राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल विजयी, बादल पराजित

नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचनमा पराजय बेहोरेका छन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी खिमलाल देवकोटासँग पराजित बनेका हुन् । मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल भए ।

स्थानीय तहमा देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाए । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । खिमलालले पाएको १२८ मतको मतभार २३०४ हुन्छ । बादलले पाएको मतभार १८५४ हुन्छ ।
त्यस्तै, प्रदेशसभामा बादलले ४५ मत पाउँदा खिमलालले ५८ तथा तामाङले २ मत पाए । बादलले पाएको ४५ मतको मतभार २१६० हुन्छ भने खिमलालले पाएको ५८ मतको मतभार २७८४ हुन्छ ।

राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो भने साढे ४ बजेदेखि मतगणना शुरु भएको थियो ।

उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेकोमा प्रदेश सभा सदस्यतर्पm १०५ जना र स्थानीय तहतर्फ २३३ जना गरी जम्मा ३३८ जनाले मतदान गरेका थिए । यसमध्ये कोरोना भाइरस संक्रमित मतदाताको संख्या २५ थियो ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तह सदस्यतर्फको मतभार १८ रहेको छ । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको थियो ।

हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा मतदान भएको थियो । प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न सकिने व्यवस्था मिलाइएको थियो ।

नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा यो निर्वाचन भएको हो । जसमा बादल पराजित हुनुका साथै अब सांसद रहने बाटो बन्द भएको छ ।

माधव नेपाल पक्ष निर्णायक

बागमती प्रदेशमा एमालेकै देवकोटालाई विपक्षी गठबन्धनको तर्फबाट उम्मेदवार बनाउन माधव नेपालले भूमिका खेलेका थिए । त्यसपछि दबावमा रहेका ओलीले पछिल्लो समय नेपाललगायत ४ नेताको कारबाही फुकुवा गर्दै वार्ता प्रक्रिया चलिरहेको थियो । तर, विहीबारको मतदानमा नेपाल समूहले बादललाई सघाएन र देवकोटातर्फ मत खन्यायो ।

ओलीको अपील काम लागेन

प्रधानमन्त्री केपी ओलीले बुधबार मौन अवधिको उलंघन गर्दै बादललाई जिताउन अपील गरेका थिए । प्रधानमन्त्री ओलीले पार्टी निर्णयविरुद्ध गएर मतदान गरे पार्टीका लागि स्वीकार्य या क्षम्य नहुने चेतावनी पनि दिएका थिए ।

ओलीले रामबहादुर थापा पार्टीका उम्मेदवार भएको भन्दै उनी नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता भएको बताएका थिए ।

मतदान शान्तिपूर्ण स् आयोग

यसैबीच, निर्वाचन आयोगले बिहीबार अपरान्ह एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ । आयोगले उपनिर्वाचनको मतगणना कार्यलाई व्यवस्थित गर्न मतगणना सम्बन्धी थप निर्देशन पठाएर सहजीकरण गरेको थियो ।

आयोगले मतदान कार्य सफलतापूर्वक सम्पन्न भएकोमा मतदान कार्यमा खटिने निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी लगायत राष्ट्रसेवक कर्मचारीहरु तथा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुलाई आयोग धन्यवाद ज्ञापन समेत गरेको छ ।





error: Content is protected !!