अवैध सम्बन्धबाट बच्चा जन्म, १० महिना पुगेपछि अपहरण

जुम्ला – दश महिनाको बच्चा अपरहण गरी बेपत्ता बनाएको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । हिमा गाउँपालिका–३ जुम्लाका २५ वर्षीय दानबहादुर रोकायलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार एयरपोर्ट चोकबाट पक्राउ गरेको हो ।

जिप्रका सुर्खेतका अनुसन्धान अधिकृत एवं प्रहरी निरीक्षक कनकबहादुर शाहीले पक्राउ परेका अभियुक्त रोकायाले बच्चा आफूले लिएको स्वीकार गरिसकेको बताए । अपहरित बच्चा भने अपरिचित मान्छेलाई दिएकाले अहिले आफूसँग नभएको बयान रोकायले दिएको प्रहरी निरीक्षक शाहीले बताए ।

जिल्ला प्रहरी कार्यालय जुम्ला प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले पीडितबाट बच्चा हराएको भनेर निवेदन आएको बताए । ‘घटना संवेदनशील छ,’ थापाले भने, ‘अनुसन्धानको क्रम भएकाले अहिले नै यहीँ हो भन्न सकिन्न । हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं ।’

अवैध सम्बन्धबाट जन्म

अपहरित शिशु अभियुक्तको वडाकै १९ वर्षीया किशोरीसँगको अवैध सम्बन्धबाट जन्मेको थियो । रोकायले अवैध सम्बन्ध राख्दाको समयमा युवती १८ वर्षको रहेको पाइएको छ । किशोरीले गत वर्ष कात्तिकमा शिशुलाई जन्म दिएकी थिइन् ।

यसपालि राहदेव मावि मोफ्ला जुम्लामा माध्यमिक शिक्षा परीक्षा दिएकी पीडितका किशोरी अहिले १९ वर्षकी भइन् । भदौ ३ गते अभियुक्तले आमाले बोलाएको भनेर झुक्याएर शिशु लगेर वेपत्ता पारेको पीडित किशोरीको आरोप छ । ‘राति ९ बजे तिम्रो आमाले बोलाएको भनेर आयो । म बच्चालाई ओछ्यानमा राखेर हिँडे । फर्किँदा बाबु थिएन । बच्चा हराएपछि कराए, सोधीखोजी गरे । तर भेटिएन । प्रहरीलाई खबर गरे । अहिलेसम्म बच्चा भेटिएको छैन,’ उनले भनिन् । अभियुक्त रोकायले आफूलाई आमाले बोलाएको भनेर झुक्याएर शिशु लगेको उनको आरोप छ ।

पीडित परिवारका अनुसार गाउँपालिकामा तालिम दिन्छु भनेर रोकायले किशोरीमाथि प्रलोभनमा पारेर जबरजस्तीकरणी गरेका थिए । त्यहीँ सम्बन्धका कारण बच्चा जन्मियो । पीडित किशोरीले भनेकी छन्, ‘म १८ वर्षकी हुँदा जागिर दिन्छु भनेर जबरजस्ती करणी गर्‍यो, हामी कमजोर परिवार पहुँच छैन । जबरजस्ती मिलाउन दबाब दियो । त्यो पनि सहेँ । अहिले मेरो बच्चालाई अपहरण गरी बेपत्ता बनायो ।’ उनले आफ्नो बच्चा फर्काइदिन प्रहरीसँग हारगुहार गरेकी छन् ।

आरोपित युवा पक्राउ परिसकेकाले थप अनुसन्धानका लागि आइतबार जुम्ला पठाइने सुर्खेत प्रहरीले जनाएको छ ।





error: Content is protected !!