बिरामीको जाँच अस्पतालमा , औषधि पसलबाट


डोल्पा / स्वास्थ्य सेवा कार्यालयबाट ७२ प्रकारका औषधिहरु निशुल्क पाइने व्यवस्था भएपनि डोल्पाका स्वास्थ्य सेवा कार्यालयमा औषधि नहुँदा समस्या हुँदै गएको छ ।
औषधि बिक्री गर्नका लागि स्थापना भएको फार्मेसीमा समेत औषधि नहुँदा रित्तो भएको फार्मेसी व्यवस्थापनले जनाएको छ । हिमाली जिल्ला मध्यमा पर्ने डोल्पामा मुस्किलले ३५ देखि ४० प्रकारका औषधि पाइएपनि अहिले सोही औषधि नपाउदा अस्पतालमा विरामी जाँच गरी निजी औषधि पसलबाट औषधि विरामीहरु किन्ने गरेका छन् ।
दैनिक दर्जनौ विरामी आउने गर्छन , सबैले अस्पतालमा औषधि नहुँदा बजारमा गइ किनेर ल्याउने गरेको विरामीका आफन्त कुमार केसीले बताए । उनले भने , ‘ मैले त सबै औषधि निशुल्क अस्पतालमै पाइन्छ भन्ने सुनेको थिए तर सबै औषधि बाहिर किन्नु परर्यो , अस्पतालको फार्मेसीमा समेत औषधि पाइएन ।’
स्वास्थ्य सेवा कार्याल र जिल्ला अस्पताल एउटैले व्यवस्थापन गर्दै आएका कारण अहिले स्वास्थ्य सेवा कार्यालयकै मताहातमा रहेको छ । आर्थिक वर्ष २०७८/ ०८९ मा नियमित स्वास्थ्य कार्यालयले खरिद गर्ने औषधि खरिद नगरेको पाइएको छ ।
कर्णाली प्रदेश सरकारको मताहातमा कर्णालीका १० जिल्लाका स्वास्थ्य सेवा कार्यालयहरु रहदै आएका छन् । स्वास्थ्य सेवा कार्यालयका डाक्टर अखण्ड उपाध्यायले दिएको जानकारी अनुसार औषधिको अभावमा उपचारमा सास्ती भएको छ । औषधि नहुँदा नशाबाट दिने बिरामीलाइ सबै भन्दा सास्ती भएको छ उनले भने ,‘ औषधि छैन ,बजारबाट किनेर ल्याउनुहोस भन्दा हामीसँग बिरामीहरु रिसाउनुहुन्छ , हामी मेडिकलमै उपचार गछौँ उसो भन्दै फर्कनुहुन्छ । ’
एक्सरे सेवा समेत प्रभावकारी नहुँदा दैनिक समस्या हुँदै आएको छ । एक्सरेको प्रिन्टरमा खराबी आउदा हेर्न मिल्छ तर पेपर प्रिन्ट गर्न मिल्दैन उनले भने । सामान्य खालको रगत मात्र ल्याबमा जाँच हुने गरेको छ । किटको अभावमा सबै खालको परिक्षण गर्न नपाएको चिकित्सकहरुले बताएका छन् । कार्यालयमा जनशक्ति नै नहुँदा काम गर्न समेत अपठ्यारो हुँदै आएको प्रशासनले जनाएको छ ।
स्वास्थ्य विमा गरेका बिरामीले समेत फार्मेसीबाट औषधि लिन नपाउँदा अर्को समस्या थपिएको विरामीहरु बताउँछन् । स्थानीय तहमा समेत औषधि स्वास्थ्य सेवा कार्यालयले पठाउन नसकेको बताएको छ । सिटामोल बाहेक अन्य औषधि नहुँदा उपचारमा सास्ती भोग्दै आएको चिकित्सकहरु बताउँछन् ।
विशेषज्ञ सहित ९ जना चिकित्सक भएको डोल्पाको स्वास्थ्य सेवा कार्यालयमा अहिले ५ जना करारका चिकित्सकको भरमा स्वास्थ्य सेवा कार्यालय सञ्चालनमा रहेको छ । दरबन्दीमा एक जना नर्स बाहेक सबै करारमा रहेका रहेका छन् । करारमा कार्यरत नर्सहरुको नविकरण समेत नगरिएकोले काम गर्न मुस्किल हुँदै आएको छ । जनशक्ति , औषधि र भौतिक संरचनाकै अभावले काम गर्न मुस्किल हुँदै आएको पाइएको छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख अमरसिंह शाहीले नयाँ औषधि खरिद नगरिएको बताए । नयाँ औषधि ल्याइएको पनि छैन , भनेको सबै औषधि पनि डोल्पामा पुर्याउन सकिदैन कुरा यही हो उनले भने ।
अस्पतालमा औषधि नपाउदा मेडिकलको हालिमुहाली
स्वास्थ्य सेवा कार्यालयमा औषधि नहुँदा निजी मेडिकलमा विरामीकोहरुको चाप बढेको छ । औषधि नै नपाइने अस्पतालमा को जान्छ विरामीका आफन्त बसन्त बुढाले बताए । उनले भने ,‘ सबै बाहिरबाट किनेर ल्याउन भन्छन् , त्यसैले उपचार पनि बाहिर नै गरे आनन्द । ’
जिल्ला अस्पतालकै यस्तो हालत छ भने गाउँमा रहे्का स्वास्थ्य संस्थाको अवस्था कस्तो होला सबैको प्रश्न यही रहेको छ । कर्णाली प्रदेशको स्वास्थ्य संस्थाहरुको आज सुर्खेतमा समीक्षा रहेको छ । सो समीक्षामा औषधि अभाव देखि अन्य कुराहरुको विषयमा समेत व्यापक कुरा हुने व्यवस्थापकले बताएका छन् ।








