डोल्पा, कोटसेराको रोपाइँ मेलाः विरोधपछि दलितको काँध चढ्ने परम्परा अन्त्य

डोल्पा ः विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण हिमाली जिल्ला डोल्पा पनि जोखिममा पर्दै गइरहेको बेला यहाँको धान रोपाइँ मेलालाई भने छुन सकेन। लकडाउनबीच पनि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा यो वर्षको धान रोपाइँ मेला सम्पन्न भएको छ। त्रिपुराकोटस्थित आद्यशक्ति श्रीवाला त्रिपुरासुन्दरी भगवतीको कोटखौलामा रहेको कोटसेरा नामक गुँठीको जग्गामा धान रोपाइँसँगै मेला सम्पन्न भएको हो।

हली र रोपाहार खेतमा जोत्न र धान रोप्नमै मस्त थिए। लाग्छ उनीहरूलाई कोरोनाको रतिभर त्रास छैन। खेतका प्रत्येक कान्लामा सामाजिक दूरीको समेत ख्याल नगरी धान रोपाइँ हेर्नेहरूको बाग्लो उपस्थिति थियो। उनीहरू सबैको ध्यान रोपाहारले धान रोपाइँसँगसँगै सुरिलो भाकामा गाइरहेका गीतमै केन्द्रित थियो। धान रोप्दै खेतमा रोपाहार यसरी धान रोपाइँको गीत गाउँदै थिए।

रोप, रोप रोप्नेरीऔ असारमा गोडौली,

आरु फुल्यो ड्यौटी दिम्ला माइत गई ओडौली।

कोटसेरामा हुने धान रोपाइँमा पुजारीहरू हली ९सार्की दलित० को काँधमा चढेर हिलो छ्यापाछ्याप गर्ने र रोपाहार, पुजारीहरू लगायतले हिलो खेल्ने गरेको हेर्न टाढाटाढाबाट मानिसहरू आउने गर्छन्। तर विगतका वर्षमा पुजारीहरूले लस्करै रहेका दलितको काँधमा चढेर हिलो छ्याप्ने गरेको भए पनि सो परम्परा जातीय विभेद भन्दै चर्को विरोध हुन थालेपछि यस वर्षदेखि अन्त्य भएको छ। जातीय विभेदविरुद्धको अभियानमा लागेका बमबहादुर सार्कीले पुजारीहरूले अझै पनि जातीय विभेद गरेर दलितको काँधमा चढेर हेपाहा प्रवृत्ति देखाउने गरेकामा अहिलेदेखि यो प्रथाको अन्त्य गरिएको बताए। ‘अरू जातलाई काँधमा नचढ्ने दलितलाई मात्र काँध चढ्ने परम्पराको अन्त्य हुनुपर्ने थियो भयो। दलित अभियन्ता बमबहादुर सार्कीसहित केहीले दलितको काँध चढ्न पाइँदैन भनेपछि मन्दिरका रोलक्रमवाला पुजारी भानुचन्द्र उपाध्याय र दलितहरूबीच झन्डै एक घण्टा लामो विवाद भएको थियो,’ उनले भने, ‘देश पूर्ण संघीयतामा गइसक्दा पनि डोल्पामा अझै माथिल्लो जातले तल्लो जातिलाई घोडाखच्चडकै रूपमा हेर्ने गरेका छन्।’

यता पुजारी देवीकृष्ण उपाध्यायले दलित अभियन्ताले उठाएको माग समयसापेक्ष भए पनि परापूर्व कालदेखि चलिआएको चलन रीतिरिवाज पनि समाजको मूल कानून हुने बताए। उपाध्यायले भने, ‘परम्परालाई जीवन्तता दिन र संस्कृतिलाई बचाइराख्न जबरजस्ती नभई हलीहरूको स्वीकृति र मन्जुरीमा पुजारीहरूले खेतको बीचभागमा कपडाको पुतलीरूपी झन्डा रोप्नका लागि काँधमा चढ्ने र हिलो छ्याप्ने काम हुँदै आएकामा यो वर्षदेखि अन्त्य भएको बताए। भगवतीको कोटसेरामा ९ हल गोरु, ३२ जना रोपाहार, ३ जना बाउसे र २ जना कुनाकाप्चे गरेर ४१ जनशक्ति प्रयोग हुने गरेको र रोपाइँ मेलाको दिन सेरा ज्युलोबाट उब्जेको धानको खाना प्रत्येक घरधुरीलाई पुरी र सेलरोटी हलुवा प्रसादको रूपमा बाँड्ने चलन रहेको अर्का पुजारी लक्ष्मीप्रसाद उपाध्यायले बताए।

त्रिपुराकोटको टाँके डाँडामा अवस्थित श्रीवाला त्रिपुरासुन्दरी भगवती मन्दिर १११४ सालमा स्थापना भएको र १८७१ सालमा पुजारीको नाममा प्राप्त लालमोहरमा उल्लिखित ८ मुरीको कोटसेरा, २० मुरीको गल्लीस्थित गुठी जगा गरी २८ मुरी जग्गा गुठीको नाममा रहेको र १६औं शताब्दी पूर्वदेखि मन्दिरका पुजारी उदयराम उपाध्यायको पालाबाट रोपाइँ मेला लाग्ने गरेको पुजारी देवीकृष्ण उपाध्यायको भनाइ छ। यतिखेर भगवतीको कोटसेरा मात्र नभई डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रमा पर्ने कोटज्युलोमा रोपाहारले खेतमा धान रोप्दै सुरिलो भाकामा गाइरहेको देख्न र सुन्न सकिन्छ।





error: Content is protected !!