बुद्ध एयरको सुर्खेत उडान प्रभावित नहुने

सुर्खेत । सरकारले आन्तरिक हवाई उडान खोल्ने निर्णय गरेसँगै बिहीबारदेखि आन्तरिक हवाई यातायात सञ्चालनमा आउँदैछ । देशका विभिन्न स्थानमा रहेका विमानस्थलमा नियमित उडानमा भारी कटौती गरेर हवाइ यातायात सञ्चालन गरिँदैछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि दैनिक ६४ वटा उडान हुने गरी तालिका तयार पारेको छ ।
गएको २० वैशाखमा बन्द भएको आन्तरिक उडान असार १७ गतेदेखि सञ्चालन गर्दा प्रतिघण्टा ५ वटा मात्र उडान हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको उडान तालिकाअनुसार वायुसेवा कम्पनीहरुले टिकट बुकिङ थालिसकेका छन् ।
काठमाडौं–सुर्खेत उडान भर्दै आएको बुद्ध एयरले भने सुर्खेतको उडान तालिका नियमित सञ्चालन हुने जनाएको छ । सुर्खेतमा दैनिक एक उडान गर्ने र त्यसमा कुनै कटौती नगरिएको जनाएको छ । बुद्ध एयरले दैनिक ३१ उडानको अनुमति पाएको छ । बुद्ध एयरले काठमाडौंबाट विराटनगरसम्म दैनिक चार वटा उडान गर्नेछ ।
तुम्लिङटार र सुर्खेतका लागि एक उडान राखिएको छ भने भद्रपुरका लागि तीन उडान तय गरेको छ । सिमरामा दैनिक तीन, जनकपुरमा दैनिक तीन, पोखरामा तीन, भैरहवामा पाँच, नेपालगञ्जमा तीन र धनगढीमा दुई उडान गर्ने गरी तालिका मिलाइएको छ ।
यति एयरलाइन्सले दैनिक १५ उडान गर्ने जनाएको छ । यतीले भद्रपुरमा दुई, विराटनगरमा तीन, जनकपुरमा दुई, सिमरामा दुई, पोखरामा दुई, भैरहवामा दुई, नेपालगञ्जमा दुईवटा उडानको अनुमति पाएको छ ।
श्री एयरलाइन्सले दैनिक सात उडानको अनुमति पाएको छ । श्री एयरलाइन्सले भद्रपुरमा दैनिक एक, विराटनगरमा एक, भैरहवामा एक, नेपालगञ्जमा र धनगढीमा दैनिक दुई÷दुई उडान गर्नेछ । सौर्य एयरको जहाज भने काठमाडौंबाट भद्रपुर, विराटनगर र भैरहवाका लागि एक÷एक उडानमा हुनेछ ।
दुर्गम भेगमा उडाउने कम्पनीले भने काठमाडौंबाट दैनिक ८ वटा उडानको अनुमति पाएका छन् । अहिले काठमाडौंबाट तारा एयर र समिट एयरले मात्र दुर्गममा उडान गर्दै आएका छन् । सीता एयरले दुर्गममा उडाउने भएपनि उसले क्षेत्रीय विमानस्थललाई आधार बनाएर दुर्गममा सेवा दिइरहेको छ ।



