४२ सय मिटरमा फुटबल

डोल्पा ः डोल्पोबुद्ध गाउँपालिका–६ मा ४ हजार २ सय मिटर उचाइमा फुटबल प्रतियोगिता सञ्चालन गरिएको छ । चार दिनसम्म आयोजित प्रतियोगितालेगाउँपालिका नै खेलकुदमय बनेको थियो ।

कोरोना महामारी कायमै रहेका बेला माथिल्लो डोल्पामा निर्धक्क दैनिकी गतिविधि भइरहेका छन् । गाउँमा डोल्पोबुद्ध स्मारक कप सम्पन्न भएको हो । हिमाली क्षेत्रमा पनि फुटबल हुन्छ भन्ने सन्देश प्रवाह गर्न र खेल क्षेत्रको विकासका लागि भन्दै कुनख्येन डोल्पो युवा क्लबले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा डोल्पोबुद्ध गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो ।

फुटबलमा विभिन्न ९ समूहले सहभागिता जनाएका थिए । चार दिन चलेको प्रतियोगिताबाट डोल्पोबुद्ध गाउँपालिका–१ स्थित धो फुटबल युवा क्लब प्रथम भयो । फाइनमा सोही गाउँपालिका–६ को कुनख्येन फुटबल युवा क्लबलाई १ का विरुद्ध २ गोल गरेर धो क्लब पहिलो बनेको हो । त्यस्तै शेफोक्सुन्डो गाउँपालिका–४ को टासीनाम्दो फुटबल क्लब तेस्रो भएको छ ।

प्रतियोगितामा घोडदौडको पनि आयोजना गरिएको थियो । प्रतियोगिता डोल्पोबुद्ध गाउँपालिका–४ को घोडाले जितेको छ । प्रतियोगितामा ७ वटा घोडा दौडमा सहभागी भएको थिए । फुटबल र घोडदौड प्रतियोगिताका विजयी सबैलाई नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको आयोजक युवा क्लबका सदस्य पेमा गुरुङले जानकारी दिए । उनका अनुसार अरू सबै दैनिकी छाडेर स्थानीयवासी प्रतियोगितामा रमाए । ‘कोरोना त होला तै पनि यहाँको दैनिकी सामान्य नै छ,’ उनले भने, ‘त्यही सामान्य दैनिकी छ भन्ने कुरा यो प्रतियोगिताले पनि देखाएको छ ।’

हिमालमा पनि खेल हुन्छ भन्ने उदाहरण दिन प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष निमाग्याल्जेन गुरुङले बताए । उनका अनुसार खेल क्षेत्रको प्रवर्द्धनका लागि पनि प्रतियोगिता सहयोगी बनेको छ । ‘डोल्पो क्षेत्रको खेलकुदलाई गति दिन पनि प्रतियोगिता सफल बन्यो,’ उनले भने, ‘आगामी वर्षमा पनि यसलाई निरन्तरता दिइनेछ ।’





error: Content is protected !!