प्रमुख प्रशासकीय अधिकृत हुँ भन्दै ठगी गर्ने पक्राउ

सुर्खेत ः वीरेन्द्रनगरबाट आफूलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत र सहायक प्रमुख अधिकारी भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले जाजरकोटको छेडागाढ नगरपालिका–२ डेढकुलाका २७ वर्षीय दीपक बुढालाई बिहीबार पक्राउ गरेको हो।

एक महिलाको जाहेरीका आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंले बुढालाई पक्राउका लागि पत्राचार गरेको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ परेका बेला बुढाले ‘नागुनाथ गाउँपालिका हुम्ला’ लेखिएको परिचयपत्र भिडेका थिए। यो नाम गरेको गाउँपालिका नेपालमै छैन।

प्रहरीका अनुसार बुढा दुई वर्षअघि दैलेखको सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा पनि पक्राउ परेका थिए।

‘कहिले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत त कहिले सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले भने, ‘जाहेरी महानगरीय अपराध महाशाखा काठमाडौंमा परेकाले अड्डासार गरेर काठमाडौं पठाउने तयारी भइरहेको छ।’

प्रहरीले बुढाको साथबाट सरकारी परिचयपत्रका साथै भ्याली काठमाडौं टेलर्स र न्यू फेसन टेलर्स सुर्खेतमा सिलाउँदै गरेका सरकारी पोशाक बरामद गरेको छ।





error: Content is protected !!