किन सुन्दैन , राज्यले उपल्लो डोल्पाको दुख ?

हेमन्त केसी
डोल्पा / उपल्लो डोल्पा एक भुगोल मात्र होइन, सिमा रक्षा गर्ने विना बर्दीका सिपाइहरुको खास ठाउँ हो । वर्ष दिनमा आधा वर्ष हिउँले ढाक्ने र आधा वर्ष मात्र चलाएमान हुने उपल्लो डोल्पामा जोखिमताकै बीचमा पनि जीवन चलाउनु पर्ने बाध्यता रहेको छ ।

काठमाडौँबाट बिभिन्न बिभिन्न मुलुकमा जान छिटो र सुलभ हुन सक्छ तर उपल्लो डोल्पा पुग्न भारी खर्चिलो रहेको छ । दुरीका हिसावले टाढा नभएपनि राज्यको आँखा नपर्दा उपल्लो डोल्पा जानका लागि फलामको चिउरा नै चपाउनु पर्छ । ठुलो जिल्लाको रुपमा नाम परिचित भएपनि यहाँका दुखको भाग झन ठुलो रहेको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी तुण्डुप गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो ,‘ चामलकै लागि हामीले राज्यलाइ ज्ञापन पत्र बुझाउनु पर्छ , उपल्लो डोल्पामा औषधि नपाएर मानिस मर्दा सामान्य झैँ लाग्छ राज्यलाइ तर काठमाडौँमा कुकुर मर्दा बजारभरी थकिन्छ ।’
राज्यको स्रोत परिचालन र वितरण प्रर्णाली पक्षपाती भएको समेत उहाँले बताउनुभयो । चरी लड्ने भीरमा हाम्रा दैनिकी चल्छन् , उत्ता काठमाडौँमा गगनचुम्वी महलमा बस्नेलाइ हाम्रा दुखले कहिले पनि छोएन अध्यक्ष गुरुङले भन्नुभयो । उपल्लो डोल्पाका तीन पालिकाको हावा ,पानी र भुगोल सबै मिलेकोले स्वायत्त क्षेत्र घोषणा गरेर छुट्टै प्याकेज बनाइ विकास गर्नुपर्ने ग्याल्वो भोटेले बताउनुभयो । उहाँले भन्नुभयो ,‘ राज्यको नीति निर्माण तहमा हाम्रो सहभागिता नहुनु नै हाम्रो कुरा सबैले नसुन्नु रहेछ । ’

जनजाती समुदायको बसोबास रहेको उपल्लो डोल्पाको एक खण्ड शे फोक्सुण्डो गाउँपालिका हो । यो ऐतिहासिक, धार्मिक, तथा पर्यटकीय पृष्ठभुमि संग जोडिएको छ । साल्दाङ स्थित ऐतिहासिक तथा धार्मिक स्थल शे गुम्बा र फोक्सुण्डो रिग्मो गाउँ र पर्यटकीय स्थल फोक्सुण्डो ताल यहाँ रहेको छ । यो ठाउँमा जानका लागि स्थल मार्ग हुँदै सदरमुकामबाट कम्तिमा दुइ दिन लाग्छ । घोडेटो बाटो हुँदै पैतद हिडेर त्यहाँ जानु पर्दछ ।
सडक सञ्जालसँग नजिएका कारण धेरै पर्यटकले जान खोजेपनि त्यहाँ पुग्न मुस्किल हुँदै गएको छ । हिउँ चितुवा , कस्तुरी र जडीवुटीको भण्डारको रुपमा रहेको यहाँ माल पाएर पनि चाल नपाउने अवस्था सिर्जना हुँदै आएको छ । व्यवस्था बदलिएपनि उपल्लो डोल्पाको अवस्था नबदलिए सम्मा खास राज्य भएको अनुभूति गर्न नसक्ने सर्वसाधारणहरु बताउँछन् ।
उपल्लो डोल्पामा सधै झै चिसो भएपनि यो समयमा भारी हिमपातले झनै चिसो खपिनसक्नु छ ।तापक्रम माइनसमा झरेपनि यहाँका मानिसहरु अफ्नो दिनचर्या चलाउन बाध्य छन् । केही हुने खानेहरु ओल तीर झरेपनि अधिकांश सर्बसाधारणहरु उपल्लो डोल्पामै छन् । मुसी, निजाल, फोत, कु, साल्दाङ, कराङ, कोमा, नाम्दो, भिजेरलगायतका गाउँका मानिसहरु चिसोमा मुकाविला गर्दै थाकथलो छोकेका छैनन् ।
हिउँमा चौंरी, याक र घोडामा सामल बोकाएर जिउ, ज्यानलाइ प्रवाह नगरी उपल्लो डोल्पामा भारी हिमपातका बीचमा बस्नु कम्तिको चुनौति पुर्ण छैन । तल्लो डोल्पा झर्नेहरु हिउँदका करिब ६ महिना काइगाउँ, कागेनी, सुलिगाड, पहाडामा टेन्टमा हिउँद गुजार्छन् । केहीको अस्थायी घर छ । केही भने कोठा भाडामा लिएर बस्छन । उपल्लो डोल्पालीले औल झर्नुअघि उवा, फापर, आलु, गहुँलगायतका बाली थन्क्याइसक्छन । उनीहरूलाई आफ्नो उत्पादनले तीनदेखि चार महिनासम्म मात्र खान पुग्छ । बाँकी समयका लागि तिब्बत र दुनैबाट खाद्यान्न किनी घोडा र खच्चडलाई बोकाएर ल्याउनुपर्छ । उपल्लो डोल्पामा नेपाल सरकारले खाद्यान्न पु¥याउँदैन ।
उपल्लो डोल्पालीका लागि हिउँदमा बेंसी झर्नु संस्कृति नै बनेको छ । पहिले आर्थिक हिसाबले मजबुत डोल्पालीहरू चिसो छल्न काठमाडौंसम्मै पुग्थे । त्यही मौकामा जडीबुटी व्यापार गर्थे । कोभिड–१९ संक्रमणका कारण यो वर्ष काठमाडौंसम्म जानेहरू घटे । वैशाख लागेपछि उपल्लो डोल्पा जानेको फेरी अर्को लाग्छ । फर्कनासाथ बाली लगाउने र यार्चागुम्बु संकलन गर्ने समय हुन्छ । यार्चागुम्बु उपल्लो डोल्पालीको मुख्य आयस्रोत हो । पशुपालन र व्यापार वैकल्पिक आयस्रोत हुन ।
शे–फोक्सुन्डो, छार्का ताङसोङ र डोल्पोबुद्ध तिब्बतसँग जोडिएका छन । सदरमुकाम दुनै सडक सञ्जालले जोडिए पनि त्यसमाथि सडक छैन । उपल्लो डोल्पाका बस्तीसम्म पुग्न दुनैबाट एक सातासम्म हिँड्नुपर्छ । सवारीको मुख्य साधन घोडा हो । खच्चडबाट दुनै र त्रिपुराकोटबाट सामान ढुवानी गरिन्छ । साल्दाङ शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र र सबैभन्दा ठूलो गाउँ हो । फोक्सुन्डो ताल र करिब एक हजार वर्ष पुरानो शे र सामलिङ गुम्बा यहीं छन् । उपल्लो डोल्पा पदयात्राका लागि प्रख्यात रहेको ठाउँ हो ।
शे–फोक्सुन्डो गाउँपालिकासँग तिब्बतको क्याटो नाका जोडिएको छ । सबै स्थानीयको मुख्य बजार नै क्याटो हो । कोभिड संक्रमणका कारण उक्त नाका खुलेन । छिमेकी डोल्पोबुद्ध गाउँपालिकासँग तिब्बतकै मरिम–ला नाका जोडिएको छ । धो तराप, ताक्सी, सिमेनका बासिन्दा उक्त बजारमा किनमेल गर्छन । तर ति सबै अहिले हिमपातले गर्दा जान सक्ने र आउन सक्ने अवस्था छैन । संघीय सरकारले दुवै नाकालाई खुला गर्ने प्रक्रिया अघि बढाएको भनेपनि त्यो परिणाममा उपल्लो डोल्पालीले देखेका छैनन् ।
उपल्लो डोल्पाका बालबालिकाले हिमपातका समयमा नियमित पाउने खोप समेत पाउदैनन् । अहिले देशैभरी चलेको कोभिडको खोप समेत उपल्लो डोल्पाका सर्वसाधारणले पाउन सकेका छैनन । सामान्य टाउको दुखे अस्पताल दौडिने सहर भन्दा अस्पतालको अनुहार नै देख्न नपाइ मृत्युलाइ स्वीकार गर्ने उपल्लो डोल्पाको पीडा कति होला ? विकास निर्माणको सवालमा समेत अन्य जिल्लामा छुट्याउन बजेट बराबरकै उपल्लो डोल्पामा छुट्याउदा त्यो बजेट हातिको मुखमा जिरा झै हुन्छ । सामग्रीको मुल्य भन्दा ढुवानीको मुल्य बढी रहेको उपल्लो डोल्पामा राज्यले भारी बजेट छुट्याएर खास क्षेत्र घोषणा गरी हिमालको छुट्टै स्वायतता बनाउन सके न्याय हुने छ ।










