जनप्रतिनिधिले मिचे आफ्नै निर्णय, स्थानीय आक्रोशित

दैलेख – दैलेख क्षेत्र नम्ब् २ का तीन नगरपालिका र दुई गाउँपालिकाको विकासको मेरूदण्ड मानिएको ठाटीकाँध सडकखण्डमा फेरि विवाद चुलिएको छ । १६ वैशाख २०७६ मा गाउँपालिका अध्यक्ष र वडाअध्यक्षहरु बसेर पहिलेको विवाद समाधान भएपनि फेरि पुरानै विवाद चुलिएको हो । गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलगायत वडाअध्यक्ष वैशाख १६ गते बसेको भेलाले मटेला प्याडुल्ली भैरवस्थान ठाटीकाँध आग्र हुँदै पाँचला स्याउँले काँधबाट सडक लैजाने भन्ने निर्णय मिचेर ठाटीकाँध पिपल चौतारा प्याडुल्ली हुँदै मटेला लिन लागिएको छ ।
ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही दुई नम्बर वडा अध्यक्ष रुपलाल विश्वकर्माले उक्त नियम मिचेर लिन लागेको वडा नम्बर १ का वडा सदस्य मिन खनालले बताए ।
उनले भने, ‘वैशाख १६ गते सबैजना बसेर ठाटीकाँध भैरवस्थान प्याडुल्ली हुँदै मटेला जोड्ने निर्णय भएपनि गाउँपालिका अध्यक्ष शाही र वडाध्यक्ष रूपलाल विश्वकर्माको स्वार्थले पहिलेको निर्णय कुल्चेका छन् ।’
गाउँपालिका अध्यक्ष शाही र वडाअध्यक्ष विश्वकर्माको स्वार्थले गर्दा दुई वर्ष अघिदेखि सडकको नयाँ ट्रयाक खोल्न रोकिएको थिएन । ठाटीकाँध भैरवस्थान प्याडुल्ली हुँदै मटेला जोड्ने भन्ने सहमति भएको थियो । सहमति भएपनि अहिले दादागिरी पावर पहँचका आधारमा जनताको निर्णयलाई लत्याएर अघि बढ्न खोजिरहेको स्थानीय खगेन्द्र शाहीको भनाइ छ ।
गत वैशाख पहिलो साता प्रशासनिक मार्गको भैरवस्थान–प्याडुल्ली खण्डको नयाँ ट्रयाक खोल्ने क्रममा वडा नम्बर १ र २ का स्थानीयले आन्दोलन नै गरे । पछि प्रशासन र सडक डिभिजनले काम रोकेपछि पहिले उल्लेख गरिएकै ठाउँबाट सडक लैजाने सहमति भएको थियो ।
सोही निर्णयअनुसार काम संचालन गरियो । त्यसपछि गाउँपालिकाकै बजेटबाट पिपल चौतारा प्याडुल्ली ट्रयाक ओपन गरेपछि गाउँपालिका अध्यक्ष र वडा अध्यक्षले पुरानो निर्णय मिचेको स्थानीय शाहीको भनाइ छ ।
स्थानीय नागरिक र जनप्रनिधि बसेर गरेको निर्णयलाई कुल्चेर अघि बढ्ने कोसिस गरे आफूहरुले पुनः आन्दोलन गर्ने शाहीले चेतावनी दिए । यता गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई यो विषयमा जानकारि लिन खोज्दा आफूलाई कुनै जानकारी नभएको बताए । उनले यसबारे बुझेर जानकारी दिने बताए ।








