अक्सिजन पलान्टमा खेलाची ः कत्तै गोदाममा थन्किए ,कत्तै नक्कलीको विगविगी

हेमन्त न्यौपाने
जाजरकोट , ८ वैशाख ः कोरोना महामारीको समयमा प्राण वायू भनेर चिनिने अक्सिजन उत्पादन गर्ने अक्सिजन पलान्ट खरिद तथा जोड्न नै समस्य भएपछि कोभिडका विरामीहरु समस्यामा परेका छन् ।
जाजरकोट , रुकुम पश्चिम ,डोल्पा र सल्यानमा अक्सिजन पलान्टमा खरिद देखि जोड्ने सम्माका समस्या आइरहेका छन् । सल्यानमा अक्जिजन पलान्ट भनेर फरक सामग्री खरिद गरि ल्याएको भन्दै छानमिन भइरहेको छ । कर्णाली प्रदेशले केही जेठ ५ गते कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीको नेतृत्वमा आएको टोलीले सल्यान अस्पतालको अनुगमण गरेको थियो । स्वास्थ्य सेवा कार्यालयले अक्सिजन प्लान्ट भनी अक्सिजन कन्सन्ट्रेटर जडान लगाएत अन्य विषयमा पनि समस्या आएपछि टोलीले अनुगमन गरेको थियो ।
स्वास्थ्य सेवा कार्यालय सल्यानले गत पुस १३ गते अक्सिजन प्लान्ट जडानका लागि गरेको टेन्डर अनुसार ड्रयागन मेडिटेक प्रालि सुर्खेतले अक्सिजन कन्सन्ट्रेटर जडान गरेको थियो । प्रदेश सरकारले विनियोजन गरेको ५८ लाख रकम मध्येबाट ४० लाखको अक्सिजन प्लान्ट जडान गर्ने र १८ लाखको पाइप लाइन जडान गर्ने कार्यक्रम रहेको थियो ।
त्यस्तै जिल्ला अस्पताल रुकुम पश्चिममा अक्सिजन अभावमा कोरोना संक्रमितले ज्यान गएपनि अक्सिजन प्लान्ट जडानको काम नहुँदा मुख्य मेसिन अस्पतालको ग्यारेजमा थन्किएको छ । जिल्ला अस्पतालमा ४० एलपीएम (प्रतिमिनेट ४० लिटर अक्सिजन बहने क्षमता) को मुख्य मेसिन आइपुगेको लामो समय भए पनि ग्यारेजमै थन्किएको हो ।
कर्णाली प्रदेश सरकारको ३९ लाख २२ हजार रुपैयाँ बजेटबाट मेसिन आए पनि पाइपलाइनलगायतको काम अझै पूरा भएको छैन । अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम झन्डै ५० प्रतिशत सकिएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले बताउनुभयो ।
उहाँका अनुसार बाँँकी काम भने एक सातायता ठप्प छ । मुख्य मेसिनबाट बिरामीको बेडसम्म अक्सिजन लैजाने पाइपलाइन जडानको काम रोकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जसका लागि प्रदेश सरकारले १८ लाख रुपैयाँ पठाइसकेको छ ।
पाइप खरिद प्रक्रियामा ढिलाइ हुँदा अक्सिजन प्लान्ट जडानमा समस्या भएको हो । प्लान्ट जडानका लागि अरू थप सामग्री पनि आइपुगेको छ, तर प्राविधिक नआउँदा पनि काममा ढिलाइ भयो,’ व्यवस्थापक बुढाथोकीले भन्नुभयो , “अन्यत्र पनि अक्सिजन प्लान्ट जडानको काम भइरहेकाले प्राविधिक आउन ढिलाइ भएको जानकारी आएको छ ।’ संकटका बेला आवश्यक सामग्री र जनशक्ति नपाइँदा पनि समस्या भइरहेको उहाँले गुनासो गनुभयोे ।
शनिवार सम्म जिल्ला अस्पतालमा ४६ कोरोना संक्रमितको उपचार भइरहेको छ । सबै जना अक्सिजन दिनुपर्ने अवस्थाका छन् । अस्पतालमा दैनिक ३० सिलिन्डर अक्सिजन चाहिने अस्पतालका डा राजकुमार भुजेलले बताउनुभयो । ‘अक्सिजन पूर्ति गर्नै मुस्किल भयो, सिलिन्डर रिफिल गर्न नेपालगन्ज पु¥याउनुपर्ने बाध्यता छ,’ उहाँले भन्नुभयोे, ‘त्यहाँ पनि समयमै रिफिल गर्न पालो नआउँदा अभाव चुलिएको हो ।’ अस्पतालमा प्लान्ट सञ्चालनमा आउँदा त्यसले उपचारमा ठूलो सहयोग पुग्ने उहाँको भनाइ छ ।
त्यस्तै जाजरकोटमा अक्सिजन पलान्ट खरिदको लागि सम्झौता गरेको कम्पनीले अहिले सम्मा अक्सिजन पलान्ट अस्पतालमा ल्याइ पुर्याएको छैन । सांसद देखि प्रमुख जिल्ला अधिकारीलाइ ठेकेदारले फरक ,फरक कुरा गरिरहेको बताएको छ । अक्सिजन पलान्ट कहिले आउछ अझै कुनै समय निर्धारण भएको छैन । जाजरकोट अस्पतालको आइसोलेसन कोरोना संक्रमितले भरिएको छ । अक्सिजन अभावमा बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने बाध्यता छ । अहिले अस्पताल तथा होमआइसोलेशनमा उपचार गरिरहेको विरामीहरुको संख्या ३७७ जना रहेको छ ।
अक्सिजन अभावकै कारण अस्पतालको आइसोलेसनमा नयाँ संक्रमितलाई भर्ना पाउने अवस्था छैन । जिल्लाभरि अहिले ९० वटा अक्सिजन सिलिन्डर मात्र मौज्दात छ । जनशक्ति अभावमा जाजरकोट अस्पतालको भेन्टिलेटर प्रयोगमा ल्याउन सकेको छैन । गत वर्ष खरिद गरिएको भेन्टिलेटर सञ्चालन नभइ अस्पतालको एक कोठामा थन्किएको छ । अस्पतालमा भेन्टिलेटरसहितको उपचार नभएपछि संक्रमितलाई जिल्ला बाहिर लैजानु पर्ने बाध्यता छ ।
भेन्टिलेटर सञ्चालन गर्न तालिमप्राप्त विशेषज्ञ चाहिने तर नहुँदा सेवा संचालनमा ल्याउन नसकिएको डा.अमिन शाहले बताउनुभयो । बेहोस बनाउन एन्थेसियालगायतका विशेषज्ञ चिकित्सक नहुँदा भेन्टिलेटर संचालन गर्न नसकिएको उहाँको भनाइ छ ।
त्यस्तै पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले पठाएका ९० अक्सिजन सिलिण्डर थपिएपछि केही राहत हुने आशा लिइएको छ । शनिबार बेलुकी सम्मा सिलिण्डर सहित अक्सिजन उत्पादन गर्ने दुइ वटा अक्सिजन कन्सन्ट्रेटर जिल्ला अस्पतालमा पुग्ने छन् । बस्नेतले व्यक्तिगत खर्चमा उक्त सामग्री पठाउनु भएको हो ।
त्यस्तै डोल्पामा अक्सिजन पलान्ट आएपनि दुइ हप्ता देखि थन्किएको छ । जोडनका लागि प्राविधिक नहुँदा उक्त पलान्ट सञ्चालनमा ल्याउन नसकिएको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापनक अमर सिंह शाहीले जानकारी दिनुभयो । धेरै पटक प्राविधिक पठाउन भनिएको छ तर आउन ढिलाइ भइरहेको उहाँले जानकारी दिनुभयो ।
अहिले यि सवै जिल्लाका अस्पतालहरुले नेपालगन्जबाट सिलिण्डरमा अक्सिजन भरेर ल्याइ विरामीको उपचार गरिरहेको बताएका छन् । यो समस्या हल गर्न तुरुन्तै अस्पतालमा रहेका अक्सिजन पलान्टहरु सञ्चालनमा ल्याउन सके विरामी तथा अस्पताललाइ राहत पुग्ने विश्वास लिइएको छ ।










