थियो ।

कांग्रेसको कोटाबाट महत्वपूर्ण मुलुकहरू बेलायत, अमेरिका र भारतमा राजदूत सिफारिस भइसकेका कारण अब कांग्रेसले महत्वपूर्ण मुलुक पाउनेछैन । स्रोतका अनुसार चीन माओवादीको भागबन्डामा र जापान एकीकृत समाजवादीको भागबन्डामा पर्ने सम्भावना छ । जसपाले बंगलादेशका लागि राजदूत पाउने सम्भावना छ । स्रोतका अनुसार चीनका लागि माओवादी नेता लीलामणि पोखरेल, नेपाल–चीन सम्बन्धका अध्येता डा। रूपक सापकोटा तथा हालै माओवादीमा सक्रिय भएका चीनका लागि पूर्वराजदूत लीलामणि पौड्यालको नाम चर्चामा छ । माओवादी केन्द्रबाट सम्भावित राजदूतमा युवराज चौलागाईं, डा। ऋषि अधिकारीलगायत चर्चामा छन् । एकीकृत समाजवादीबाट डा। मिलनराज तुलाधर, प्रमेश हमाल, डा। केशव बस्याललगायतको नाम चर्चामा छ ।

यी हुन् राजदूत रिक्त २० देश
चीन, जापान, रुस, मलेसिया, बंगलादेश, म्यानमार, श्रीलंका, दक्षिण कोरिया, स्पेन, डेनमार्क, ब्राजिल, दक्षिण अफ्रिका, अस्ट्रिया, अस्ट्रेलिया, ओमान, कतार, इजरायल, इजिप्ट, साउदी अरब, बहराइन




सम्बन्धित समाचार


error: Content is protected !!