ब्लड बैंक स्थापनाको बजेट खै ?

हेमन्त केसी
जाजरकोट –  स्वास्थ्य सेवा कार्यालयमा ब्लड बैंक स्थापना गर्नका लागि उठाएको रकम गायब भएको छ । कर्मचारी , जिल्ला विकास समिति र अन्य बिभिन्न निकायबाट उठाएको रकम गायब भएको हो । आव २०६९ /७० उठाएको रकम बेपत्ता भएको हो ।
जिल्लामा ब्लड बैंक नहुँदा समस्या परिरहने भएकोले जिल्लाका सरोकारवाला निकायको पहलमा रकम उठाएर स्वास्थ्य सेवा कार्यालयलाइ उपलव्ध गराएको बजेट नै गायव भएपछि ब्लड बैंक स्थापना गर्ने कार्यक्रम अलपत्र पदै आएको छ । अहिले सम्मा जिल्लामा ब्लड नहुँदा सेना प्रहरी र स्वाथ्यकर्मी आफैले रगत दिएर विरामीलाइ बचाउने काम भइरहेको छ । जिल्ला विकास समितिले निर्णय नै गरेर ब्लड बैंक स्थापना गर्नका लागि रु १ लाख रकम दिएको थियो । त्यस्तै कर्मचारी तथा सरोकारवाला निकायले समेत आफ्नो खुसी अनुसारको बजेट सहयोग गरेको भेरी नगरपालिकाका स्वास्थ्य शाखाका दीपक ओलीले बताउनुभयो ।
आफूले पनि १० हजार रकम दिएको र सो विषयमा पटक ,पटक कुरा उठाउदा पनि रकम फेला पर्न नसकेको ओलीले बताउनुभयो । सहसचिव चक्रबहादुर विसी १५ हजार , नलगाड नगरपालिका स्वास्थ्य शाखाका प्रमुख प्रचण्ड कार्की १० हजार र जीवन प्रशिक्षक नरबहादुर कार्की २० हजार दिएको तर सो रकम कहाँ गयो खोजिरहेको उहाँले बताउनुभयो । यूनिसेफ समेत केही रकम दिएको थियो ।
धेरै सरोकारवाला निकायबाट झण्डै ५ लाख भन्दा बढी रकम उठेको भएपनि त्यो पैसा स्वास्थ्य सेवा कार्यालयको को सँग छ भन्ने जानकारी नै नभएको सरोकारवाला बताउँछन् । तत्कालिन समयमा सुरक्षित मातृत्व कार्यक्रम हेर्ने स्रोत व्यक्तिलाइ नै सो रकमको बारेमा जानकारी भएको समेत बताएको छ । समन्वय तथा सहकार्य स्वास्थ्य कार्यालयका प्रमुखले गर्ने गरेको भएपनि सो रकम कहाँ छ भन्ने अत्तोपत्तो नै नभएको बताएको छ ।

जिल्लामा अहिले पनि ब्लड बैंक स्थापनाका लागि बिभिन्न उपकरण आएपनि काम हुन सकेको छ्रैन । बन्द कोठा भित्र ति उपकरणहरु थन्क्याएको छ । रगत अभाव हुन साथ प्रहरी ,सेना र सर्बसाधारण नै खाज्दै भौतारिनु परेको छ ।

माल भएर पनि चाल नपाउने स्वास्थ्य सेवा कार्यालयको रबैयाका कारण ब्लड बैंकको सामग्री भएपनि प्रयोगमा आउन सकेको छैन । लाखौँ रकम पर्ने ति सामग्रीहरु बन्द कोठामा राख्दा खिया लागेर काम नलाग्ने अवस्थामा पुग्ने डर भएको कर्मचारीहरु बताउँछन् । भएको सामग्रीको जतन गरी प्रयोगमा ल्याउनुका साथै सरोकारवाला निकायसँग सहकार्य गरी काम अगाडी बढाउन सके जिल्लालाइ मात्र होइन छिमेकी जिल्लालाइ समेत सहयोग पुग्ने सरोकारवालको भनाइ छ । जती पटक ब्लड बैंकको कुरा उठ्ने गरेपनि त्यो कुरामा मात्र सिमित हुने गरेको छ । स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीलाइ सम्पर्क गर्न खोज्दा फोन अफ भएका कारण प्रतिक्रिया लिन सकिएन ।

जिल्लामा आएको स्रोत सामग्री प्रयोग गर्न नसक्ने तर ब्लड छैन , नेपालगन्ज वा चौरजहारी विरामीलाइ छिटो लिनुहोस भन्दै लाखौ रकम खर्च गराउन स्वास्थ्य सेवा कार्यालय तल्लिन देखिन्छ । नामको मात्र ५० शश्या रहेको जाजरकोटको स्वास्थ्य सेवा कार्यालयमा विकास , भौतिक निर्माणका लागि आएको बजेट समेत होल्ड गरी बसेर मिति सकिन लाग्दा मात्र प्रक्रियामा जाँदा बर्षेनी फिर्ता हुँदै आएको छ ।

बिलिङ सिस्टम भन्दा अगाडीको पुर्जी र औषधिको रकम हिसाव छैन
बिलिङ सिस्टम जडान गर्नु भन्दा पहिलाको लाखौ रुपैयाँ कहाँ गयो र कसले खर्च गर्र्यो भन्ने हिसाव नहुँदा स्वास्थ्य सेवा कार्यालय सो हिसाबको खोजी नै नगरी पन्छिएको छ । बिलिङ सिस्टम भेरी नगरपालिकाले जडान गरेपनि अहिले सिस्टममा आएपछि सो रकम दुरुपयोग हुने क्रम रोकिएको छ । जसले रकम उठायो , उसैले गायब बनाउने परिपाटी मौलाएपछि नगरपालिकाले बिलिङ सिस्टमलाइ प्रभावकारी बनाउन सप्टवर जडान गरिदिएको छ । बिलिङ सिस्टम भन्दा अगाडीको रकम कहाँ कति दुरुपयोग भयो भन्ने एकिन हिसाव नहुँदा कुरा उठाउदै ,बीचमै छोड्दै गरेको अस्पताल विकास समितिका सदस्याहरु बताउँछन् ।





error: Content is protected !!