एमाले बैठकमा ओली र रावलबीच चर्काचर्की

एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलबीच चर्काचर्की भएको छ । दशबुँदे सहमति कार्यान्वयनका सन्दर्भमा दुई नेताबीच सवालजवाफ चलेको हो ।

बैठकमा उपाध्यक्ष रावलले दशबुँदे सहमति कार्यान्वयन नभएका कारण आफूले कार्यदलको संयोजकबाट राजीनामा दिएको बताएपछि ओलीले ‘जिम्मेवारी पूरा गर्न नसकेर’ छाडेको टिप्पणी गरेका थिए । संयोजकले राजीनामा दिइसकेपछि दशबुँदे र कार्यदलको पनि काम नभएको ओलीको भनाइ थियो ।

‘तपाईं ९रावल०ले दशबुँदे कार्यान्वयन गराउनै सक्नुभएन त मैले के गरौँ, कमिटीमै छलफल गरेर के निष्कर्ष आउँछ, दशबुँदे कार्यान्वयनका लागि त्यही लागू गर्ने दायित्व तपाईंको थिएन, अब तपाईंले सक्दिनँ भनेर राजीनामा नै दिइसकेपछि त्यो कार्यदलको के काम ’ ओलीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

उपाध्यक्ष रावलले ओलीको भनाइको प्रतिकार गरेका थिए । आफूले काम गर्ने नसकेर भन्दा पनि अध्यक्षले सहमति कार्यान्वयन गर्न नमानेपछि राजीनामा दिएको जवाफ फर्काएका थिए । त्यसपछि अध्यक्ष ओलीले राजीनामा पहिले सञ्चारमाध्यममा वितरण गरेर मात्र आफूलाई जानकारी दिएको भन्दै त्यस्तो पार्टी पद्धतिविपरीतको शैली पाच्य नभएको चेतावनी रावललाई दिए । दुई नेताबीच चर्काचर्की बढ्दै गएपछि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ‘कुरा अन्त्य गरौँ, स्थायी समितिको विषय त्यतै छलफल गर्ने’ भनेपछि साम्य भएको थियो ।

उपमहासचिव भुसालप्रति पनि आपत्ति
अध्यक्ष ओलीले उपमहासचिव घनश्याम भुसालले बैठकमा ‘पत्रको क्षेप्यास्त्र’ पठाएको भन्दै आपत्ति जनाएका छन् । बैठकमा राख्ने विषय पहिल्यै मिडियाबाजी गरेर उनले पार्टी पद्धति उल्लंघन गरेको ओलीको भनाइ थियो । भुसालले दशबुँदे सहमति कार्यान्वयनका विषयमा तीनबुँदे सुझावको पत्र बैठकमा पठाएका थिए । कोरोना संक्रमणका कारण उनी बैठकमा उपस्थित थिएनन् । तर, त्यही सुझाव दुई दिनअगावै सार्वजनिक भइसकेकाले बैठकमा छलफल गर्नुको औचित्य नभएको ओलीको भनाइ थियो ।

एमाले महाधिवेशनमा दुई हजार प्रतिनिधि, २७ कात्तिकमा छानिने

एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा दुई हजार प्रतिनिधि सहभागी हुने भएका छन् । शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले एक हजार पाँच सय ३६ प्रतिनिधि सहभागी गराउने स्थायी समितिको प्रस्ताव परिमार्जन गर्दै महाधिवेशनमा एक हजार नौ सय ९९ जना सहभागी गराउने निर्णय गरेको हो ।

पार्टी सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यहरूले प्रतिनिधिको संख्या बढाउन सुझाव दिएअनुसार संख्या बढाउने निर्णय भएको बताए । आगामी १० देखि १२ मंसिरमा चितवनमा सम्पन्न हुने महाधिवेशनका लागि २७ कात्तिकमा देशभर एकैदिन प्रतिनिधि छनोट गर्ने निर्णय एमालेले गरेको छ । महाधिवेशनको उद्घाटन सकिएलगत्तै एमालेमा नयाँ नेतृत्वका लागि मतदान सुरु हुनेछ ।

यसपटक एमालेले केन्द्रीय कमिटीको नयाँ नेतृत्व चयनका लागि हुने मतदानमा विद्युतीय मतदान मेसिनको प्रयोग गर्ने निर्णय गरेको छ । नेपाली वैज्ञानिक राम लक्ष्मणले तयार पारेको मतदान मेसिनको एमालेले केन्द्रीय कमिटी बैठकस्थलमै शुक्रबार मतदान गर्ने तरिकाको परीक्षण गराएको छ ।





error: Content is protected !!