हुम्लाको याङ्चु बजारमा भेटिएको अवैध चिनियाँ मदिरा प्रहरीद्वारा नष्ट

हुम्ला, ३१ साउन । हुम्लाको मध्यमा रहेको खार्पुनाथ गाउँपालिको केन्द्र याङ्चु बजारमा एक लाख ६८ हजार मूल्यको अवैध चिनियाँ मदिरा प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

प्रहरी चौरी याङ्चुले स्थानीयबाट पाएको सूचनाका आधारमा होटलको खानतलासी गर्दा मदिरा बरामद गरेको हो ।

याङ्चु बजारमा सञ्चालनमा आएका चार वटा होटलमा प्रहरीले खोजतलास गर्दा २१० बोतल अवैध चिनियाँ मदिरा बरामद गरेको प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले जानकारी दिए । चार वटामध्ये एक होटलमा एक बोतल र बाँकी २०९ बोतल तीन वटा होटलबाट बरामद गरिएको हो ।

चिनियाँ मदिराको मूल्य प्रतिबोतल ८ सय रुपैयाँ पर्छ । उक्त मदिरा एक लाख ६८ हजार मूल्यको रहेको प्रहरीले जनाएको छ ।

पहिलो पटक बरामद भएकाले होटललाई माफी दिइएको र पुनः भेटिए आवश्यक कारबाही गर्ने चेतावनी दिइएको डीएसपी शर्माले बताए ।

बरामद भएको सबै मदिरा जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ । चीनसँगका नाकाहरु हिल्सा, लिमी र चुवाखोला बन्द रहेका बेला चिनियाँ मदिरा कसरी नेपाल भित्रियो भन्नेबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!