स्वास्थ्य सेवा कार्यालयको चरम लापरवाही -अघिल्लो वर्ष खरिद गरिएका प्रसुती गृहका सामग्री अझै सदरमुकामको बन्द कोठामा

हेमन्त केसी
जाजरकोट – सातैवटा स्थानीय तहलाइ उपलव्ध गराउने भन्दै आर्थिक वर्ष २०७७/ ७८ मा खरिद गरिएका बर्थिङ सेन्टरमा प्रयोग हुने सामग्री अहिले सम्मा सदरमुकाममै थन्किएका छन् ।
स्वास्थ्य सेवा कार्यालयले बोलपत्र आवह्वान गरी खरिद गरेका बर्थिङ सेन्टरका सामग्रीहरु गत असारमै सबै स्वास्थ्य संस्थामा पुर्याइ सक्नु पर्ने भएपनि अहिले सम्मा सदरमुकामको निजी घरमा थन्किएको पाइएको छ । चैत ,वैशाख महिनामै सदरमुकाम आइपुगेका सामग्रीहरु झण्डै ६ महिना देखि सदरमुकाममा थन्क्याएर राखिएको छ । स्थानीय तहले बर्थिङ सेन्टरमा भएको आवश्यक समस्याका बारेमा लिखित माग गरे अनुसार अघिल्लो वर्ष ति सामग्री खरिद गरिएका थिए ।
खरिद गरिएका सामग्रीहरुको अभाव भएपछि पटक , पटक माग गरेपनि स्वास्थ्य सेवा कार्यालयले उपलब्ध नगराएको पालिकाले बताएका छन् । वर्षायाममा बाटोहरु अवरुद्ध हुँदा पालिकाले कत्तैबाट ल्याउन नसकेको र माग गरिएका सामग्रीहरु स्वास्थ्य सेवा कार्यालयले खरिद गरेपनि सदरमुकामै थन्क्याएर राख्दा समस्य थपिँदै गएको जुनिचाँदे गाउँपालिकाको स्वास्थ्य शाखाले बताएको छ ।
भेरी नगरपालिकाले समेत पटक , पटक बर्थिङ सेन्टरका सामग्री माग गरेपनि भेरी नगरपालिकाको नाममा आएका सामग्री स्वास्थ्य सेवा कार्यालय दिन सकेको छैन । बन्द कोठामा राखिएका ति सामग्रीहरु पालिकामा कहिले सम्मा पुग्छ भन्ने एकिन समय नभएको स्रोतले बताएको छ ।
सात पालिका मध्य नलगाड नगरपालिकामा मात्र अहिले सम्मा सामग्री पठाएको र त्यहाँबाट बर्थिङ सेन्टर सम्मा पुगे ,नपुगेको कुनै जानकारी नआएको स्रोतले बताएको छ । प्रदेश सरकारको दायित्व अन्तरर्गत ति सामग्री स्वास्थ्य सेवा कार्यालयले खरिद गरेको थियो ।
अघिल्लो आर्थिक वर्षमा मागका आधारमा खरिद गरिएका सामग्री सदरमुकाममा थन्क्याएर राख्दा उत्ता पालिकामा सामग्रीको अभावमा सुत्केरी गराउन समस्या भइरहेको पालिकाको स्वास्थ्य शाखाले जानकारी दिएका छन् ।
संघीय सरकार र पालिकाले बर्थिङ सेन्टर मात्र निर्माण गरेको तर सामग्री केही मात्रा खरिद गरिएको भएपनि पुरा सामग्री नभएका कारण स्वास्थ्य सेवा कार्यालयसँग अघिल्लो वर्ष माग गरिएको थियो ।
झण्डै ८० प्रकारका सामग्री एउटा बथिङ सेन्टरमा आवश्यक पर्ने गर्दछ । सुत्केरी गराउने वेड, सक्सन मेसिन , डेलिभरी सेट , म्याट्टेश , सक्सन ट्व्यूव , अक्सिजन मास्क र न्यानो कपडा लगाएका सामग्री बढी महत्वपूर्ण मानिन्छन् । यि सामग्रीहरु खरिद गरेर सदरमुकाममा थन्क्याएको छ , कहिले गाउँमा जान्छ थाहा नभएको स्वास्थ्यकर्मीले बताएका छन् ।
गाउँमा रहेका बर्थिङ सेन्टरमा दैनिक सुत्केरी हुने गरेपनि सामग्रीको अभावमा समस्या हुँदै जाँदा स्वास्थ्य सेवा कार्यालयलाइ छिटो सामग्री दिन ताकेता गरेपनि उपलब्ध नगराएको भेरी नगरपालिका स्वास्थ्य शाखाले बताएको छ ।
अघिल्लो वर्ष नै सबै पालिकामा पुर्याइ सक्नुपर्ने ति सामग्रीहरु अर्को आर्थिक बर्ष दुइ महिना पुरा हुन लाग्दा सम्मा सदरमुकाममै थन्क्याउदा स्वास्थ्य सेवा कार्यालय स्वास्थ्य सेवा प्रति कति जिम्मेवार छ भन्ने कुरा पुष्टि हुन्छ ।
कुशे गाउँपालिकामा २० प्रकारका सामग्री , शिवालयमा १९ प्रकार, जुनिचाँदेमा १९ प्रकार , बारेकोटमा २२ प्रकार , भेरी नगरपालिकामा २१ प्रकार र छेडागाडमा २१ प्रकारका बथिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाइ जरुरी पर्ने सामग्रीहरु सदरमुकाममा थन्किएका हुन् ।
कार्यालय प्रमुखले सक्रियता नदेखाउदा ति अतिआवश्यकीय सामग्रीहरु गोदाममा थक्निएका हुन् । यो विषयमा स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।





error: Content is protected !!