हुम्लामा एकपटक मोबाइल चार्ज गरेकै सय रुपैयाँ ?

हुम्ला ः सुन्दा अचम्म लाग्न सक्छ एकपटक मोबाइल चार्ज गर्न हुम्लामा एक सय तिर्नुपर्छ । एउटा मोबाइल चार्ज शतप्रतिशत चार्ज गरेबापत सय रूपैयाँ तिर्नुपर्ने बाध्यता छ ।
हिल्दुम लघुजल विद्युत् आयोजना महिना दिनसम्म पनि मर्मत नहुँदा स्थानीयले सय रुपैयाँ तिरेर मोबाइल चार्ज गर्नुपर्ने बाध्यतामा स्थानीय छन् ।
हुम्लामा कार्यरत एक सुरक्षाकर्मीले जिल्लामा सोलार भएका स्थानमा मोबाइल चार्ज गर्न सय रुपैयाँ तिरेको बताए । सय रुपैयाँ तिरेर मोबाइल चार्ज गरेर परिवारसँग कुरा गरेको उनले बताए ।
जिल्लाका अधिकांश इलेक्ट्रोनिक पसलहरूले मोबाइल चार्ज गरेबापत सय रूपैयाँ लिने गरेका छन् । विद्युत् आपूर्ति कहिले हुन्छ भन्ने अहिलेसम्म यकिन छैन ।
विद्युत् महिना दिनसम्म आपूर्ति नहुँदा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका काम प्रभावित भएका छन् । विद्युत् आपूर्ति नभएपछि जिल्लाका सञ्चारकर्मी सोलार भएका कार्यालय पुगेर ल्यापटप चार्ज गरी समाचार सम्पेषण गर्न बाध्य भएको नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष अर्जुन बोहराले दुखेसो गरे । ‘सरोकारवाला निकाय मौन छन्, कहिले विद्युत् आपूर्ति हुन्छ अझै थाहा छैन,’ उनले भने ।








