नेपाली पत्रकारिता इतिहासमै नयाँ पत्रिकाको नौलो अभ्यास, अब अनलाइन सामग्री किनेर पढ्नुपर्ने

काठमाडौं ः नेपाली पत्रकारिता इतिहासमै नयाँ पत्रिकाले फरक अभ्यास सुरु गर्ने भएको छ । देशकै लोकप्रिय राष्ट्रिय दैनिक नयाँ पत्रिकाले ई-पेपर लगायतका अनलाइन सामग्री सब्सक्रिप्सनमा आधारित अर्थात सशुल्क बनाउने भएको हो ।

कुराकानीमा नयाँ प्रकाशन प्रालिका अध्यक्ष तथा नयाँ पत्रिका दैनिकका प्रधान सम्पादक कृष्णज्वाला देवकोटाले अब ई-पेपर र पुरा अनलाइन सामग्री पढ्न न्यूनतम शुल्क तिर्नुपर्ने बताए ।

‘नयाँ पत्रिकाको ई-पेपर र अनलाइनमा प्रकाशित हुने पुरा सामग्री पढ्नका लागि निश्चित मूल्य तोक्दै छौँ,’ उनले भने, ‘यसको अर्थ नयाँ पत्रिका डेली अनलाइनमा आउने सम्पूर्ण सामग्रीका लागि पैसा तिर्नुपर्छ भन्ने पनि होइन । अनलाइनमा प्रकाशित हुने सामग्रीको केही अंश निःशुल्क पढ्न सकिनेछ । तर पुरा सामग्री पढ्न भने सब्सक्रिप्सन लिनुपर्ने हुन्छ ।’

प्रधान सम्पादक देवकोटाका अनुसार नयाँ पत्रिका दैनिकको सब्सक्रिप्सन बिहीबारदेखि नै सुरु हुनेछ । त्यससँगै सब्सक्रिप्सनको मूल्य तथा भुक्तानीका विकल्प समेत सार्वजनिक हुने बताइएको छ । नेपालभित्रका पाठकले डिजिटल वालेट तथा देश बाहिरका पाठकले डलर कार्डबाट भुक्तानी गर्न सक्नेछन् ।

‘पाठकलाई पत्रिका पढ्ने बानीतर्फ फर्काउनका लागि हामीले यो अभ्यास सुरु गर्न खोजेका हौं,’ प्रधान सम्पादक देवकोटाले भने, ‘पाठकबाटै आम्दानी गर्ने दिशामा नगएसम्म सञ्चार माध्यम स्वतन्त्र हुन सक्दैनन् । त्यसैले यो अहिलेको ट्रेन्ड भत्काउने प्रयास पनि हो ।’

नेपालमै नयाँ अभ्यास भएकाले सब्सक्रिप्सन मोडल चुनौतिपूर्ण रहेको उनको स्वीकारोक्ति छ । पाठकहरूको प्रतिक्रियाको आधारमा आफूहरू अगाडि बढ्ने समेत प्रधान सम्पादक देवकोटाले बताए ।





error: Content is protected !!