थन्कियो अक्सिजन प्लान्ट मेसिन

रुकुम पश्चिम ः जिल्ला अस्पतालमा अक्सिजन अभावमा कोरोना संक्रमितले दैनिकजसो ज्यान गुमाइरहेका छन् । तर अक्सिजन प्लान्ट जडानको काम नहुँदा मुख्य मेसिन अस्पतालको ग्यारेजमा थन्किएको छ । जिल्ला अस्पतालमा ४० एलपीएम (प्रतिमिनेट ४० लिटर अक्सिजन बहने क्षमता) को मुख्य मेसिन आइपुगेको लामो समय भए पनि ग्यारेजमै थन्किएको हो ।

कर्णाली प्रदेश सरकारको ३९ लाख २२ हजार रुपैयाँ बजेटबाट मेसिन आए पनि पाइपलाइनलगायतको काम अझै पूरा भएको छैन । अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम झन्डै ५० प्रतिशत सकिएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले बताए । उनका अनुसार बाँँकी काम भने एक सातायता ठप्प छ ।

मुख्य मेसिनबाट बिरामीको बेडसम्म अक्सिजन लैजाने पाइपलाइन जडानको काम रोकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जसका लागि प्रदेश सरकारले १८ लाख रुपैयाँ पठाइसकेको छ । पाइप खरिद प्रक्रियामा ढिलाइ हुँदा अक्सिजन प्लान्ट जडानमा समस्या भएको हो । ‘प्लान्ट जडानका लागि अरू थप सामग्री पनि आइपुगेको छ, तर प्राविधिक नआउँदा पनि काममा ढिलाइ भयो,’ उनले भने, ‘अन्यत्र पनि अक्सिजन प्लान्ट जडानको काम भइरहेकाले प्राविधिक आउन ढिलाइ भएको जानकारी आएको छ ।’ संकटका बेला आवश्यक सामग्री र जनशक्ति नपाइँदा पनि समस्या भइरहेको उनले गुनासो गरे ।

शुक्रबारसम्म जिल्ला अस्पतालमा ४६ कोरोना संक्रमितको उपचार भइरहेको छ । सबै जना अक्सिजन दिनुपर्ने अवस्थाका छन् । अस्पतालमा दैनिक ३० सिलिन्डर अक्सिजन चाहिने अस्पतालका डा। राजकुमार भुजेलले बताए । ‘अक्सिजन पूर्ति गर्नै मुस्किल भयो, सिलिन्डर रिफिल गर्न नेपालगन्ज पुर्‍याउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘त्यहाँ पनि समयमै रिफिल गर्न पालो नआउँदा अभाव चुलिएको हो ।’ अस्पतालमा प्लान्ट सञ्चालनमा आउँदा त्यसले उपचारमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ । अन्य पालिकामा पनि अक्सिजनको ठूलो समस्या रहेको स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन ईश्वर रावलले बताए । चौरजहारी अस्पताल, त्रिवेणीको पालिकास्तरीय आइसोलेसनलगायतमा संक्रमितको उपचार भइरहेको छ । ‘त्यहाँ पनि अक्सिजनकै अभाव छ,’ उनले भने, ‘समस्याबीच पनि संक्रमितको उपचारमा चौबीसै घण्टा खटिएका छौं ।’





error: Content is protected !!