कोभिड १९देखि एमसीसी र उपनिर्वाचनका विषयमा छलफल

काठमाडौं ः प्रधानन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सकिएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीकाअनुसार बैठकमा मुख्यतः तीन विषयमा छलफल भएका छन् । कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका विषयमा छलफल भयो । त्यस्तै विभिन्न स्थानमा रिक्त स्थानमा उपनिर्वाचन गर्ने बारे पनि बैठकमा छलफल भएको छ । त्यस्तै प्रतिनिधि सभाको काम कारबाहीका बारेमा पनि छलफल भएको उनले जानकारी दिए ।

‘कोभिड रोकथाममा सरकारले प्रभावकारी ढंगले काम गरोस् भन्ने कुरा दलका नेताहरूले राख्नुभयो,’ उनले भने, ‘खोपको सुनिश्चतता गरोस् । आवश्यक परे विद्यालय पनि बन्द गरोस् । हाम्रो साथ रहन्छ भन्नु भयो । यसमा सबै दलको एउटै राय रह्‍यो ।’

उपनिर्वाचनका विषयमा नेपाली कांग्रेसले भदौमा महाधिवेशन गर्नुपर्ने भएकोले त्यसलाई मध्यनजर गर्दै कार्यतालिका बनाउन सुझाव दिएको उनले जानकारी दिए । उनकाअनुसार बैठकमा एमसीसीका विषयमा पनि छलफल भएको छ ।

‘संसदमा अड्किएका केही विषय र पछिल्ला राजनीतिक विषयमा समेत छलफल भयो,’ उनले भने, ‘एमसीसी अड्‍किएको छ । पास गर्ने कि नगर्ने संसद्को अधिकार छ । तर, सभामुखले तजबिजी अधिकार प्रयोग गरेर लामो समय रोक्न मिल्दैन भन्ने साझा धारणा रह्यो । केहीले आफ्ना आशंका पनि प्रकट गर्नुभयो । विजनेस रोक्न मिल्दैन भन्नु भएको छ ।’

बैठकमा नेकपा माओवादी केन्द्र सहभागी भएन । माओवादीका अध्यक्ष पुष्‍पकमल दाहालले हिजो नै एक कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेको बताए पनि आजको सर्वदलीय बैठकमा उनी गएनन् ।

बैठकमा कांग्रेसबाट कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण सहभागी थिए ।

त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण सहभागी थिए । तर संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र उपेन्द्र यादव भने बैठकमा गएनन् । नेमकिपाका प्रेम सुवाल र राप्रपाका प्रकाशचन्द्र लोहनीलगायत सहभागी थिए । बैठकमा प्रधानमन्त्री ओलीसँगै नेता ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङलगायत थिए भने पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल भने बैठकमा थिएनन् ।





error: Content is protected !!