भोकले भारत पठायो, रोगले फेरि फर्कायो

कामको खोजीमा दुई महिनाअघि भारतको पुना पुगेका अछाम चौरपाटीका मानबहादुर साउद आइतबार कैलालीको त्रिनगर नाका हुँदै घर फर्किएका छन् । होटेलमा वेटर उनले आगामी दसैँमा घर फर्कने सोच बनाएका थिए । तर, महाराष्ट्रमा कोरोना संक्रमण बढेसँगै लकडाउनका कारण जागिर गुमेपछि उनी दुई महिनामै घर फर्कन बाध्य भए ।

एक साताअघि रोजगारी गुमेको मानबहादुरले बताए । ‘कोरोना बढेको भन्दै उता होटेल, बजार सबै बन्द छन् । लकडाउनमा अर्काको देशमा थुनिनुभन्दा आफ्नै देश फर्केँ,’ आइतबार बिहान नाकामा भेटिएका उनले भने, ‘केही महिना काम गर्ने सोच थियो । तर, कोरोनाका कारण होटेल बन्द भएपछि फर्कनुपर्यो ।’

उनीसँगै महाराष्ट्रका विभिन्न ठाउँमा काम गरिरहेका चौरपाटीका अन्य चारजना पनि घर फर्किएका छन् । दुई महिनामै फर्कनुपर्दा कमाइ नभएकाले छोराछोरी र परिवारका लागि लुगाफाटोसमेत किन्न नसकेको दुःखेसो उनीहरूले सुनाए । रोजगारी गुमेपछि बर्दिया राजापुरका विष्णु कामी पनि पुनाबाट घर फर्किएका छन् । गत पुसमा भारत गएका उनी होटेलमा काम गर्थे । कोरोना बढे पनि काम चलेको भए उतै बस्ने सोच बनाएका थिए, तर होटेल बन्द भएपछि सात–आठ दिनदेखि बेरोजगार बनेका उनले लकडाउनमा थप समस्या हुने डरले घर फर्किएको बताए ।

नाकामा एन्टिजेन परीक्षण गर्दागर्दै भेटिएका विष्णुलाई घर पुगेर बेरोजगार बस्दा आर्थिक समस्याले सताउने चिन्ता छ । देशभित्र सामान्य कामसमेत नपाएपछि अर्काको देश जानुपरेको गुनासो उनले सुनाए । ‘गरिबीका कारण परिवार पाल्न समस्या भएपछि अर्काको देशमा जानुपरेको हो । के गर्नु, स्वदेशमा काम पाइँदैन । परिवार पाल्नकै लागि पनि जानुपर्ने बाध्यता छ,’ उनले भने । महामारीको अवधि लम्बिएर लामो समय भारत फर्कन नपाए परिवारको गुजारा गर्न नै समस्या हुने उनले बताए ।

भारतमा संक्रमण तीव्र गतिले बढ्न थालेपछि नेपालीहरू धमाधम घर फर्कन थालेका छन् । कतिपयको लकडाउनका कारण जागिर गुमेको छ भने कतिपय कोरोनाको त्रासले घर फर्किरहेका छन् । त्रिनगर नाकाबाट मात्रै दैनिक सात–आठ सयजना आउने गरेका छन् । उनीहरू अधिकांश सुदूरपश्चिमकै बासिन्दा हुन् ।

चरम गरिबीका कारण सुदूरपश्चिमबाट रोजगारीका लागि भारतका विभिन्न सहर जानेको संख्या ठूलो छ । तर, यकिन तथ्यांक भने सरकारसँग पनि छैन । ‘धनसम्पत्ति जोड्न अर्काको देश गएका होइनौँ । यहाँ परिवार पाल्नसमेत काम पाइँदैन, त्यसैले बाध्य भएर भारत जानुपरेको हो,’ भारतबाट आइतबार फर्केका कैलाली पहलमानपुरका लोकबहादुर शाहीले भने ।

गत वर्ष लकडाउनको सुरुमा चैत–वैशाखतिर कोरोनाको त्रासले भारतबाट फर्कनेको नाकामा थामिनसक्नु भिड लागेको थियो । तर, घरमा लामो समय बेरोजगार बस्दा छाक टार्नसमेत समस्या भएपछि उनीहरू संक्रमण उत्कर्षमै रहेका वेला केही महिनामै भारत फर्किएका थिए । लकडाउनको सुरुमा घर आउनेजत्तिकै भिड यतिखेर नाकामा भारत फर्किनेको देखिएको छ ।

महामारीका वेला हजारौँ युवा स्वदेश फर्के पनि उनीहरूलाई रोजगारी दिने कार्यक्रम सरकारले ल्याउन नसकेको सरोकारवालाको भनाइ छ । गरिबीका कारण मजदुरी गर्न भारत जानुपर्ने विगतदेखिको बाध्यता अन्त्यका लागि तीनै तहका सरकारले काम गर्न नसकेको उपप्राध्यापक देवराज अवस्थीले बताए ।

‘संक्रमणकै वेला ज्यान जोखिममा राखेर भारत जान बाध्य भएकाहरूको भिड सरकार, राजनीतिक दलका नेता र नीति निर्माणकर्ताले देखेनन् । सामान्य कामका लागि पनि भारत जानुपर्ने बाध्यताको पीडा देश चलाउनेले बुझेनन्,’ अवस्थीले भने, ‘कोरोनाकै वेला नाकामा आउने र जानेको भिड देखेको भए रोजगारी सिर्जना गर्ने योजना आउँथे ।’ विद्यालय जानुपर्ने कलिला किशोरदेखि कपाल सेताम्य भएका वृद्धसम्म कामको खोजीमा भारत जाँदै गरेको दृश्यले राज्य सञ्चालन गरिरहेकालाई नछुनु विडम्बना भएको उनले बताए ।

केही सातायता पश्चिमी नाका त्रिनगर र गड्डाचौकीमा स्वदेश फर्किनेको घुइँचो लागेको छ । तर, नाकामा सबैको स्वास्थ्य परीक्षण गरिएको छैन । जसका कारण संक्रमणको जोखिम बढेको छ ।

भारतबाट फर्केकामा संक्रमण देखिने क्रम बढेको छ । यस्तो वेला परीक्षण नगरीकनै घर पठाउँदा संक्रमण झन् चाँडो फैलने जोखिम अत्यधिक बढेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

त्रिनगर नाकामा मात्रै २ चैतयता भारतबाट फर्केका आठ सयजनामा संक्रमण देखिएको छ । यो अवधिमा नौ हजार नौ सय ६६ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य परीक्षणमा खटिएका अहेव गणेश बोहराले बताए । आइतबार मात्र भारतबाट करिब सात सयजना भित्रिएकोमा तीन सय ६१ को मात्रै परीक्षण गरिएको छ । तीमध्ये ४० जनामा संक्रमण देखिएको छ ।

गड्डाचौकी नाकामा भारतको महाराष्ट्र, नयाँदिल्ली, गुजरातलगायतका क्षेत्रबाट फर्किएका नेपालीको मात्रै ज्वरो नाप्ने र एन्टिजेन परीक्षण गर्ने काम भइरहेको छ । सोमबार गड्डाचौकी नाकाबाट नौ सयजना भित्रिएका थिए, उनीहरूमध्ये एक सय नौजनाको मात्रै परीक्षण गरिएको थियो । त्यस्तै, ४ वैशाखमा भित्रिएका एक हजार ११ जनामध्ये एक सय ९४ को मात्रै परीक्षण गरिएको छ । नाकामा स्वास्थ्य सुरक्षा पनि अपनाइएको छैन ।

भीमदत्त नगरपालिकाले गड्डाचौकीमा स्थापना गरेको हेल्थ डेस्कमा स्वास्थ्यकर्मी पनि अभाव छ । सात स्वास्थ्यकर्मी मात्रै कार्यरत छन् । नगरपालिका आधारभूत स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले हेल्थ डेस्कमा स्वास्थ्यकर्मी र उपकरण अभाव भएको बताए ।

हेल्थ डेस्कबाट पत्ता लागेका संक्रमितलाई उपचारका लागि एम्बुलेन्समार्फत महाकाली अस्पताल पु¥याइने गरिएको छ । ‘अस्पतालमा संक्रमितको अवस्था हेरेर आइसोलेसन वा होम क्वारेन्टिनमा राख्ने गरिन्छ,’ जोशीले भने । उनका अनुसार अहिले भारतबाट फर्किने दैनिक १० देखि १५ जनामा संक्रमण देखिन थालेको छ ।

संक्रमित देखिएकालाई महाकाली अस्पतालको आइसोलेसन र महेन्द्रनगरको सामुदायिक स्वास्थ्य संस्थामा राखिने गरिएको छ । अस्पतालमा अहिले सात महिला र ३५ पुरुष गरी ४२ जना संक्रमित उपचाररत छन् । कञ्चनपुरका सामुदायिक विद्यालयमा समेत कोरोना संक्रमण बढ्न थालेको छ । महेन्द्रनगरस्थित भृकुटी माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ । आइतबार विद्यालयले सूचना जारी गरेर अर्को सूचना नहुन्जेलसम्म विद्यालय बन्द गरिएको जनाएको छ ।

भारतमा संक्रमण भयावह भएपछि कतिपयको लकडाउनका कारण जागिर गुमेको छ भने कतिपय कोरोनाको त्रासले घर फर्किएका छन् । त्रिनगर नाकाबाट मात्रै दैनिक औसत सात–आठ सयजना फर्किने गरेका छन् । एन्टिजेन किट र जनशक्ति अभावले भारतबाट आउने सबैको परीक्षण गर्न नसकिएको अहेव बोहराले बताए ।

प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले पछिल्लो केही सातायता सुदूरपश्चिममा संक्रमितको संख्या बढ्दै गएको बताए । भारतबाट फर्किएका दुई संक्रमितको मृत्यु भइसकेको छ । नाकामा हुने अव्यवस्थित भिडमा स्वास्थ्य सावधानी पनि अपनाएको देखिँदैन ।

भारतमा संक्रमित फैलिएका क्षेत्रबाट आएका र लक्षण देखिएकाहरूको मात्रै एन्टिजेन परीक्षण गर्ने गरिएको निर्देशक अवस्थीले बताए । ‘प्रत्येक मान्छेको परीक्षण सम्भव हुँदैन । भारतमा कोरोना प्रभावित क्षेत्रबाट आएका र लक्षण भएकालाई जाँच्ने हो,’ उनले भने । एन्टिजेन परीक्षण पजिटिभ देखिएकालाई धनगढीमा बनाइएको आइसोलेसन सेन्टरमा राख्ने गरिएको छ । १० दिन आइसोलेसनमा राखेर घर पठाउने गरिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

जमुनाह नाकाको हेल्थ डेस्कमा जनशक्ति अभावमा

भारतबाट फर्किने नेपालीको स्वास्थ्य जाँच गर्न बाँकेको जमुनाह नाकामा स्थापना गरिएको हेल्थ डेस्क जनशक्ति अभावका कारण बिहान १० बजेदेखि ५ बजेसम्म मात्रै खुल्ने गर्छ । जब कि सबैभन्दा धेरै मानिस बिहान ८ देखि १० बजेसम्म भित्रिने गरेका छन् ।

बिहान भित्रिने सर्वसाधारणलाई सामान्य तापक्रम मापन गरेर पठाउने गरिएको हेल्थ डेस्कमा खटिएकी सिनियर अनमि गीता गिरी शाहीले बताइन् । ‘बिहानको समयमा एन्टिजेन जाँच गर्ने प्राविधिक हुँदैनन् । तालिम नलिएका हामीले जाँच गर्ने कुरा भएन । जनशक्ति नभएकाले बिहान ८–१० बजेसम्म शरीरको तापक्रम मात्रै नापेर पठाउने गरेका छौँ,’ उनले भनिन्, ‘ज्वरो आएका व्यक्ति फेला परे ल्याब टेक्निसियन नआउँदासम्म हेल्थ डेस्कमा राख्छौँ ।’

हेल्थ डेस्कका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दुईजना ल्याब टेक्निसियन खटाएको छ । उनीहरूले दिउँसोको समयमा एन्टिजेन जाँच गर्दै आएका छन् । महाशाखाले उनीहरूबाहेक दुईजना पारामेडिक, दुईजना नर्स र एकजना सहयोगी पनि खटाएको छ । त्यस्तै, नेपालगन्ज उपमहानगरपालिकाले एक ल्याब टेक्निसियन र तीनजना पारामेडिक खटाएको उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए ।

हेल्थ डेस्कलाई प्रभावकारी बनाउन अझै कम्तीमा आठजना दक्ष जनशक्ति आवश्यक रहेको चन्दले बताए । ‘पर्याप्त जनशक्ति नहुँदा बिहान १० देखि बेलुकी ५ बजेसम्म मात्र एन्टिजेन जाँच गर्न सकिएको छ । एक–दुईजना कर्मचारीले दिनभर जाँच गर्न सक्ने अवस्था रहेन,’ उनले भने ।

इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज सइ विष्णु गिरीका अनुसार भारतबाट फर्किने अधिकांश सर्वसाधारण बिहानै नेपालगन्ज नाकामा पुग्छन् । ‘कामका लागि भारत गएर स्वदेश फर्किने ८० प्रतिशत नेपाली बिहानै नाकामा पुग्छन् । दिउँसोमा एकदमै कम मात्र नेपाल भित्रिएको देखिन्छ,’ उनले भने । यो नाकाबाट दैनिक पाँच सयदेखि हजारजनासम्म भित्रिने गरेका छन् ।

आइतबार एक हजार आठ सय नेपाली नाकबाट भित्रिएका छन् । तीमध्ये १० जनाको मात्र स्वाब परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख चन्दले बताए । सबै स्वाब परीक्षण गर्न सम्भव नभएकाले ज्वरो आएका व्यक्तिको मात्र परीक्षण गर्ने गरिएको उनले बताए । गुजरातबाट फर्किएका ८० प्रतिशत नेपालीमा कोरोना पुष्टि भएको उनले बताए ।

क्वारेन्टिन नहुँदा भारतबाट फर्किनेहरू सीधै घर

नाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्किनेको व्यवस्थित स्वास्थ्य परीक्षण नहुँदा संक्रमणको जोखिम बढेको छ । क्वारेन्टिनको व्यवस्था नहुँदा फर्किएका नेपाली सीधै घर गइरहेका छन् ।

वीरगन्ज नाकामा स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीले स्वदेश फर्किनेको थर्मल गनले तापक्रम जाँचिरहेका छन् । सय डिग्रीभन्दा माथि तापक्रम भएकालाई शंका लागेमा एन्टिजेन परीक्षण गर्ने गरिएको छ । हेल्थ डेस्कमा अहिलेसम्म परीक्षण गरिएका साढे चार सयमध्ये १४ एन्टिजेन पजिटिभ देखिएको छ ।

वीरगन्ज महानगरपालिकाका तर्फबाट हेल्थ डेस्कमा खटिएका ल्याब असिस्टेन्ट विपिन चौरसियाका अनुसार आइतबार परीक्षण गरिएका ३७ मध्ये चारजनाको पजिटिभ रिपोर्ट आएको छ । उनीहरूमध्ये तीनजना भारतीय हुन् । पजिटिभ देखिएका भारतीयलाई उतै फर्काइएको छ । कोरोनाको लक्षण देखिएका दैनिक ४० जनाको एन्टिजेन परीक्षण गर्ने गरिएको छ ।

नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डा। सरोजरोशन दासका अनुसार अस्पतालमा परीक्षण गरिएकामध्ये आधामा संक्रमण पुष्टि भएको छ । यसपटक बालबालिका र युवाहरूमा बढी संक्रमण देखिएको छ ।

वीरगन्जमा आइतबार एक संक्रमित महिलाको मृत्यु भएको छ । उनको नारायणी अस्पतालमा उपचारका क्रममा दिउँसो मृत्यु भएको हो । पछिल्लो एक हप्तामा संक्रमणबाट पर्सा र बारामा पाँचजनाको मृत्यु भएको छ ।

महोत्तरीका नाकामा हेल्थ डेस्क छैन

भारतसँग जोडिएका महोत्तरी नाकाहरूमा स्वास्थ्य जाँचको व्यवस्था नै छैन । जसले गर्दा संक्रमणको जोखिम बढेको छ ।

भारतबाट भन्सार हुँदै आउने सवारीसाधनका चालक र सहचालकको स्वास्थ्य परीक्षणको कागजपत्र भारतले नै दिने गरेको छ । त्यसकै आधारमा उनीहरूको नेपालमा निर्वाध आवागमन हुने गरेको छ ।

जिल्ला समन्वय समिति प्रमुख सुरेशप्रसाद सिंहले महोत्तरी कोरोनाको चपेटामा पर्दै गएको बताए । उपलब्ध साधन–स्रोत र जनशक्तिको प्रयोग गरेर नियन्त्रणको पहल भइरहेको उनले बताए । ‘अब पनि सचेत भएनौँ भने गत वर्षको भन्दा डरलाग्दो अवस्था आउँछ,’ उनले भने ।

जोगबनी नाका बन्द, तर छेउछाउबाट निर्वाध आवागमन

विराटनगरको जोगबनी नाका हुँदै स्वदेश फर्कनेलाई हेल्थ डेस्कमा सामान्य ज्वरो नापेर छाड्ने गरिन्छ । शंका लागेकाहरूको एन्टिजेन परीक्षण गर्ने गरिएको छ । कोरोना संक्रमण रोक्न १३ महिनाअघि बन्द गरिएको यो नाका अझै खोलिएको छैन । त्यसैले यो नाका भएर फाट्टफुट्ट पाँच–सातजना मात्रै आउने गरेका छन् ।

महानगरपालिका जनस्वास्थ्य महाशाखाका अनुसार एक साताअघिदेखि जोगबनी नाकामा एन्टिजेन परीक्षण गर्न थालिएको हो । हालसम्म जम्मा २२ जनाको मात्र परीक्षण गरिएको छ । तीमध्ये एकजनामा संक्रमण देखिएको छ ।

हाल जोगबनी नाकाबाट वैध रूपमा दैनिक पाँचदेखि सातजनासम्म फर्किरहेका छन् । अन्य नाकाबाट फर्केर सम्पर्कमा आएका थप ४६ जनाको विराटनगर महानगरपालिकाले वडा कार्यालयमार्फत एन्टिजेन परीक्षण गराएको थियो ।

हेल्थ डेस्कमा महानगरपालिकाको स्वास्थ्य महाशाखाले तीनजना स्वास्थ्यकर्मी खटाएको छ । मंगलबारदेखि एकजना चिकित्सकसहितको विशेष टोली खटाउने तयारी रहेको महाशाखा प्रमुख रमेश कार्कीले बताए ।

नाकाबाट आउनेलाई राख्न पहिले स्थापना भएका क्वारेन्टिन र होल्डिङ सेन्टर सबै हटाइएका छन् । फर्कनेलाई सोझै ज्वरो जाँच गरेर घर जान दिइन्छ ।

जोगबनी नाका नेपाल–भारत दुवैतर्फ सिल छ । तर, आसपासका क्षेत्रबाट भने खुला सिमानाको फाइदा उठाउँदै निर्वाध आवतजावत चलिरहेको छ ।

नेपालीहरू दैनिक किनमेल गर्न भारतीय बजार जोगबनी जाने गरेका छन् । उनीहरूको आउजाउमा प्रहरीले पनि खासै कडाइ गरेको छैन । दरैया, मटेर्वा, इस्लामपुरलगायतका चोरबाटोबाट तस्करी पनि उत्तिकै हुने गरेको छ ।

कोरोना संक्रमण बढ्न थालेपछि मोरङका सबै स्थानीय तहलाई क्वारेन्टिन र आइसोलेसन केन्द्र व्यवस्थापन गर्न जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिले निर्देशन दिएको छ । तर, यो कार्यान्वयन भने भएको छैन ।

नाकाबाट भित्रिनेमा संक्रमण देखिने क्रम बढ्दै

पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्नेमा संक्रमण देखिने क्रम बढ्दै गइरहेको छ । दैनिक करिब ४०–५० जनामा एन्टिजेन परीक्षणमा गर्दा पाँचदेखि दशजनासम्म संक्रमण देखिने गरेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यो नाकाबाट दैनिक एक हजारभन्दा बढी स्वदेश भित्रिरहेका छन् । तीमध्ये लक्षण देखिएकाको मात्रै एन्टिजेन परीक्षण गर्ने गरिएको छ । ‘अहिले त भारतबाट आउनेमा संक्रमण देखिन क्रम बढेको छ । आइतबार मात्र आठजनामा संक्रमण देखियो,’ स्वास्थ्य कार्यालय झापाका फोकलपर्सन जीवन चौलागाईंले भने, ‘लक्षण नदेखिएकाको परीक्षण गर्दैनौँ । प्रोटोकलले पनि उनीहरूलाई परीक्षण गर्न दिँदैन ।’

संक्रमण देखिएका तीनजनालाई मेची अस्पताल भद्रपुर पठाइएको र बाँकीलाई आ–आफ्नो घरमै क्वारेन्टिनमा बस्ने गरी पठाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनील दाहालले बताए । झापामा अहिले सक्रिय संक्रमितको संख्या ५७ पुगेको छ । जसमध्ये आइतबार मात्र १२ जनामा संक्रमण देखिएको छ ।

संक्रमण देखिएका भारतबाट फर्किनेलाई होम आइसोलेसन र होटेल क्वारेन्टिनमा राखिने चौलागाईंले बताए । ‘भारतबाट आएकामा संक्रमण देखिए काँकडभिट्टामा होटेल क्वारेन्टिनमा बस्नुहुन्छ,’ उनले भने, ‘होम आइसोलेसनमा पनि संक्रमित छन् । साह्रै गाह्रो भएमा मेची अस्पताल भद्रपुर ल्याउँछौँ ।’

भारतको पश्चिम बंगाल राज्यमा भइरहेको विधानसभा निर्वाचनका लागि तीन दिन नाका बन्द थियो । आइतबार नाका खुलेसँगै आउजाउ गर्नेको भिड ह्वात्तै बढेको प्रहरीले जनाएको छ । संक्रमण बढ्दै गर्दा नाकामा भौतिक दूरी कायम गर्न सकिने अवस्था छैन । आइतबार संक्रमण देखिएका अरूसँगै लाइन बसेर नेपाल आएका हुन् । नेपाल आउनेले मास्क लगाए पनि एक–अर्कामा टाँसिएर लाइन बस्नुपर्ने बाध्यता छ । आइतबार मेची पुलभरि लाइन थियो ।

‘भारतमा संक्रमण उच्च छ । केही भागमा लकडाउन पनि छ । त्यसकारण नेपाल फर्कनेको संख्या बढेको छ,’ डिएसपी दाहालले भने, ‘विद्यार्थी र मजदुर धेरै छन् । आइतबार तीन दिनसम्म नाका बन्द हुँदा रोकिएकाहरू पनि आउँदा धेरै भिड लाग्यो ।’

भारतबाट आउनेबाट संक्रमण नफैलियोस् भनेर नाकामा होल्डिङ सेन्टर बनाइएको छ । होल्डिङ सेन्टरमा मेचीनगर नगरपालिकाले खटाएका स्वास्थ्यकर्मीले ज्वरो नाप्छन् । शंका लागेका बिरामीलाई त्यहीँ एन्टिजेन परीक्षण गरिन्छ । जिल्ला प्रशासन कार्यालय झापाले नाकामा कडाइ गरेको छ । मास्कविना प्रवेशमा रोक लगाएको छ ।

तैपनि भारतबाट नेपाल प्रवेश गरेपछि सीधै सार्वजनिक यातायात चढेर गन्तव्यसम्म पुग्छन् । ‘हामीले नाकामा कडाइ गरेका छौँ । होल्डिङ सेन्टर बनाइएको छ । त्यहाँ शंका लागेकाको परीक्षण पनि हुन्छ । तर, आएका अरूचाहिँ आफ्नो हिसाबले घरसम्म पुग्छन्,’ झापाका सिडिओ श्रवणकुमार तिमिल्सिनाले भने, ‘माथिबाट पनि त्यस्तो केही निर्देशन आएको छैन । लक्षण जाँच्दा सामान्य देखिएका आफ्नो तरिकाले जानुहुन्छ ।’

संक्रमण नियन्त्रणका लागि तयार रहन सबै स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयलाई दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राख्न भनिएको सिडिओ तिमिल्सिनाले बताए । केही नगरपालिकाले क्वारेन्टिन पनि तयार पारिसकेका छन् । दमक नगरपालिका र कमल गाउँपालिकामा भने यसअघि नै कोभिड अस्पताल स्थापना भइसकेको छ ।

बालबालिका जोखिममा, अभिभावक अन्योलमा, सरकार अनिर्णयमा

शैक्षिक संस्थामा विद्यार्थी घटे, कतिपय शैक्षिक संस्थाले वैकल्पिक विधिबाट सुरु गरे पढाइ

कोभिड– १९ संक्रमितको संख्या बढिरहे पनि शैक्षिक संस्थामा पठनपाठन जारी राख्ने वा बन्द गर्नेबारे सरकारको ठोस निर्णय नआउँदा सञ्चालकदेखि अभिभावकसम्म अन्योलमा परेका छन् । शिक्षा, स्वास्थ्य मन्त्रालय तथा स्थानीय तहबाट छुट्टाछुट्टै अपिल गर्दा शैक्षिक संस्था सञ्चालन गर्ने वा नगर्ने भन्नेमा सञ्चालक र अभिभावक अन्योलमा छन् ।

कोभिड– १९ को जोखिम बढेसँगै शैक्षिक संस्थामा भौतिक उपस्थितिमा समेत निकै कमी आएको छ । केही शैक्षिक संस्थाले वैकल्पिक विधिबाट पठनपाठन सुरु गरेका छन् । कतिपयले कहिले सिफ्टमा फेस टु फेस कक्षा र कहिले अनलाइन कक्षा सुरु गरेका छन् ।

पद्मोदय माविका प्रधानाध्यापक नारायण गौतमले त्रासका कारण विद्यालयमा विद्यार्थी संख्या घटेको र विद्यालय सञ्चालनका सम्बन्धमा जिम्मेवारी लिएर निर्णय नगर्दा अन्योल बढेको बताए । ‘जिम्मेवारी कसैले नलिएर एकले अर्कोलाई देखाउने काम भइरहेको छ,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले शिक्षालाई देखाएको छ, शिक्षा मन्त्रालयले स्थानीय तहले निर्णय गर्न सक्ने जनाएको, तर स्थानीय तह केन्द्रको निर्णयको पर्खाइमा छन् ।’

काठमाडौं उपत्यकालगायतका सहरी क्षेत्रमा अहिले पनि अधिकांश विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन भए पनि विद्यार्थी संख्या कम हुँदै गएको छ । कतिपय विद्यालयले लिएको परीक्षामै पनि विद्यार्थी अनुपस्थित भएका छन् । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले फेस टु फेस कक्षा सञ्चालन भए पनि १० देखि १५ प्रतिशत विद्यार्थी कम भइसकेको बताए ।

पद्मोदय माविमा समेत विद्यार्थी संख्या निकै कम भएको थियो । सामान्य अवस्थामा ४०–५० जना हुने कक्षामा पछिल्ला दिनमा १०–१५ जनाको मात्र उपस्थिति हुने गरेको छ । अहिले एकजना विद्यार्थीमा कोभिड– १९ संक्रमण देखिएपछि एक साताका लागि फेस टु फेस कक्षा बन्द गरी अनलाइन सुरु गरिएको छ । अनलाइन कक्षामा आधा विद्यार्थी पनि सहभागी छैनन् ।

कतिपय अभिभावकले फोन गरेर आफ्ना छोराछोरी विद्यालय पठाउन नसकिएको जानकारी गराउन थालेका छन् । ‘सरकारबाट ठोस निर्णय नआउँदा अन्योल भयो, शिक्षा, स्वास्थ्य मन्त्रालय र स्थानीय तहका छुट्टाछुट्टै धारणा छन्, हामी द्विविधामा छौँ ।’ विश्व निकेतन माविले अहिले जोर र बिजोर रोल नम्बरका विद्यार्थीलाई फरक–फरक दिन विद्यालय बोलाएर कक्षा सञ्चालन गरेको छ ।

शिक्षामन्त्री शैक्षिक संस्था बन्द गर्ने पक्षमा देखिएका छैनन् । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक कार्यक्रममा शैक्षिक संस्था बन्द भएमा विद्यार्थी खेल्न जाने बताए । उनले बाहिर खेल्न जानुभन्दा विद्यालयमै विद्यार्थी सुरक्षित भएको दाबी गरेका छन् ।

स्थानीय तहले ठोस निर्णय गर्न सकेनन्

स्थानीय तहसमेत केन्द्रको निर्णयको पर्खाइमा छन् । ललितपुर महानगरपालिकाका शिक्षा प्रमुख महेन्द्र क्षेत्रीले अहिले के गर्ने भन्नेमा अन्योल सिर्जना भएको बताए । ललितपुर महानगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने र कोभिड– १९ संक्रमित भेटिएका विद्यालय परिस्थिति हेरेर बन्द गर्न आग्रह गरेको महानगरका शिक्षा प्रमुख क्षेत्रीले बताए ।

‘हामीले परिस्थिति हेरेर अर्को निर्णय नहुन्जेल स्वास्थ्यका मापदण्ड पूरा गरेर कक्षा सञ्चालन गर्न भनेका छौँ,’ उनले भने, ‘कोभिड देखिएका विद्यालयमा विद्यार्थीको सेक्सन मात्र होइन विद्यालय नै बन्द गर्नुपर्छ ।’ विद्यार्थीलाई कोभिड संक्रमणबाट जोगाउन विद्यालय बन्द गर्नु मात्रै विकल्प नभएको उनको धारणा छ । विद्यालय बन्द गरेर अभिभावक डुल्ने, घुम्ने, सपिङ गर्न हिँड्ने हो भने अभिभावकबाटै पनि जोखिम हुने भएकाले अरू क्षेत्र पनि बन्द गर्नुपर्ने उनले तर्क गरे ।

काठमाडौंमा कोभिड– १९ देखिएका शैक्षिक संस्थाले समेत चरम लापरबाही गरेका छन् । कोभिड देखिएका विद्यालयसमेत भौतिक रूपमा पठनपाठन बन्द नगरी सञ्चालन भइरहेका छन् । काठमाडौं महानगरपालिकाले कुनै पनि विद्यार्थीलाई कोभिड– १९ को संक्रमण भएको पाइएमा विद्यालयका सबै कार्यक्रम एक साताका लागि बन्द गर्नुपर्ने निर्णय गरेको छ ।

निजी शैक्षिक सञ्चालक वैकल्पिक विधिका लागि भएनन् तयार

निजी शैक्षिक सञ्चालक अहिले फेस टु फेस कक्षा बन्द गर्न तयार छैनन् । दुई सातामा पठनपाठन र परीक्षा सकेर विद्यालयमा भौतिक कक्षा बन्द गर्नुपर्ने तर्क छ । हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले संक्रमण रोक्नका लागि विद्यालय बन्द गर्नु अन्तिम उपाय नभएको दाबी गरे । समस्या भएका ठाउँमा बन्द गरेर अन्य ठाउँमा एक–दुई साता चलाएर बन्द गर्नु उपयुक्त हुने उनको भनाइ छ । केही समयपछि वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्दा राम्रो हुने बताए । उनले भने, ‘एक–दुई सातामा यो शैक्षिक सत्र सकिन्छ अनि केही समय वैकल्पिक विधिबाट पठनपाठन गर्न सकिन्छ, अनलाइन माध्यमबाट पठनपाठनलाई प्रोत्साहन गर्नुपर्छ ।’

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले जहाँ संक्रमण फैलिएको छ त्यो ठाउँमा भौतिक कक्षा बन्द गर्नु उपयुक्त हुने बताए । अध्यक्ष पुरीले भने, ‘विद्यालय कहाँ बन्द गर्ने वा कहाँ सञ्चालन गर्ने भन्ने अधिकार स्थानीय तहलाई दिनुपर्छ । पालिकाले परिस्थिति हेरेर निर्णय गर्छन् ।’ शिक्षा मन्त्रालयले स्थानीय तहले अवस्था हेरेर गर्न सक्ने निर्णय नै उपयुक्त रहेको उनको तर्क छ ।

उच्च जोखिम भएका स्थानमा वैकल्पिक विधिबाट पठनपाठन गर्न सिसिएमसीको सिफारिस

कोभिड– १९ संक्रमित उच्च जोखिम भएको स्थानमा वैकल्पिक विधिबाट पठनपाठन गराउन कोभिड– १९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी०ले सिफारिस गरेको छ । काठमाडौं उपत्यकालगायत ठाउँमा कोभिड संक्रमित धेरै बढेपछि सिसिएमसीले सरकारलाई वैकल्पिक माध्यमबाट पठनपाठन गराउन सिफारिस गरेको हो ।

शनिबार बसेको सिसिएमसी बैठकले शिक्षा र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसहित छलफल गरेको थियो । शिक्षा र स्वास्थ्य मन्त्रालयले शैक्षिक संस्था सञ्चालनका विषयमा छुट्टाछुट्टै धारणा सार्वजनिक गर्दै आएका छन् । यसले भौतिक रूपमा विद्यालय सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा अन्योल भएको छ ।

सिसिएमसीका एक सदस्यका अनुसार काठमाडौंसहित केही स्थानमा संक्रमित संख्या धेरै बढेको र यस्ता स्थानमा वैकल्पिक विधिबाट पठनपाठन गराउन सिफारिस गरेको बताए । उनले भने, ‘अहिले सबैभन्दा धेरै केस काठमाडौंमा देखिएका छन् । काठमाडौंसहित धेरै केस भएका स्थानमा वैकल्पिक विधिबाट पठनपाठन गर्न सिफारिस भएको छ, के गर्ने भन्ने मन्त्रिपरिषद्ले निर्णय गर्छ ।’

शिक्षा र स्वास्थ्य मन्त्रालयले छुट्टाछुट्टै अपिल गर्दा शैक्षिक संस्था सञ्चालन गर्ने वा नगर्ने भन्नेमा शैक्षिक संस्था सञ्चालक र अभिभावकसमेत अन्योलमा छन् । केही स्थानीय तहले छुट्टाछुट्टै निर्णयसमेत गर्न थालेका छन् ।

शिक्षा मन्त्रालयले उच्च जोखिम भएका जिल्ला, सहर वा स्थानविशेषमा जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र ९डिसिसिएमसी०को समन्वयमा स्थानीय तहको निर्णयअनुसार विद्यालय बन्द वा सुचारु गर्न आग्रह गरेको छ । विद्यालय पुनः सञ्चालन गर्दा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ अनुसार गर्नसमेत मन्त्रालयको आग्रह गरेको छ ।

शुक्रबार शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले प्रेस विज्ञप्ति जारी गरी यस्तो आग्रह गरेका हुन् । शिक्षा मन्त्रालयले शैक्षिक संस्था सञ्चालन गर्दा भिडभाड नहुने गरी विद्यार्थीको संख्या एवं पूर्वाधारअनुसार स्थानविशेषको संक्रमणको अवस्था विश्लेषण गरी आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाएर सिकाइ गतिविधि गर्न आग्रह गरको छ ।

कोरोनाको उच्च जोखिम भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार १४ जिल्लामा विद्यालय नजान विद्यार्थीलाई आग्रह गरेको थियो । कोभिड– १९ को संक्रमण देशभरि बढेपछि मन्त्रालयले गत २५ चैतमा नै कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सिसिएमसी०मा तीन साता शैक्षिक संस्था बन्द गर्न सिफारिस गरेको थियो ।

नेपालमा कोरोनाले आफ्नो स्वरूप परिवर्तन गरेपछि ८ चैतयता तीव्र रूपमा संक्रमण फैलिएको छ । नेपालमा युके भेरियन्ट तीव्र गतिमा फैलिएको छ । यसबाट संक्रमित हुने बालबालिकाको संख्या बढेको छ ।

संक्रमणका आधारमा स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई उच्च जोखिममा राखी ती जिल्लामा विद्यालयलगायत क्षेत्रमा भिडभाड नगर्न आग्रह गरेको छ । मन्त्रालयले अति जोखिममा राखेका जिल्लामा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ रहेका छन् । ६० भन्दा माथि सक्रिय संक्रमित भए त्यस्ता जिल्लालाई मन्त्रालयले अति जोखिममा राखेको छ ।





error: Content is protected !!