त्रैमासिक र अर्धवार्षिक परीक्षाको आधारमा बार्षिक नतिजा

जाजरकोट ःजाजरकोट, रुकुम पश्चिम र डोल्पाका स्थानीय तहले आन्तरिक मूल्यांकन गरेर वार्षिक नतिजा प्रकाशनको तयारी गरेका छन । सामुदायिक तथा निजी विद्यालय बन्द भएको लामो समय भइसकेको र नयाँ शैक्षिक सत्र सुरु हुने समय भइसकेको भन्दै यस्तो तयारी गरिएको हो ।
कोरोना भाइरसको दोस्रो भेरियन्ट सुरु हुनुभन्दा अघिसम्म सबै स्थानीय तहमा नियमित पठनपाठन भएको थियो । यि जिल्लाका सबै स्थानीय तहका अधिकांश विद्यालयले करिब ८० प्रतिशत कोर्स पढाएको बताएका छन ।
जाजरकोटको नलगाड नगरपालिकाले शैक्षिक सत्र २०७७ मा सञ्चालित त्रैमासिक र अर्धवार्षिक परीक्षाको नतिजा तथा निरन्तर विद्यार्थी मूल्यांकन आधारमा नतिजा तयार पारी सार्वजनिक गर्न मातहतका विद्यालयलाई भनेको छ । नगरका सामुदायिक तथा संस्थागत विद्यालयलाई शैक्षिक सत्र २०७७ को नतिजा तयार पारी प्रकाशन गर्न भनिएको नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो  ।
उहाँका अनुसार कक्षा ५ र ८ को नतिजा तयार पारी जेठ २० गतेभित्र नगरपालिकामा बुझाउन निर्देशन दिइएको छ । जेठ २५ गतेभित्र कक्षा १, २, ३, ४, ६, ७ र ९ को पनि नतिजा तयार पारी विद्यालयमा टाँस्न भनिएको उहाँले बताउनुभयो  । शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार नगरपालिकामा झन्डै ८५ देखि ९० प्रतिशत कोर्स पूरा भएको छ ।
‘अब पुरानै शैक्षिक सत्रको पठनपाठन सम्भव छैन,’ उहाँले भन्नुभयो, ‘कोर्स पनि करिब पूरा भइसकेको सन्दर्भमा पुरानो शैक्षिक सत्रको नतिजा तयार पारी नयाँ वर्षको सुरुवात गर्ने तयारी भइरहेको छ ।’ कोरोना महामारी कम हुनेबित्तिकै नयाँ शैक्षिक सत्र असारबाट सुरु गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै जुनिचाँदे गाउँपालिकाले पनि आन्तरिक मुल्यांकनबाट नजिता प्रकाशन गर्ने बताएको छ । जेठ २५ भित्र मुल्यांकन गरि नजिता प्रकाशन गरेको जानकारी गाउँपालिकालाइ दिन आग्रह गरिएको छ ।

भेरी नगरपालिकामा रहेका निजी विद्यालयले पनि त्रैमासिक र अर्धवार्षिक परीक्षाको नतिजा तथा निरन्तर विद्यार्थी मूल्यांकन आधारमा नतिजा तयार पारि नतिजा प्रकाशन गर्न लागेको बताएका छन् ।
त्यस्तै रुकुम पश्चिममको चौरजहारी नगरपालिकाले आन्तरिक मूल्यांकनको कार्यविधि तयार पारेको छ । शुक्रबारको नगर कार्यपालिका बैठकले कार्यविधि पारित गरेको र अब कार्यविधि अनुसार विद्यालयहरूलाई मूल्यांकन गरी नतिजा बनाउन निर्देशन दिइने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताउनुभयो ।
बाँफिकोट गाउँपालिकाले पनि आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशित गर्न परिपत्र गर्ने तयारी गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानबहादुर खड्काले बताउनुभयो  । आठबीसकोट नगरपालिका पनि आन्तरिक मूल्यांकनबाटै गर्न लागिएका नगरप्रमुख गोरखबहादुर केसीले बताउनुभयो । रुकुम पश्चिमा ६ वटा स्थानीय तहले आन्तरिक मुल्यांकनलाइ आधार बनाएर नतिजा प्रकाशित गर्न तयारी थालेका छन् ।


त्यस्तै डोल्पाको ठुलिभेरी नगरपालिकाले पनि आन्तरिक मुल्यांकनकै आधारमा नतिजा प्रकाशन गर्ने तयारी थालेको प्रमुख प्रशासकीय अधिकृत दिलप्रसाद रोकायले जानकारी दिनुभयो । आज शिक्षा समितिको वैठक बसेर त्यो निर्णय गर्न लागेको रोकायले जानकारी दिनुभयो ।

तस्वीर ः सरस्वती माध्यमिक विद्यालय दुनै डोल्पा । दिलप्रसाद रोकाय -ठुलिभेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत 





error: Content is protected !!