जुम्लामा बालविवाह बन्यो चुनौती, एक वर्षमा ८६० किशोरी गर्भवती

जुम्ला – सानै उमेरमा विवाह गर्ने परम्परामा परिवर्तन नआउँदा जिल्लामा बालविवाह न्यूनीकरणमा चुनौती थपिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको गत बर्षको तथ्यांकअनुसार जिल्लामा बालविवाहको अवस्था डरलाग्दो छ । स्थानीय तहमा बालविवाहको कुनै तथ्यांक नभए पनि स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने २० बर्षमुनिका किशोरीको अवस्था हेर्दा जिल्लामा बालविवाह भयावह देखिन्छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको आर्थिक वर्ष ०७७/ ०७८ को रिपोर्टअनुसार एक वर्षमा २० बर्षभन्दा मुनिका गर्भ जाँच गराउने किशोरीको संख्या ८६० छ ।

जुम्लाको सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा बालविवाह रहेको तथ्यांकले देखाउँछ । नगरपालिकामा २० वर्ष मुनिका १९० किशोरीले गर्भ जाँच गराएका छन् । तातोपानी गाउँपालिकामा भने सबैभन्दा कम संख्या छ । यहाँ ६६ जना बालिकाले गर्भ जाँच गराएका छन् । त्यस्तै पातारासी गाउँपालिकामा १३४ जना, कनकासुन्दरीमा ९० जना, सिँजा गाउँपालिकामा ६८ जना, गुठिचौर गाउँपालिकामा ९५ जना, तातोपानीमा ६६ जना, तिलामा १४० जना र हिमामा ७७ जना बालिकाले गर्भजाँच गराएका छन् ।

बालविवाहको सहयोगी मोबाइल र फेसबुक

पछिल्लो समय बालविवाहको स्वरुप फेरिएको छ । पहिले बालविवाह समाजको परम्परा र रुढीवादी संस्कारले अभिभावकले नै गराउथे । अहिले प्रविधिको युगमा मोबाइल र सामाजिक सञ्जाल ९फेसबुक० सहयोगी बनेको अध्ययनमा देखिएको छ । बालबालिकाले एकअर्काप्रति आकर्षण र प्रेमका लागि मोबाइल र फेसबुकलाई प्रयोग गर्दा चुनौती थपिएको जानकार बताउँछन् ।

जिल्लामा सामाजिक सञ्जालको माध्यमबाट मायाप्रेमको जालमा परी बालविवाह गर्ने प्रचलन बढ्दै गएको छ । जसले किशोरीको स्वास्थ्यमा पनि चुनौती बढाएको छ । गत बर्ष १८० किशोरीले कम तौल भएको बच्चालाई जन्म दिए । जुन आमा र बच्चाकै लागि खतरा हो । यो पनि बालबिवाहकै उपज भएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले बताए । ‘बालविवाहले महिला स्वास्थ्य र बालस्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ । सबैभन्दा बढी महिलामा स्वास्थ्य समस्या देखिनु कम उमेरमा गरिने विवाह हो,’ सापकोटाले भने । उनकाअनुसार किशोरीबाट ५५ जना बच्चा मृतक जन्मिएका छन् ।

२० मुनिका ४३ जना किशोरीले गरे गर्भपतन

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा एक वर्षको अन्तरालमा २० वर्षमुनिका ४३ जनाले गर्भपतन गराएका छन् । ३० जनाले औषधि सेवन गरेर १३ जनाले सुरक्षित गर्भपतन गरेको तथ्यांक छ । यो तथ्यांक हरेक स्थानीय तहबाट स्वास्थ्य संस्थाले दिएको प्रतिवेदनका आधारमा तयार पारिएको स्वास्थ्य बताइएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष नेत्र शाहीले जुम्लामा बाल विवाह रोक्न चुनौतीपूर्ण रहेको बताए । उनले परम्परा र मान्यतालाई परिवर्तन गर्न समय लाग्ने बताए । बालविवाहविरुद्धका अभियानमा भाषण गर्ने व्यक्ति नै सुटुक्क बालविवाह गराउने प्रवृत्ति रोक्न नसकिएको उनी बताउँछन् । ‘सामाजिक परम्परा र मान्यता एकैसाथ परिवर्तन नहुने हुँदा मानिसको सोचमा परिवर्तन ल्याउनुका साथै समाजलाई पनि सचेत बनाउनेतिर सबै निकायको ध्यान जान जरुरी छ,’ उनले भने ।

जुम्ला बालविवाह भयावह अवस्थामा भए पनि जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा हालसम्म एउटा बालविवाह सम्बन्धी मुद्दा दर्ता भएको छैन । मुलुकी अपराध संहिता २०७४ अनुसार बालविवाह गर्ने र गराउनेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ। परम्परागत मान्यता, अशिक्षा, कानुनबारे अनविज्ञता, गरीबी र प्रविधिको दुरुपयोगका कारण बालविवाह चुनौती बनेको सरोकारवालाको निष्कर्ष छ ।




सम्बन्धित समाचार


error: Content is protected !!