तस्बिरको युगतिर पत्रकारिता

काठमाडौँ ः भनिन्छ एउटै तस्बिरले हजार शब्द बोल्छ । परम्परागत छापा माध्यमदेखि नयाँ माध्यम (न्यु मिडिया) सम्मले तस्बिरको प्रयोगलाई उच्च प्राथमिकतामा राख्ने गरेका छन् । तस्बिरबिनाको पत्रकारिता अब कल्पना गर्न नसकिने भएको छ ।
सुरुका दिनमा एउटा फोटो खिचेर अखबारमा छाप्नलाई छ–सात घण्टा काम गर्नुपथ्र्यो तर अहिले तस्बिर खिचेको क्षणभरमै आमसञ्चारका माध्यमबाट विश्वव्यापी हुने प्रविधिको विकास भएको छ । समाचारीय मूल्यसहित प्रकाशद्वारा प्रविधिको प्रयोगको छाया कला नै वास्तवमा फोटो पत्रकारिता हो ।

तस्बिरको प्रयोगले अक्षर र भाषालाई उछिन्न थालेको छ । समाचार दिँदा पनि छोटो विवरण दिएर तस्बिरैबाट सन्देश प्रवाह गर्ने प्रवृत्ति बढ्न थालेको छ । अहिले तस्बिरको प्रयोग भने विगतमा सहज तवरले सुरु भएको थिएन ।
१९औँ शताब्दीको मध्यतिर पत्रपत्रिकामा फोटो छापेर सुरु भएको फोटो पत्रकारिताले २१औंँ शताब्दीको दोस्रो दशकमा आइपुग्दा अकल्पनीय प्रभाव सिर्जना गरेको छ । फ्रान्सेली नागरिक निसेफोर निपसले सन् १८२६ प्रथम आधुनिक फोटो तयार पारेका थिए । निसेफोरले धानको कुन्यु राखिएको खलोको त्यो तस्बिर तयार पार्न सूर्यको आठ घण्टा लामो ‘एक्सपोज’ दिइएको थियो ।

फोटो खिच्न सफल भएको १३ वर्षपछि बेलायतका सर जोन हर्सलले सन् १८३९ मा सर्वप्रथम फोटोग्राफी शब्दको प्रयोग गरेका थिए । आमसञ्चारका माध्यमबाट तस्बिरको प्रयोग गरी सूचना प्रवाह गर्नु नै फोटो पत्रकारिता हो । फोटो पत्रकारिताले कुनै व्यक्ति, विषयवस्तु, विशेष घटना वा कथा वस्तुको सजीव र गतिशील चित्रण गर्छ ।
वि।सं। १९८३ वैशाख १३ गतेको गोरखापत्रमा पहिलो पटक समाचारमूलक तस्बिर प्रकाशित भएको थियो । पृष्ठ ३ मा छापिएको सो तस्बिर चन्द्रकामधेनु चर्खाद्वारा धागो कातिरहेकी वीरगञ्ज निवासी १२ वर्षीया सूर्यमती श्रेष्ठको थियो ।

गोरखापत्रको त्यो तस्बिर नै नेपालमा छापिएको पहिलो समाचारमूलक तस्बिर भएको भन्दै नेपाली फोटो पत्रकारले वैशाख १३ गतेलाई फोटो दिवस मनाउँदै आएका छन् तर त्यसअघि पनि तस्बिर नछापिएको भने होइन । राणा प्रधानमन्त्री चन्द्रशमशेरका तीनवटा तस्बिर छापिएको जानकारी फोटो पत्रकार विकास कार्कीले गरेको अध्ययनले देखाएको छ । तस्बिरले पूर्णता पाउन तस्बिर परिचय ९क्याप्सन० आवश्यक पर्छ र सूर्यमतीको तस्बिरमा क्याप्सन पनि भएकाले यो नै पहिलो समाचारमूलक तस्बिर मानिएको छ । त्यसैलाई आधार मानेर २०५३ सालदेखि फोटो पत्रकार दिवस मनाउन थालिएको हो ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले समसामयिक समाचारमा प्रयोग गरिने तस्बिर पनि तात्कालिक नै हुुनुुपर्नेमा जोड दिनुुभयो । उहाँले भन्नुभयो, “तस्बिरबिनाको पत्रकारिता पूर्ण हुँदैन । अहिले पत्रकारितामा तस्बिरको प्रयोग बढेको छ । समाचार नयाँ हुने तर पुरानै तस्बिर प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ । त्यो अन्त्य गरिनुुपर्छ ।” उहाँ तस्बिरले आधुनिक पत्रकारितामा चमत्कार गरेको विश्वास गर्नुहुन्छ ।
उहाँको विचारमा पाठकले जहिले पनि ताजा तस्बिर नै चाहेको हुन्छ, नयाँ तस्बिरले दिने सन्देश र पुराना तस्बिरले दिने सन्देश फरक हुन्छ । “समसामयिक समाचारमा समसामयिक तस्बिर नै प्रयोग गरौँ” भन्ने सन्देश यो फोटो पत्रकारिता दिवसले दिनुपर्ने सुुझाव प्राध्यापक खनालको छ ।

२०३० सालमा गोरखापत्रमा फोटो पत्रकारिता सुरु गर्नुभएका वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारको विचारमा फोटो पत्रकारिताको आदर्शलाई ध्यान नदिइएकाले अहिले तस्बिरको विश्वसनीयतामै प्रश्न उठेको छ ।
उहाँले स्रोत बेगरका तस्बिर छाप्ने प्रवृत्ति बढेकाले फोटो पत्रकारिता अप्ठ्यारो अवस्थामा पुुगेको बताउनुभयो । “तस्बिर खिच्न जान्दैमा फोटो पत्रकार भइँदैन । बिनाअध्ययन गरिने फोटो पत्रकारिताले समाजलाई नयाँ दिशामा लान सक्दैन । त्यसैले विश्वविद्यालयको शिक्षा आवश्यक छ”, उहाँले भन्नुभयो ।





error: Content is protected !!