दैलेखमा कर्णाली प्रदेशकै पहिलो टिस्युकल्चर ल्याब निर्माण

दैलेख – जिल्लाको गुराँस गाउँपालिकामा दुई करोड लगानीमा कर्णालीकै पहिलो आलुको मूल बीउ उत्पादन गर्न टिस्युकल्चर ल्याब निर्माण गरिएको छ ।

कृषिको उर्भरभूमि मानिएको दैलेखको घोडाबासमा कृषकलाई व्यावसायिक बनाउन र उनीहरुको आम्दानी वृद्धि गर्न गाउँपालिकाले ल्याब निर्माण गरेको हो ।

गुराँस गाउँपालिकाको एक करोड ९५ लाख र नेपाल कृषि विकास फर्मको साझेदारीमा निर्माण गरिएको गाउँपालिका अध्यक्ष खेमराज ओलीले जानकारी दिए ।

टिस्युकल्चर, कलमी तथा हाइब्रिट प्रविधिबाट विरुवाहरु उत्पादन गर्ने उद्देश्यले ल्याब निर्माण गरिएको हो । ल्याबको ९० प्रतिशत काम सकिएको छ । टिस्युकल्चर ल्याबबाट वार्षिक रुपमा आलुको पूर्व मूल बीउ १० लाख दाना र पाँच लाख फलफूलका विरुवा उत्पादन गर्ने योजना छ ।

ल्याबबाट उच्चस्तरीय र स्वस्थ गुणस्तरीय आलुको शुद्ध मूल बीउ सस्तो सुलभ रुपमा पाइने अध्यक्ष ओलीको भनाइ छ । ‘कृषकले बाहिर खरीद गरेको बीउभन्दा ल्याबको बिऊ गुणस्तरीय हुन्छ र उत्पादनमा वृद्धि गर्छ,’ ओलीले भने, ‘ल्याबबाट उत्पादित बीउ शतप्रतिशत स्वस्थ हुने हुँदा खेर जाँदैन । कृषकहरुलाई खेती गर्न सहज हुन्छ बीउ पनि सस्तो हुन्छ ।’

गुराँसका दुई हजार आठ सय कृषकहरुलाई व्यावसायीक बनाउन र उनीहरुको आयस्तर वृद्धि गर्न ल्याब निर्माण गरिएको ओलीको भनाइ छ । ‘महंगोमा बीउ खरिद गर्न बाध्य कृषकलाई ल्याबबाट उत्पादित बीउ सहुलियतमा उपलब्ध गराउने छौं,’ अध्यक्ष ओली भन्छन्, ‘वर्षौदेखि कृषिमा लागेका किसानहरुलाई यो प्रविधिबाट उपलब्ध हुने बीउले आम्दानीको स्तर बढ्ने अपेक्षा छ ।’

ल्याबबाट आलुको पूर्व बीउ उत्पादन असोजदेखि सुरु गर्ने तयारी छ । तर हाइटेक नर्सरीबाट उत्पादन गरिएका फलफूलका विरुवाहरु हाल ४८ जिल्लामा पठाउने गरिएको छ । मुख्यगरी, कर्णाली र लुम्बिनी प्रदेशमा गुराँसेको बीउ निर्यात भइरहेको छ । पहाडी हावापानीमा फल्ने फलफूलका विरुवा उत्पादन गर्ने ल्याबको लागत निर्माण चार करोडको हो ।

योमध्ये गुराँस गाउँपालिकालको एक करोड ९५ लाख र कृषि विकास फार्मको दुई करोड पाँच लाख रहेको छ । ल्याबबाट हुने आम्दानीको २० प्रतिशत गुराँस पालिकाको राजश्वमा जम्मा हुने र बाँकी ८० प्रतिशत फार्मले लिनेछ । ल्याब निर्माणसँगै प्रत्यक्ष रुपमा १७ जना रोजगारीमा जोडिएका छन् । २१ वर्षका लागि भाडामा लिएको जग्गा ७० रोपनी रहेको छ ।





error: Content is protected !!