पावर सेयरिङ मा ओली असहमत, मेरियट वार्ता निष्कर्षविहीन

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल निष्कर्षविहीन भएको छ । ओली र नेपालबीच दुई घण्टा भएको छलफलमा कुनै सहमति जुट्न नसकेको हो ।
बैठकमा अध्यक्ष ओली पावर सेयरिङु मा सहमत नभएपछि एमाले विवाद समाधानमा कुनै प्रगति हुन नसकेको बैठकमा सहभागी एक नेताले बताए । ‘खासगरी अध्यक्ष ओली ुपावर सेयरिङु मा सहमत नभएपछि वार्ता निष्कर्षविहीन बन्यो,’ ती नेताको भनाइ छ ।
तथापि माधव नेपाल पक्षका नेताहरु भने आफूहरुले कुनै भागवण्डा वा ‘पावर सेयरिङ’ खोजेको नभई पार्टीभित्र सम्मानजनक एकता र प्याकेजमा सहमति खोजेको बताउँछन् । नेपाल पक्षका एक कार्यदल सदस्यले भने, ‘हामीले पावर सेयरिङ खोजेको होइन ।’
उता ओली पक्षले भने जेठ २ मा फर्किसकेको दाबी गर्दै केन्द्रीय कमिटीको बैठकमा आउन आग्रह गर्दै यसबाहेक नेपाल पक्षसँग कुनै पनि डिल नगरिने बटमलाइन बनाइएको छ ।
बुधबार दुई नेतावीचको कुराकानीमा यसैमा कुरो अड्किएको स्रोतले बतायो ।
मेरियट भेटवार्ताअघि बुधबार दिउँसो ओली र नेपालबीच फोन संवादसमेत भएको थियो । उक्त भेटमा ओलीले गम्भीर सङ्कट आइलागेको नेता नेपाललाई बताएका थिए । तर साँझको भेटमा ओलीले पूर्ववत् अडानबाट पछि नहट्ने अडान राखे पछि सहमति हुन सकेन । मेरियटमा नेताहरुबीच भएको छलफलपछि नेता भीम रावल र सुरेन्द्र पाण्डेले भेटवार्ताले समस्या समाधान गर्न सहज हुने प्रतिक्रिया मात्रै दिए ।
होटल मेरियटमा ओली र नेता नेपाललाई पार्टी विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरूले कार्यदल तहमा भएका सहमति र हुनसक्ने प्रगतिबारे ब्रिफिङ गरेका थिए । ओली र नेपाललाई कार्यदलका नेताहरू नेपाल पक्षका कार्यदल संयोजक भीम रावल, सदस्य सुरेन्द्र पाण्डे तथा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङ छलफलमा सहभागी भएका थिए ।
बैठकस्थलबाट बाहिरिने क्रममा बरिष्ठ नेता नेपालले पत्रकारलाई केही पनि प्रतिक्रिया दिन मानेनन् । नेता नेपालभन्दा केही ढिलो गरी राति ९ बजेर ५२ मिनेटमा होटलबाट बाहिरिएका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मिडियालाई कुनै प्रतिक्रिया दिएनन् ।
कार्यदलका सदस्य भीम रावलले पत्रकारहरुसँग भने, ‘कार्यदलका तर्फबाट कुराकानी गरिरहेको यहाँहरुलाई थाहा छँदैछ, शीर्ष नेताहरुवीच कुराकानी भयो । सकारात्मक दिशामा कसरी लैजाने भन्नेमा कुराकानी भइरहेको छ । फेरि कुराकानी हुनेछ । कुराकानीलाई गहिराइमा लानुपर्ने महसुस भएको छ । फेरि पनि कुराकानी गर्ने छौं । जति पनि वार्ता भइरहेको छ, समस्या समाधानका लागि भइरहेको छ ।’
कार्यदलका अर्का सदस्य सुरेन्द्र पाण्डेले ओली र नेपालवीच एक्लाएक्लै कुराकानी भएको र त्यो सकारात्मक भएको बताए । अब विहीबार पुनः कार्यदलको बैठक बस्ने नेता पाण्डेले बताए ।
कार्यदलका अर्का सदस्य भीम रावलले पनि सहमतिको प्रयास जारी रहने बताएका छन् । दुई नेताको भेटवार्तापछि उनले सञ्चारकर्मीहरुलाई दिएको प्रतिक्रिया जस्ताको तस्तै ः
हामीले कार्यदलको तर्फबाट कुराकानी गरिरहेको यहाँहरुलाई थाहै छ । यही सन्दर्भमा आज दुई शीर्ष नेताहरुको बीचमा कुराकानी भयो । समग्रतामा पार्टीको एकतालाई कसरी अगाडि बढाउने र हामीले अहिलेसम्म जे कुरा गर्दै आएका छौं, त्यसलाई एउटा सकारात्मक परिणाममा कसरी लैजाने भन्ने सिलसिलामा हामीले आजको यो कुराकानी भएको पाएका छौं । अब फेरि यस सम्बन्धमा कुराकानी हुनेछ । लामो समयदेखि विभिन्न समस्यामा अलि गम्भीर रुपमा कुराकानी गर्नुपर्ने र समस्या समाधानका लागि अदनुकुल गहिराईमा लैजानुपर्ने आवश्यकता हामीले बोध गर्दै आएका छौं । त्यसै अनुरुप कार्यदलमा हाम्रो छलफल जारी छ, आज नेताहरुको बीचमा पनि वार्ता भएको छ । अब फेरि हामीले विषयमा प्रवेश गरेर कुरानी गर्ने छौं, नेताहरुको बीचमा पनि कुरानकानी हुनेछ । यसको उद्देश्य भनेको समस्या समाधान गर्न सहमतिमा पुग्ने हो ।










