जाजरकोटमा कर्णालीकै पहिलो जडीवुटी प्रशोधन केन्द्रको शिलान्यास

हेमन्त केसी
जाजरकोट , कर्णालीकै पहिलो जडीवुटी प्रशोधन केन्द्र जाजरकोटमा निर्माण कार्य सुरु गरिएको छ । करिव ८ करोड लगानीमा सरकारी स्वमित्वको प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिएको जडीवुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रवन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिनुभयो । भेरी नगरपालिका –३ को राताचौरमा निर्माण कार्य सुरु गरिएको यो प्रशोधन केन्द्र कर्णालीकै पहिलो रहेको उहाँले बताउनुभयो ।

आज सो भवनको औपचारिक रुपमा पूर्व वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गर्नुभयो । जडीवुटी तथा पर्यटन र खनिजको राम्रो सम्भावना रहेको कर्णालीमा यो केन्द्र स्थापना सुरुबाट सँगै सर्बसाधारणहरु जडीवुटीको बजार घर नजिकै आएको भन्दै खुसी भएका छन् । केन्द्रमा १ वर्षमा १० करोड बराबरको कारोबार हुनुपर्ने बताएको छ । २०७९ जेठ ११ गते भित्र भवन निर्माण कार्य सम्पन्न गर्ने भन्दै ज्ञानज्योती बिल्र्डस प्रालि कोठेश्वर– १३ काठमाडौँले निर्माणको जिम्मा लिएको छ ।
जाजरकोट मध्यपहाडी लोकमार्ग , छिन्चु जाजरकोट हुँदै डोल्पा जोड्ने त्रिदेशीय सडक र लुम्विनी रारा सडकको समेत बीच भागमा जाजरकोट पर्ने भएकाले यहाँ जडीवुटीको प्रशोधनको कामले गती लिने पूर्व वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । जाजरकोट सबै कुराको सम्भावनाको भण्डार रहेको भन्दै बिस्तारै सबै कुराको विकास हुने जानकारी दिएको दिनुभयो ।

सामाजिक–आर्थिक हिसाबले महत्वपूर्ण र औषधीय गुणले भरिपूर्ण विभिन्न जडीबुटीे कर्णाली क्षेत्र निकै धनी रहेको छ । उचित ज्ञान र बजारको अभाव, प्रशोधन क्षमताको अभावले गर्दा ती जडीबुटी मुल्य अभिवृद्धि नगरीकन नै विक्रीवितरण तथा निर्यात हुँदा बर्षेनी भारी रकम बाहिरिएको छ ।

जसको कारणले गर्दा देशले ठूलो आम्दानीको स्रोत गुमाइरहेको छ । ठूलो मात्रामा कच्चा अवस्थामा रहेका जडीबुटी निर्यात गर्दा पनि थोरै मात्र आम्दानी हुने अवस्था विद्यमान छ ।

वश्व बजारमा जडीबुटीजन्य उत्पादनका माग दिनानुदिन बढ्दै गइरहेको छ, त्यसमा पनि उच्च भू–भागमा पाइने जडीबुटीहरुको माग अतुलनीय र विशेष रहेको छ । कर्णालीका उच्च भू–भाग पाइने बहुमूल्य जडीबुटीले त्यहाँको गरिबी उन्मूलन तथा आयआर्जनको मुख्य श्रोत भएपनि उचित व्यवस्थापन नहुँदा अर्थतन्त्रमा भारी क्षेती हुँदै आएको छ । जाजरकोटमा निर्माण हुन लागेको प्रशोधन केनद्रले त्यो डोव पुरा गर्ने अपेक्षा लिइएको छ । कर्णालीको लगभग ९०% बहुमूल्य जडीबुटी बिना प्रशोधन कच्चा रुपमा नै विदेश निकासी हुँदै आइरहेको छ जसले यस क्षेत्रमा आश्रित मानिसहरु ले सही मूल्य तथा अवसर गुमाइरहेका छन् ।

कर्णालीमा सामाजिक–आर्थिक हिसाबले उन्नतिको सम्भावना बोकेको जडीबुटीजन्य वस्तु उत्पादन गर्ने उद्योग स्थापनाले त्यस क्षेत्रमा गरिबी उन्मुलन गर्न सहयोग मिल्ने अपेक्षा लिइएको छ ।

जाजरकोट , ९ भदौ ः भेरी नगरपालिका –३ राताचौरमा निर्माण गर्न लागिँएको जडीवुटी प्रशोधन केन्द्रको भवन शिलान्यास पछि सम्वोधन गर्नुहुँदै पूर्व वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत । तस्वीर हेमन्त केसी





error: Content is protected !!