फोटो पत्रकारको आँखाले देखेको महामारीको कारुणिक दृश्य

अस्पतालमा अचेल बिरामी र आफन्तको भिड छ । त्यहीबीचमा स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । र त्यहीँ हुन्छन्, सञ्चारकर्मीहरू । जो फ्रन्टलाइनमा खटिएर आममानिसलाई सुसूचित गरिरहेका छन् ।

गत वैशाख दोस्रो साता कोरोनाको दोस्रो लहरले सुदूरपश्चिम थलिएको थियो । कोभिड संक्रमितले यहाँका अस्पताल भरिएका थिए । संक्रमण दैनन्दिन बढिरहँदा पिपिई सेट लगाएका स्वास्थ्यकर्मी २४ घन्टे ड्युटीमा थिए । त्यहीवेला नेपालगन्ज पुगेका थिए अनलाइन खबरका पत्रकार सागर बुढाथोकी र फोटो पत्रकार चन्द्रबहादुर आले ।

उनीहरू भेरी अञ्चल अस्पताल पुग्दा सर्वसाधारणको चहलपहल खासै थिएन । उनीहरूले अस्पतालका डक्टरलाई भेटे र वार्डहरूमा छिरे । बाहिर शान्त अस्पताल भित्र भने निकै नै भयावह थियो । वार्डमा बेड नभएर बिरामी बाहिरै अक्सिजन लिएर बसिरहेका थिए । क्यामेरा झिकेर फोटो खिच्न ठिक्क परेका आले अलमलमा परे, फोटो खिच्ने कि के गर्ने १ आले नेपालगन्जको अनुभव सुनाउँछन्, ‘भेन्टिलेटरमा बिरामी छटपटाइरहेका थिए । आफन्तहरू मास्क र फेससिल्ड लगाएर बसिरहेका थिए, बिरामीलाई हौसला दिइरहेका थिए । झोलाबाट क्यामेरा झिकेर फोटो खिच्न ठिक्क परेको म अलमलमा परेँ ।’ हातमा क्यामेरा झुन्ड्याएर अलमलमा परिरहेका आलेछेउमा एक महिला आइन् । आलेको हातमा झुन्डिरहेको क्यामेरातिर पुलुक्क हेरेर भनिन्, ‘मेरो मुटुको टुक्राको फोटो लिइदिनुस् न बाबु  ?’ ती महिलाले मुखमा मास्क लगाएकी थिइन्, भित्र वार्डमा उनको छोरोले अक्सिजन लगाएका थिए । अलमलमा परिरहेका आलेले फोटो खिचिदिए । आले सुनाउँछन्, ‘ती आमाको बोलीले इमोसनल बनायो, आफ्नै आमालाई सम्झिएँ । उस्तै त हुन् सबैको आमा ।’

भेरी अञ्चल अस्पतालको वार्डमा रहेका विरामीको तस्बिर खिच्दै फोटोपत्रकार चन्द्रबहादुर आले

अस्पतालको ढोकाछेवैको बेडमा एक पुरुष सुतिरहेका थिए । आलेले फोटो खिचेको देखेर ती पुरुषका श्रीमतीले नमस्कार गरिन् । आले र बुढाथोकीले ती महिलासँग कुराकानी गरे । उनी कोरोनाले थलिएका श्रीमान्लाई हँसाइरहेकी थिइन् । दिनभर आलेले बिरामीहरूको फोटो खिचे । साँझ परेपछि अस्पतालबाट बाहिरिए ।

भोलिपल्ट बिहान उनी फेरि अस्पताल गए । तर, न त्यो ढोकाछेवैको बेडमा सुतिरहेका पुरुष थिए, न त पुरुषलाई हँसाइरहेकी महिला । बरु नयाँ बिरामी त्यो बेडमा सुतिरहेका थिए । आले भन्छन्, ‘ती बिरामी त राति नै बितेछन् ।’ त्यस घटना सम्झेर आले अहिले पनि बिथोलिन्छन् । उनलाई ‘डिस्टर्ब’ गरिरहन्छ । उनी स्वयं पनि गत वर्ष संक्रमित बनेका थिए । दोस्रोपटक संक्रमित भएको दुई साता मात्रै भएको छ । तर, फोटो खिच्न फिल्डमा निस्किसकेका छन् ।

नेपालगन्जमै हुँदा उनलाई एक पुरुषले थर्काएका थिए, ‘तपाईंहरू फोटो, भिडियो खिचेर हामीलाई के दिनुहुन्छ रु बरु सहयोग गर्नुस् ।’ ती पुरुष तिनै थिए, जसले कोरोनाकै कारण आफ्नी २१ वर्षीया छोरी गुमाएका थिए । छोरी नर्स थिइन् । सुरुमा कराएका ती पुरुषले पछि उनीहरू काठमाडौं फिर्नेवेला भनेछन्, ‘तपाईंहरूको कामलाई सलाम छ,’ आले भन्छन्, ‘थोरै काम गर्दा त त्यस्तो प्रतिक्रिया पाइन्छ भने योभन्दा अझै किन अगाडि नबढ्ने रु’ उनीहरू काठमाडौं फर्कंदा काठमाडौं स्वयं कोरोनाले थला परिसकेको थियो । तर, आलेको क्यामेरा कहिले टेकु अस्पताल त कहिले टिचिङ अस्पताल पुगिरह्यो । कहिले वीर अस्पताल त कहिले पशुपति पुगिरह्यो ।

अहिले काठमाडौंमा कोभिड संक्रमित राखिएका अस्पतालहरूका वार्ड खाली छैनन् । वार्डबाहिरको खाली ठाउँ पनि खाली छैन । छेउछाउका प्यासेज पनि खाली छैनन्, बिरामीले भरिएका छन् । कोभिडका कारण ५ हजारभन्दा बढीले मृत्युवरण गरिसकेका छन् । उस्तै मात्रामा संक्रमित थपिइरहेका छन् ।

अस्पतालमा बिरामी र आफन्तको भिड हुन्छ । त्यहीबीचमा स्वास्थ्यकर्मीले सेवा दिइरहेका हुन्छन् । र त्यहीँ हुन्छन्, सञ्चारकर्मीहरू । जो फ्रन्टलाइनमा खटिएर आममानिसलाई सुसूचित गरिरहेका हुन्छन् । सञ्चारकर्मीको त्यही हुलमा एउटा क्यामेरा हुन्छ, रोयटर्सका लागि फोटो खिच्ने फोटो पत्रकार नवेश चित्रकारको । उनको आँखाले देखेको दृश्य हो स् डाक्टरले हेरिरहेको बिरामी, बिरामीलाई तातेपानी खुवाइरहेका बिरामी आफन्त । त्यहीँ चित्रकारले भेटे, श्रीमान्, श्रीमती नै संक्रमित भएर एउटै बेडमा लडिरहेका । यो दृश्य चित्रकारले टेकुमा देखेका हुन् । उनी भन्छन्, ‘त्यस्तो दृश्यले मानसिक तनाव दिन्छ । बिरामी छटपटाएको देख्दा सहयोग गरौँ लाग्छ, सकेको गरिन्छ पनि ।’ केही दिनअघि उनी टेकु अस्पतालको फोटो खिचेर फर्किएका थिए । उनका साथीहरू भने त्यतै बसिरहेका थिए । उनी घर मात्रै पुगेका थिए, एकजना साथीले फोन गरे, ‘यहाँ बस्दाबस्दै मान्छे बित्यो, फोटो खिच्न आऊ,’ चित्रकार भन्छन्, ‘तर, मैले फोटो खिच्नै सकिनँ । एकदमै गाह्रो भयो । फोटो खिच्ने आँटै आएन ।’ कतिपय अवस्थामा चित्रकारले सामना गर्ने प्र्रश्न हो– फोटो किन खिच्नुपर्‍यो रु ‘हामीले खिचेका फोटोकै कारण कतिले बिरामीलाई सहयोग पठाएका छन् । हाम्रो कर्तव्य हो । कुनै–कुनै घटनामा आफूलाई पनि मन हुँदैन फोटो खिच्न, तर, सत्यलाई देखाउनैपर्ने अवस्था आइपर्छ,’ चित्रकार सुनाउँछन्, ‘फोटो खिच्नेवेला त्यति याद हुन्न, अफिसमा आएर एडिट गर्दा मन खिन्न बनाउँछ । घर आउँदा पाँच वर्षको छोरो दौडिएर आउँछ, अँगालो मार्न पनि डर लाग्छ । तर, हामीले म्यासेज पाठकसम्म पुर्‍याउनु ठूलो कुरा हो नि त १’

काठमाडौं टेकु अस्पताल परिसरमा फोटो खिच्दै फोटोपत्रकार स्कन्द गौतम ।

समाचार एजेन्सी एपीका लागि फोटो खिच्ने निरञ्जन श्रेष्ठ थप्छन्, ‘हाम्रो कर्तव्य हो सर्वसाधारणसम्म सूचना पुर्‍याउनु । कतिपय अवस्थामा मेन्टल्ली, इमोसनल्ली समस्या त हुन्छ नै ।’ यो बीचमा श्रेष्ठको आँखैअघि दुई–तीनजना मान्छेको ज्यान गएको छ । टेकुमै पनि एम्बुलेन्समा ल्याइएका बिरामी एम्बुलेन्सबाट बाहिर निकाल्दा ननिकाल्दै बिते । परिवार आत्तिन थाले । ‘आँखैअघि त्यस्तो दृश्य देख्दा ‘होपलेस’ भइन्छ । फोटो खिच्दै गरेको क्यामेरालाई डाउन गर्नुपर्ने हुन्छ,’ उनी भन्छन् । श्रेष्ठले जसरी नै संक्रमितकै फोटो खिचिरहँदा आफैँ संक्रमित बने द हिमालयन टाइम्सका स्कन्द गौतम । उनको सम्पर्कमा रहेकाहरू कसैलाई संक्रमण भएको थिएन तर उनी संक्रमित भए । अहिले होम आइसोलेसनमा छन् । पशुपतिमा शव जलाइएको पहिलो दिन फोटो खिच्न पुगेका थिए गौतम । उनले फोटोहरू खिचे । फोटो खिच्दासम्म उनलाई केही भएन । तर, जब घर आए, राति एकदमै डिस्टर्ब भए । ‘त्यो राति आफैँलाई सास फेर्न गाह्रो भयो । मानसिक रूपमा कमजोर महसुस भयो,’ भन्छन्, ‘आफन्तहरूको आँसु सम्झेर विचलित भएँ । आफन्त हो, आफन्तको माया लाग्छ, तर शवहरूलाई केही महत्व नै नदिइ जलाएको सम्झेर आफूलाई बलियो बनाउनै सकिनँ ।’

तर, भोलिपल्ट फेरि फोटो खिच्न अस्पतालतिर लागे । यसको कारण बताउँछन्, ‘फोटो खिच्न मन लाग्छ । के भइरहेको छ देशमा भनेर मानिसलाई देखाउन मन लाग्छ ।’ देश सञ्चार अनलाइनकी वर्षा शाहलाई पनि फोटो खिच्न जाँगर आउने भनेकै मानिससम्म पुग्ने सूचनाका कारण हो, जसका कारण उनीहरू सचेत बन्छन् । तर, फोटो खिच्ने क्रममा ‘लाइभ’ देखिने दर्दनाक घटनाले भने विचलित हुन्छिन्, ट्रमा महसुस गर्छिन् उनी । चाहे पशुपतिमा जलाइरहेको शव देख्दा होस् या एम्बुलेन्सबाट झार्दाझार्दै बितेका बिरामी देख्दा होस् । अथवा, बेड छैन भनेर अस्पतालले स्वीकार नगरिरहेको दृश्य देख्दा होस् । उनी सुनाउँछिन्, ‘त्यस्ता दृश्यले असर गर्छ । फिल्डमा त साथीभाइ हुन्छन्, सजिलै हुन्छ । घरमा आएपछि भने ट्रमा महसुस हुन्छ ।’

पशुपतिकै फोटो खिचेको दिन विचलित बनिन् । शवहरूले राम्रोसँग जल्न पनि पाइरहेका थिएनन् । अफिस आइन्, सम्पादकसँग कुरा गरिन् । सम्पादकले भनेका थिए, ‘एक्लै नबस्नुस् है आज । साथीहरूसँग घुलमिलमा रहनु ।’

केही समयअघि टेकु अस्पतालमै एउटा एम्बुलेन्स आयो । बिरामीका आफन्तले डक्टर बोलाए । तर, एम्बुलेन्सबाट बिरामी झिकेको केही क्षणमै डाक्टरले मृत घोषणा गरे । ‘त्यो दृश्य देखेर सम्हालिनै सकिनँ, टाउकोमा रहेको चश्मालाई आँखामा लगाएर हेरेँ,’ उनी सुनाउँछिन् । तर, वर्षालाई दिक्क लाग्ने भनेको चाहिँ राजनीतिक नेतृत्वहरूप्रति हो । भन्छिन्, ‘उहाँहरूको बोल्ने तरिका हेर्दा एकपटक अस्पताल गइदिए हुन्थ्यो जस्तो लाग्छ । स्वास्थ्यकर्मीहरूले गरेको काम, बिरामीबारे पत्रकारले जे लेख्यो, त्यसैका आधार मात्रै बुझ्छन् होलान् । तर, उनीहरूको जिम्मेवारी त त्यहाँ गएर सान्त्वना र हौसला प्रदान गर्नु पनि त हो ।’

अस्पतालमा बिहानदेखि रातिसम्म बसेर सूचना सम्प्रेषण गरिरहन्छन् पत्रकारहरू । यहीबीचमा कति संक्रमित भएका छन् र निको भएका छन् । लेख्नेले लेखेका छन्, फोटो खिच्नेले खिचेका छन् । त्यही फोटो खिच्नेमध्ये नयाँ पत्रिकाकर्मी दीपेन्द्र ढुंगाना पनि कहिले टेकु, कहिले टिचिङ कहिले पशुपति आर्यघाट पुगेर फोटो खिच्छन् । ढुंगाना भन्छन्, ‘क्यामेरा तेस्र्याएर फोटो लिइरहँदा बिरामी र उनीहरूका आफन्तले केही भन्लान् कि भन्ने डर लागिरहन्छ । ‘फिलिङ्स’ छैन।।। भनिरहन्छन् पनि । हामीलाई फिल हुन्छ, तर वास्तविकतालाई देखाउनैपर्ने हुन्छ ।’

कसले के भने ?

नवेश चित्रकार, रोयटर्स स् फोटो खिच्नेवेला त्यति याद हुन्न, अफिसमा आएर एडिट गर्दा मन खिन्न बनाउँछ । घर आउँदा पाँच वर्षको छोरो दौडिएर आउँछ, अँगालो मार्न पनि डर लाग्छ । तर, हामीले म्यासेज पाठकसम्म पुर्‍याउनु ठूलो कुरा हो नि त १

चन्द्रबहादुर आले, अनलाइन खबर स् भेरी अञ्चल अस्पतालको एउटा घटनाले अहिले पनि झस्काउछ । अघिल्लो दिन हासीखुसी गरिरहेका बिरामी भोलिपल्ट भेटिएनन् । ती बिरामी त राति नै बितेछन् । त्यस घटना सम्झेर अहिले पनि ‘डिस्टर्ब’ हुन्छु ।

दीपेन्द्र ढुंगाना, नयाँ पत्रिका स् ‘क्यामेरा तेस्र्याएर फोटो लिइरहँदा बिरामी र उनीहरूका आफन्तले केही भन्लान् कि भन्ने डर लागिरहन्छ । ‘फिलिङ्स’ छैन।।। भनिरहन्छन् पनि । हामीलाई फिल हुन्छ, तर वास्तविकतालाई देखाउनैपर्ने हुन्छ ।’

वर्षा शाह, देश सञ्चार स् फोटो खिच्ने क्रममा ‘लाइभ’ देखिने दर्दनाक घटनाले विचलित बनाउँछ । चाहे पशुपतिमा जलाइरहेको शव देख्दा होस् या एम्बुलेन्सबाट झार्दाझार्दै बितेका बिरामी देख्दा होस् । अथवा, बेड छैन भनेर अस्पतालले स्वीकार नगरिरहेको दृश्य देख्दा होस् । फिल्डमा त साथीभाइ हुन्छन्, सजिलै हुन्छ । घरमा आएपछि भने ट्रमा महसुस हुन्छ ।

स्कन्द गौतम, द हिमालयन टाइम्स स् पशुपतिमा शव जलाइएको पहिलो दिन फोटो खिच्न पुगेको थिए । फोटो खिच्दासम्म केही भएन । तर, जब घर आए, राति एकदमै डिस्टर्ब भए । त्यो राति सास फेर्न गाह्रो भयो । मानसिक रूपमा कमजोर महसुस भयो । आफन्तहरूको आँसु सम्झेर विचलित भएँ । आफन्त हो, आफन्तको माया लाग्छ, तर शवहरूलाई केही महत्व नै नदिइ जलाएको सम्झेर मन बलियो बनाउनै सकिनँ ।

निरञ्जन श्रेष्ठ, एपी ः हाम्रो कर्तव्य हो सर्वसाधारणसम्म सूचना पु¥याउनु । कतिपय अवस्थामा मेन्टल्ली, इमोसनल्ली समस्या त हुन्छ नै ।





error: Content is protected !!