गम्भीर संक्रमण भएको कसरी थाहा पाउने ?

कोरोना भाइरसका भेरियन्टहरू देखिएपछि अस्पताल भर्नादर बढेको छ । साथै, मृत्युदर पनि उकालो लागेको छ । अस्पतालमा भर्ना भएका लगभग शतप्रतिशतलाई अक्सिजन आवश्यक पर्न थालेको छ । अर्थात्, म्युटेड भएका भेरियन्टको संक्रमणले गम्भीर बिरामीको संख्या बढाउँदै लगेको छ ।

विश्वभरिको तथ्यांक हेर्दा ८० प्रतिशत संक्रमित सामान्य उपचारबाट निको भएका छन् । बाँकी २० प्रतिशत अस्पताल भर्ना हुनुपर्ने, अक्सिजन आवश्यक हुने, आइसियू र भेन्टिलेटरको आवश्यकता पर्ने हुन्छ । सामान्य लक्षण मात्र देखिएर होम आइसोलेसनमा बसेका बिरामीहरूको समेत एक्कासि स्वास्थ्य गम्भीर अवस्थामा पुग्ने र अस्पतालसम्म नपुर्‍याउँदै मृत्यु हुने घटना बढिरहेका छन् । यसकारण लक्षणका आधारमा संक्रमणको किसिम छुट्याउन सकेमा समयमै स्वास्थ्यको हेरचाह गर्न सहज हुन्छ ।

संक्रमणको सुरुवातमा अधिकांशमा उस्तै लक्षण देखिन्छन् । जुन होम आइसोलेसनमा बस्दा बढीमा १४ दिनभित्रमा निको भएर जान्छन् । यसलाई सामान्य लक्षणसहितको संक्रमण भनिन्छ । ‘माइल्ड’ लक्षणसहितका संक्रमण ८० प्रतिशतभन्दा बढीमा देखिएको पाइएको छ ।

तर, केही संक्रमितमा एक्कासि विभिन्न फरक खालका लक्षण देखिन थाल्छन् । जस्तै, कालो ढुसीका कारण नाक, मुख, आँखामा समस्या आउने, मधुमेह र थाइराइडको समस्या भएका वयस्कमा पनि केही घन्टाको अन्तरालमा अक्सिजन लेभल घटेर जाने जस्ता नयाँ लक्षणहरू देखिन थालेका छन् । अर्थात्, महामारीमा भाइरसहरू म्युटेड हुँदै आएकाले लक्षणहरू पनि फरक–फरक हुन सक्छन् । कतिपय लक्षण पत्ता लगाउनसमेत अप्ठ्यारो भइरहेको अध्ययनले देखाइरहेका छन् ।

अध्ययनका अनुसार कोभिड संक्रमण भएको पहिलोदेखि १० दिनभित्र लक्षणहरू देखिन्छन् । माइल्ड लक्षण देखिएका बिरामीमा दश दिनपछि बिस्तारै लक्षणहरू हराउँदै जान्छन् । यदि लक्षणहरू एक सातापछि पनि बढिरहेमा अस्पताल भर्ना हुन आवश्यक हुन्छ । सामान्य बिरामीमा निमोनिया, रुघाखोकी र ज्वरोजस्ता लक्षण मात्रै देखिए पनि सिभिएर (गम्भीर) बिरामीमा यीसँगै अन्य असामान्य लक्षणहरू देखा पर्न थाल्छन् ।

संक्रमितमा सामान्य संक्रमणजस्तै लक्षणहरू निको भइरहे पनि कतिपयमा एक्कासि जटिलता देखिन सक्छ । खासगरी उच्च रक्तचाप, मधुमेह, थाइराइडका समस्या भएका युवामा समेत अचानक गम्भीर स्वास्थ्य समस्या देखिएर मृत्यु हुने दर बढेको छ । यसर्थ, लक्षणहरूको गम्भीरता हेरेर स्वास्थ्यको ख्याल राख्न आवश्यक छ ।

एजेन्सीको सहयोगमा





error: Content is protected !!