टेलिकमको क्षतिग्रस्त टावर बनेन

डोल्पा ः दुई हप्ताअघि चट्याङले बिग्रेको नेपाल टेलिकमको मुड्केचुला गाउँपालिका–५, अदलेखमा रहेको नमस्ते मोवाइल टावर अझै मर्मत हुनसकेको छैन ।

टावरमा चट्याङले क्षति गरेकोे र मर्मतका लागि नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जलाई खबर गरिएको नेपाल टेलिकम डोल्पाले जानकारी दिएको छ ।नमस्ते मोवाइल टावर अवरुद्ध भएपछि मुड्केचुला गाउँपालिकाका बासिन्दामात्र होइन विभिन्न कार्यालयमा काम गर्न पनि समस्या भएको मुड्केचुला गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाभित्र तथा बाहिर खबर आदानप्रदानमा निकै समस्या उत्पन्न भएको स्थानीय बासिन्दाहरू बताउँछन् । नेपाल टेलिकम क्षेत्रीय कार्यालयका उपनिर्देशक शिव खनालले मर्मतका लागि टोली पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।यसका साथै उक्त स्थानभन्दा माथि लेकमा रेडियो लिङ्कबाट मोवाइल र टेलिफोन सञ्चालनका लागि रेडियो लिङ्क जडान कार्य पनि भइरहेकाले मर्मत गर्न ढिलो भएको क्षेत्रीय उपनिर्देशक खनालले बताउनुभयो ।

उहाँले जतिसक्यो छिटो मर्मतका लागि टोली पठाइने पनि उल्लेख गर्नुभयो ।उता मालपोत कार्यालय डोल्पाको छानामा राखेको सोलारपाता हावाहुरीले फुटाइदिएपछि विद्युत् भोल्टेज नपुगेर सेवा प्रवाहमा समस्या आएको छ । मालपोत कार्यालयका आठवटा प्यानलमध्ये चारवटा भुइँँमा खसेर फुटेकाले भोल्टेज नपुग्दा काममा समस्या भएको नासु दीर्घराज रोकायाले बताउनुभयो





error: Content is protected !!