विकास हेर्न डोल्पा दुनै जानू

देशको सबैभन्दा ठूलो जिल्ला डोल्पा निकै कम चर्चामा आउने गर्छ । केही वर्षयता आएर मात्र राष्ट्रिय सडक सञ्जालसँग धिकिर–धिकिर जोडिएको यो जिल्ला सेफोक्सुन्डो ताल, त्यसमा जोडिएर बनाइएको क्याराभान सिनेमा तथा त्यसमा अभिनय गरेका थिन्ले, यार्सागुम्बाजस्ता विशेषताले देशभित्र र बाहिर पनि चिनिएको हो । विकास प्रवेश गर्दै गरेको मूलतः अक्षत प्राकृतिक जीवनमा रमेका डोल्पालीहरू अर्कोपटक तत्कालीन माओवादी विद्रोहीले ०५७ मा गरेको फौजी आक्रमणका कारण देश–विदेशमा सुनिएका थिए । यतिवेला यो जिल्ला एउटा सानो–सानो विकासे कामका कारण चर्चामा छ । डोल्पाको सदरमुकामा दुनै भेरी नदीको किनारमा छ । दुनै बजारको बस्तीलाई भेरी नदीको कटानका कारण जोखिम बढेको भन्दै सरकारले सदरमुकाम बचाउ कार्यक्रम सञ्चालन गरेको छ ।

आफैँ योजनाको माग गर्‍यो, आफैँ बजेट विनियोजन प्रक्रियामा सामेल भयो, आफैँ ठेक्का हात पार्‍यो र बदमासी गर्‍यो अनि फेरि उही कामका लागि बजेट माग गर्‍यो । यो विकासको नाममा गरिने भ्रष्टाचारको चरम अवस्था हो ।

एक अर्बभन्दा बढीको लागतमा सञ्चालन गरिएको उक्त आयोजनाअन्तर्गत नदीमा तटबन्ध निर्माण गर्ने गरी पहिलो खेपमा ३३ करोडको लागतमा ठेक्का दिइएको थियो । ०७४ सालमा आरम्भ गरिएको काम अझै सम्पन्न भएको छैन । दोस्रो चरणअन्तर्गत ५८ करोडको काम पनि ठेक्कामा लगाइसकिएको छ । यो ठेक्का दुवैपटक नेकपा एमालेका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वपर्यटन राज्यमन्त्री धनबहादुर बुढाले हात पारेका छन् । यसले ठेक्कापट्टा र राजनीतिबीचको पछिल्लो समय बढ्दै गएको घनिष्ट सम्बन्धलाई उजागर गर्छ । आफैँ योजनाको माग गर्‍यो, आफैँ बजेट विनियोजन प्रक्रियामा सामेल भयो, आफैँ ठेक्का हात पार्‍यो र बदमासी गर्‍यो अनि फेरि उही कामका लागि बजेट माग गर्‍यो । यो विकासको नाममा गरिने भ्रष्टाचारको चरम अवस्था हो ।

पञ्चायतमा सीमित मात्रामा सुनिएको यो रोगले अहिले हाम्रो देशको सबै राजनीतिक दल र पंक्तिलाई नराम्रोसँग गाँजिसकेको छ । दुनैमा अर्को रमाइलो के भएको छ भने ०७४ मा ३३ करोड खर्चेर बनाउन थालिएको तारजालीमा ढुंगा भरेर तटबन्ध बनाउने कार्यअन्तर्गत ५१ मिटर काम सकिएको छ । अहिले लगाइएको ठेक्कामा त्यो तारजालीमा पर्खाल हटाएर मेसिनरी पर्खाल लगाउने योजना छ । अर्थात् राज्यले चार वर्ष पनि नटिक्ने योजना बनाउने, बजेट खर्च गर्ने, फेरि त्यो योजना भत्काउने र अर्कोपटक बजेट लगेर काम गर्ने अर्थात् त्यताको भाषामा विकास खाने काम गरेको छ । र, यसमा सरकारका सरोकारवाला सबै निकाय र राजनीतिक प्रशासनिक नेतृत्वको अपवित्र गठबन्धनले काम गरेर सबैलाई भागशान्ति गरिएको छ ।

यो योजनाको अर्को पनि रमाइलो तर दिक्कलाग्दो पक्ष के छ भने जुन समस्याका कारण तटबन्ध बनाइएको हो, योजना सम्पन्न हुँदा त्यो समस्या झन् बढेर जाने देखिएको छ । भेरी नदीको बहावका कारण उत्पन्न नदीकटानको जोखिमलाई न्यूनीकरण गर्न बनाउन लागिएको तटबन्धका लागि त्यही ठाउँमा एक्साभेटर लगाएर ढुंगा उत्खनन गरिएको छ । अर्थात् नदी झन् गहिरो बनाइएको छ । यसरी नदी गहिर्‍याएर तटबन्ध बनिसक्दा नदीकटानको समस्या झन् थपिनेछ । यसरी दुनैमा स्थानीय राजनीतिक नेतृत्वले नेपालको विकासको एउटा नमुना प्रदर्शन गरेको छ । राजनीतिक नेतृत्व, प्रशासन र नागरिक समाजले समेत यस्ता विकासका कामलाई प्राथमिकतामा राखुन्जेल हामीले विकासको दुश्चक्र व्यहोर्नुबाहेक के होला र ? नयाँ पत्रिका ।





error: Content is protected !!