‘श्रीमतीका लागि ब्रत बस्नु भएको छ ’ यसो भन्छन् नेपाली सेलिब्रेटी

अरुणा भट्टराई

काठमाडौं– आज साउनको पहिलो सोमबार ।

साउन महिना अर्थात भगवान शिवको महिना ।

सोमबार उनकै बार ।

अनि साउनको सोमबार भगवान शिवलाई खुशी बनाउने एउटा पवित्र दिन ।

आज देशैभरी एक प्रकारको चाडपर्वको माहौल छ, उत्सवको माहौल छ तर मन्दिर परिसरमा होइन, आ–आफ्नै घर–घरमा ।

कोरोना भाइरसको संक्रमणको जोखिमका कारण भगवान शिवका मन्दिरमा दर्शनार्थीहरुको घुईँचो विगतका वर्षहरुभन्दा निश्चय पनि कम छ ।

तर, आज बिहानैदेखि सामाजिक सञ्जाल भने रातो मेहन्दीले सजिएका हत्केला, हरिया चुराले सजिएका नाडी, पहेंला पोतेले सजिएका गला अनि हरियै पहिरन तथा श्रृंगारले सजिएका नारीहरुका तस्बिर तथा भिडियोहरुले धपक्कै बलेका छन् ।

फेसबुक र इन्स्टाग्राममात्र होइन टिकटकमा पनि हरिया पहिरनमा छमछमी नाचेका दिदी बहिनीहरुको तस्बिर तथा भिडियोले जो कोहिलाई मनोरञ्जन दिइरहेको छ ।

आज साउनको पहिलो सोमबार भएकाले अधिकांश महिला दिदी–बहिनीहरुले ब्रत बसेका छन् ।

भगवान शिवको आरधना गर्दै विवाहित महिलाले श्रीमान् को लामो आयू तथा अविवाहित युवतीले असल श्रीमान् पाउने कामना गर्दै ब्रत बस्ने चलन छ ।

यसैबीच, कलाकर्मीले केही पुरुष सेलिब्रेटीहरुलाई ब्रत सम्बन्धि एउटा जिज्ञासा राखेको छ ।

हाम्रो जिज्ञासा छ– ‘साउनमा अधिकांश महिलाहरु आफ्ना श्रीमान् का लागि ब्रत बस्छन् । के तपाईं पनि आफ्नी श्रीमतीका लागि ब्रत बस्नु भएको छ ?

हामीले यो जिज्ञासा सर्वप्रथम लोकप्रिय अभिनेता तथा निर्देशक दीपकराज गिरी लाई राख्यौं ।

गिरीले रोचक जवाफ दिनु भएको छ ।

उहाँको भनाइ छ–‘ब्रत त बसेको छु । धेरै वर्षदेखि बस्दै आइरहेको छु, तर यो ब्रत श्रीमतीका लागि मात्रै हो पनि भन्न सकिन्न, किनकि म ब्रत आफ्नै आत्मा शुद्धिकरणका लागि बस्छु ।’

‘श्रीमतीमात्र नभइ आफू लगायत सम्पूर्ण परिवारको राम्रो होस् भन्ने कामना पनि हुन्छ, अभिनेता गिरी भन्नु हुन्छ –‘ब्रतको अनुभव सधैं आनन्ददायक हुने गरेको छ ।’

अभिनेता गिरी अनुमान गर्दै भन्नु हुन्छ – ‘विवाहअघि मेरी श्रीमतीले महादेवजस्तो श्रीमान् पाउँ भनेर ब्रत बसेकी थिइन् होला ।’

‘तर विवाहमा भने म हनुमान जस्तो श्रीमान् पाइन्, गिरीको भनाइ छ–‘त्यसैले मागेको ठ्याक्कै उस्तै पाइन्छ भन्ने त हुन्न । त्यही पनि ईश्वर भक्तिले मन–मस्तिष्कमा एक प्रकारको आनन्द मिल्छ, त्यसको महत्व छुट्टै छ ।’

गायक स्वरुपराज आचार्य भन्नु हुन्छ–‘मैले नढाँटी भन्नु पर्दा मेरी श्रीमतीज्यूका लागि ब्रत नै बसेको चाहिँ छैन ।’

‘तर मेरो मान्यता चाहिँ प्रत्येक पुरुषहरुले ३६५ दिन नै आमा, श्रीमती, भाउजु, घरका महिला सदस्यहरुका साथै संसारभरीका सम्पूूर्ण महिलाहरुलाई सम्मान र खुशी दिन सक्नु पर्छ, गायक स्वरुपराजको भनाइ छ–‘मेरो पनि सधैं यही नै प्रयास रहन्छ कि ब्रत नबसि पनि महिलाहरुको सम्मान गर्न सकौं र खुशी दिन सकौं ।’

चलचित्रकर्मी निर्मल शर्मा कुनै पनि ब्रत बस्नु हुन्न, न त अहिलेसम्म ब्रत बस्नु नै भएको छ ।

‘पाप नगर्नु नै धर्म हो भन्ने विश्वासमा हिंडछु, चलचित्रकर्मी शर्माको भनाइ छ –‘साउनमा माछा–मासु छोड्नु भन्दा खराब बानी छोड्नु चाहिँ धर्म हो भन्ने मेरो आफ्नो बुझाइ हो ।’

यद्यपि, चलचित्रकर्मी शर्माले ब्रत बस्नेहरुको आस्थाप्रति भने उच्च सम्मान व्यक्त गर्नु भएको छ ।

दर्शकमाझ लोकप्रियताको शिखरमा रहेको रियालिटी शो ‘कमेडी च्याम्पियन’ का निर्देशक विशाल भण्डारी भन्नु हुन्छ –‘कामको व्यस्तताका कारणले गर्दा म चाहिँ ब्रत बस्न सकेको छैन । मेरी श्रीमती ब्रत बस्छिन्, तर म चाहिँ उनलाई ब्रत नै नबस्न सल्लाह दिन्छु ।’

निर्देशक भण्डारीका अनुसार उहाँ श्रीमान् को आयू लामो हुने अथवा राम्रो जीवनसाथी पाइने भन्ने कुरा मान्नु हुन्न ।

‘हरेक सम्बन्ध राम्रो–नराम्रो हुने समझदारीले गर्दा हो, निर्देशक भण्डारी भन्नु हुन्छ –‘राम्रो अथवा नराम्रो सुन्दरताको कुरा म मान्दिन, तर श्रीमान्–श्रीमती पाउने कुरा भनेको आफ्नो आचरणमा भरपर्छ जस्तो लाग्छ । आफ्नो आचरण र च्वाइस जस्तो छ, जोडी पनि त्यसै पाउने त हो, त्यसैले ब्रत नबसौं, आफूमै सुधार ल्याउँ ।’

निर्देशक भण्डारी आफू राम्रो श्रीमान् हुन सकेको खण्डमा श्रीमती पनि राम्ररी नै प्रस्तुत हुन्छिन् भन्दै आफू बेइमान, बदमास भएको खण्डमा उनले पनि खराब व्यवहार नै देखाउनेछिन् भन्ने मान्यता राख्नु हुन्छ ।

फिल्म निर्देशक दीवाकर भट्टराई पनि अहिलेसम्म ब्रत बस्नु भएको छैन ।

‘यद्यपि यो साउन महिनाभरी म पूर्ण रुपले शाकाहारी खानेकुरा मात्र खाँदैछु, निर्देशक भट्टराई भन्नु हुन्छ –‘यसबाहेक भगवान शिवजीको पूजा गर्ने योजना बनाएको छु ।’

निर्देशक भण्डारी झैं निर्देशक भट्टराईले पनि आफ्नी धर्मपत्नीलाई ब्रत नबस्न सुझाव दिनु भएको छ ।

कलाकर्मी डट कमबाट ।





error: Content is protected !!