राजनीतिमा आउन कलाकारहरूको दौडधुप

काठमाडौं– नेकपा (एमाले)को महाधिवेशन मंसिर १० मा चितवनको भरतपुरमा सुरु हुँदा कलाकार एकनारायण भण्डारीको ‘राम्रो नेपालमा हाम्रो एमाले’ बोलको गीत सार्वजनिक भयो। यो गीतमा उनको रचना र संगीत छ। गीतको सम्मान स्वरुप उनले अध्यक्ष केपी ओलीबाट प्रमाणपत्र पाए। तर, उनको राजनीतिक आस्था भने एमाले होइन।

एमालेले २०७४ सालको निर्वाचनको बेला प्रचारमा ल्याएको ‘मै पनि एमाले, सही पनि एमाले’ गीतको शब्द र संगीत पनि एकनारायणकै हो। यो गीत बद्री पंगेनी र प्रिया भण्डारीले गाएका थिए। एकनारायण भण्डारी राजनीतिक रूपमा नेपाली कांग्रेसप्रति आस्था राख्छन्।

अहिले देशका मुख्य पार्टीहरुको महाधिवेशनको माहोल छ। एमालेको महाधिवेशन मंगलबार सकिएको छ। राप्रपाको महाधिवेशन बुधबार काठमाडौँमा सुरु भएको छ। कांग्रेसको महाधिवेशन मंसिर २४ गतेदेखि हुँदैछ। माओवादीको राष्ट्रिय सम्मेलन पनि अर्को महिना हुँदैछ। एकनारायणले झैँ कतिपय कलाकारले पार्टी महाधिवेशनमा आफ्नो कला मात्र प्रस्तुत गरेका छैनन्, बरु ‘राजनीतिक अनुहार’ पनि देखाइरहेका छन्।

राष्ट्रिय सभा सदस्य रहेकी गायिका कोमल वली एमाले केन्द्रीय सदस्य नै बनेकी छन्। रेडियो नेपालको जागिर छाडेपछि २०७३ सालमा राप्रपा प्रवेश गरेकी वली एक वर्ष नपुग्दै एमालेतिर लागेकी थिइन्। राप्रपा विभाजन उनको एमाले प्रवेशको कारण बनेको थियो।

उनलाई २०७४ सालको प्रतिनिधि सभा निर्माचानमा दाङ क्षेत्र नम्बर–३ बाट उम्मेदवार बनाउने एमाले नेताहरुले आश्वासन दिएका थिए। तर, टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर फिर्ता लिएकी थिइन्।

चितवन महाधिवेशनबाट एमाले केन्द्रिय सदस्य भएपछि उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘मलाई सर्वसम्मत केन्द्रिय सदस्यमा मनोनयन गर्नु भएकोमा श्रद्धेय अध्यक्ष केपी ओलीज्यू, नेतागणलगायत प्रतिनिधिज्यूहरूलाई आदर र धन्यवाद व्यक्त गर्दछु। तपाईंहरुको विश्वासलाई डगमगाउन नदिने प्रतिबद्धता व्यक्त गर्दछु।’

चितवनको एमाले महाधिवेशनमा देखिएका अर्का कलाकार हुन् वैकुण्ठ महत। उनी ‘मै पनि एमाले, सही पनि एमाले’का निर्माता र ‘राम्रो नेपालमा हाम्रो एमाले’ गीतका गायक हुन्। एमालेनिकट रहेका उनले पनि पछिल्लो गीतका लागि चितवन महाधिवेशनमा एमाले अध्यक्ष ओलीबाट प्रमाणपत्र पाएका थिए।

उता कांग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेकी निर्देशक तथा कोरियोग्राफर रेनेशा वान्तवा राई भने पराजित भएकी छन्। उनी इलाम क्षेत्र नं २ बाट जनजाति महिला कोटामा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार थिइन्। राई इलामका कांग्रेस नेता नरेन्द्रकुमार वान्तवाकी छोरी हुन्। यसपटक ‘युवापुस्तामा राजनीति आउनुपर्ने’ भन्दै सक्रिय हुन खोजेकी थिइन्। तर, सक्रिय राजनीतिमा आउने उनको चाहनामा ‘ब्रेक’ लागको छ।

अभिनेता रोज राणा भने प्युठानबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्। चलचित्र निर्माता संघका महासचिवसमेत रहेका उनी प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन्। रोज प्युठानका क्षेत्रीय सभापति पनि हुन्। उनी सर्वसम्मत महाधिवेशन प्रतिनिधि चुनिएका हुन्।

अभिनेत्री रेखा थापा राप्रपाको राजनीतिमा सक्रिय छिन्। बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशन प्रतिनिधि पनि हुन्। अध्यक्षमा राजेन्द्र लिङदेनलाई जिताउने अभियानमा रहेकी रेखा आफैँ पनि केन्द्रीय सदस्यको आकांक्षी हुन्। उनी सामाजिक सञ्जालदेखि पार्टीकै कार्यक्रममा पनि लिङदेनका लागि भोट माग्नमा व्यस्त छिन्।

२०७० सालमा माओवादी केन्द्र प्रवेश गरेर उनले आफ्नो राजनीतिक जीवन सुरु गरेकी थिइन्। ‘म सानैदेखि अलि क्रान्तिकारी, अग्रगामी सोच भएको युवती थिएँ’, भन्दै माओवादी केन्द्र प्रवेश गरेकी रेखाले सिंहदरबार घेराउ कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नाचेर चर्चा कमाएकी थिइन्। उनलाई माओवादीले पर्सा–१ बाट चुनावमा उठाउने चर्चा पनि थियो। तर, उनको मतदाता नामावलीमा नामै नभएपछि उनको चर्चा सेलाएको थियो।

प्रचण्डसँगको निकटता र माओवादीसँगको राजनीतिक यात्रा त्यसको तीन वर्षपछि टुंगियो। २०७३ मंसिर २७ मा उनी तत्कालीन राप्रपा नेपाल प्रवेश गरिन्। राप्रपा नेपाल प्रवेश गर्दा उनले भनेकी थिइन्, ‘राजनीतिलाई नजिकबाट बुझिरहेको थिएँ। म एउटा हिन्दू नारी हुँ, राष्ट्रवादी केटी हुँ।’

अभिनेत्री करिश्मा मानन्धर पनि कलाकारिताबाट राजनीतिमा लागेकी थिइन्। अहिले भने उनी सक्रिय छैनन्। करिश्मा सुरुमा बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा थिइन्। हाल कुनै पार्टीमा छैनन्। तर, उनको निकटता एमाले अध्यक्ष ओलीसँग छ। केही समयअघि ओलीले गरेको फोन र उनीसँगको भेटघाटका कारण करिश्माले एमाले प्रवेश गर्न लागेको चर्चासमेत चलेको थियो। तर, त्यो चर्चालाई करिष्माले पुष्टि गरिनन्।

एमाले अध्यक्ष ओलीसँगको करिश्माको निकटता प्रतिनिधि सभा विघटनको समयमा पनि देखिएको थियो। कुनै बेला सँगै राजनीतिमा हिँडेका बाबुराम भट्टराईले ट्विटरमा ‘ओली प्रतिगमनविरुद्ध सबै जिल्लामा हुने जसपाको जनसभामा सहभागी बनौं’ भन्दै ट्विट गरेपछि करिश्मा एमाले अध्यक्ष ओलीको पक्ष र बाबुरामको विपक्षमा देखिएकी थिइन्। भट्टराईको आह्वानको विरोध गर्दै करिश्माले लेखेकी थिइन्, ‘तपाईंजस्तो पढेलेखेको, राजनीति गर्ने मानिसको उर्जा अर्को पार्टीको विरोधमा मात्रै सीमित भएको देख्दा दुःख लाग्छ डा साब। यही हो नेपालीले पाएको गणतन्त्ररु यही हो राजनीतिक संस्काररु देशको विकास कहिले हुनेरु’

सक्रिय राजनीतिमा लाग्न चाहेका अर्का कलाकार हुन् भुवन केसी। उनी दोस्रो संविधानसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर–१ बाट एमालेको उम्मेदवार हुने चर्चा थियो। टिकट पाउन उनले निकै दौडधुप पनि गरेका थिए। तर, सफल भएनन्। एमालेले उनलाई त्यति बेला समानुपातिक सभासदको उम्मेदवारको सूचीमा भने राखेको थियो। सभासदै हुने मौका चाहिँ पाएनन्। उनले आफू मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेलादेखि नै एमालेबाट प्रभावित भएको बताउने गरेका छन्।

देशमा चुनावी माहोल तातेका बेला राजनीतिमा आउने भन्दै चर्चा चल्ने कलाकार भने धेरै छन्। तीर्थ थापा, जोगेन्द्र थापा, शिवहरी नेपाल, पशुपति शर्मा, बद्री पंगेनी, सुनिल थापा, राधिका हमाल लगायत कलाकारहरु सक्रिय राजनीतिमा आउने चर्चा बेलाबेला चल्ने गरेको छ।





error: Content is protected !!