१५ हजार घरमा बिजुली

रुकुम पश्चिम ः जिल्लाका झन्डै १५ हजार घरमा बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र स्थानीयस्तरमै निर्माण भएका लघुजलविद्युत् आयोजनामार्फत जिल्लाका १४ हजार ९ सय घरमा विद्युतीकरण भएको हो ।
अहिलेसम्म रुकुम पश्चिममा झन्डै ७९ प्रतिशत घरमा विद्युत् सुविधा पुगेको छ । जसमध्ये नेपाल विद्युत् प्रधिकरणले ६७ प्रतिशत र स्थानीय लघु जलविद्युत्ले १२ प्रतिशत घरमा विद्युत् सुविधा पुर्याएका हुन् । प्राधिकरणको मुसीकोट वितरण केन्द्रका अनुसार सबैभन्दा बढी बाँफिकोट गाउँपालिका र सबैभन्दा कम आठबीसकोट नगरपालिकामा विद्युतीकरण भएको छ । वितरण केन्द्र प्रमुख त्रिलोलन भट्टराईले बाँफिकोटमा ९५, मुसीकोटमा ९२ र त्रिवेणी गाउँपालिकामा ८० प्रतिशत घरमा विद्युत् सुविधा पुगेको बताए । उनका अनुसार सानीभेरी गाउँपालिकामा ७६, चौरजहारी नगरपालिकामा ६५ प्रतिशत र आठबीसकोटमा ४७ प्रतिशत घरमा विद्युत् सुविधा पुगेको छ ।
एक वर्षमा मात्र २ हजार ५ सय घरमा बिजुली जडान भएको उनले जानकारी दिए । गत आर्थिक वर्षमा जिल्लाको सबैभन्दा विकटमध्यको आठबीसकोट नगरपालिका–३ खदीमा पनि विद्युत् विस्तार गरिएको छ । आठबीसकोटमा खदीसहित ९ नम्बर वडाको राडी, सानीभेरी गाउँपालिका–१ चाइनाबगर, २ नम्बर वडाको गिठाकोट र ९ को सिम्लीमा गत वर्ष विद्युत् सुविधा पुगेको हो ।
यस्तै, मुसीकोट–१४ बाटुलेचौर, ८ नम्बर वडाको ग्याम्माखोला, खालबोट, चौरजहारी नगरपालिकाको अम्लाटाकुरा, आमडाँडा, बेतिनी र बाँफिकोटको बाँसथलामा बिजुली बलेको छ । गत वर्ष २७ लाख २५ हजार युनिट विजुली बिक्री भएकामा ३ करोड ५६ लाख रुपैंयाँ राजस्व संकलन भएको वितरण केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार कोरोना महामारीका कारण विद्युत् विस्तारमा केही समस्या देखिएको छ । जिल्लामा सल्यानको श्रीनगर र जाजरकोटको जगतिपुर गरी दुईवटा सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेको केन्द्र प्रमुख भट्टराईले बताए । उनका अनुसार मुसीकोट नगरपालिका–३ धैरनीचौरमा पनि सबस्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।










