फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदको पद गुम्दै, पुरस्कारबाट मन्त्री बनेकाको दिनगन्ती सुरु

शेरबहादुर थापा

सुर्खेत । वैशाख ३ गते कर्णाली प्रदेश सभाको वैठकमा नेकपा एमाले संसदीय दलको ह्वीपका वावजुद फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिने एमालेका चार सांसदले आजदेखि पद गुमाउँदैछन् ।

आज दिउँसो २ बजेका लागि बोलाइएको प्रदेश सभाको वैठकमा सभामुख राजबहादुर शाहीले संसद सचिवालयमा दर्ता भएको एमाले संसदीय दलको पत्र पढेर सुनाएपछि उनीहरु सांसद रहनेछैनन् ।

एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मर बहादुर थापा र कुर्मराज शाहीले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका थिए । त्यसको दुई दिनपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ज्वालाबाहेकका तीन सांसदलाई मन्त्री पदबाट पुरस्कृत गरेका थिए ।

आज औपचारिक रुपमा सांसद पद गुमाउने भएपछि उनीहरु बढीमा ६ महिनामात्र मन्त्री बन्नेछन् । यसबीचमा उनीहरुले सांसदको सदस्यता पाउनुपर्ने हुन्छ ।

एमाले संसदीय दलमै रहेको समयमा मन्त्री बनेका तीन जना सांसद आजबाट बर्खास्तीमा पर्ने भएकाले सकभर आज साँझ वा भोलिसम्म तीनै जना मन्त्रीहरुको सपथग्रहण गराउने तयारी सरकारले गरेको छ ।

‘उहाँहरु प्रदेश सभाबाट निष्काषित भएको जानकारी प्राप्त होला । त्यसपछि उहाँहरुलाई फेरि सपथग्रहण गराउने कार्यक्रम तय हुनेछ,’ सरकारका प्रवक्ता एवम आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले भनिन् ।





error: Content is protected !!